बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णालीमा स्थानीय सेवा ऐन जारी :  करार कर्मचारी भर्ना गर्न नपाइने

कानुन विपरीतका पदपूर्तिमा रोक लाग्ने विश्वास
बुधबार, ०७ कात्तिक २०८१, १२ : ०३
बुधबार, ०७ कात्तिक २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन जारी गरेको छ । उक्त ऐन प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

कर्णाली प्रदेशभित्रका स्थानीय तहबाट हुने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी समेतको व्यवस्था गरी स्थानीय सेवालाई सक्षम, सुदृढ, उत्तरदायी, व्यावसायिक, निष्पक्ष र प्रभावकारी बनाउन कानुन व्यवस्था गर्न आवश्यक भएकाले स्थानीय सेवा ऐन ल्याइएको मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

स्थानीय सेवाको कर्मचारीको समग्र व्यवस्थापन ऐनले गर्नेछ । कर्मचारी प्रशासनलाई चुस्त बनाउनदेखि स्थानीय तहमा रहने सेवा गठनलाई सुनिश्चित गर्नका लागि यो ऐन ल्याइएको उनको भनाइ छ ।

ऐनमा उल्लेख भए अनुसार स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति रहने तह सुनिश्चित गर्न, कर्मचारी कार्य विवरण र कार्यसम्पादन मार्फत सेवा प्रवाहलाई व्यवस्थित गरिने छ ।

यस्तै पालिकाहरूले आवश्यक जनशक्तिको दरबन्दी सिर्जना गर्न सक्नेछन् भने गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा पनि गरिएको छ । यो ऐनले स्थानीय तहमा बेथितिका रूपमा रहेको कानुन विपरीतका पदपूर्तिमा रोक लाग्ने छ । ऐन जारी भएसँगै अब कर्णालीका स्थानीय तहहरूले करार तथा ज्यालादारीमा कर्मचारी राख्न पाउने छैनन् ।

राजनीति दलहरूको भागबन्डाका आधारमा स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रवृत्ति छ । उक्त प्रवृत्तिको अब अन्त्य हुने सरकारको विश्वास छ ।  

यदि व्यवस्था विपरीत नियुक्त गरिएमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने पदाधिकारीबाट सरकारी बाँकीसरह असुल उपर गरिने प्रावधान ऐनमा उल्लेख छ ।

ऐनमा स्थानीय तहको प्रशासन सञ्चालन गर्न स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त तथा कर्मचारीको व्यवस्थापन सम्बन्धनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रमुख निकायको रूपमा काम गर्ने उल्लेख छ । ऐन र यस अन्तर्गत बनेको नियममा उल्लेख भएका बाहेक कर्मचारी प्रशासन सम्बन्धी अन्य काम मुख्यमन्त्री कार्यालयको स्वीकृति लिएर मात्र गर्नु पर्ने विधेयकमा उल्लेख छ ।

स्थानीय सेवाको गठन गर्दा स्थानीय इन्जिनियरिङ, कानुन, कृषि, प्रशासन, विविध, शिक्षा तथा स्वास्थ्य सेवा रहनेछन् ।

ऐनको परिच्छेद–१ को ६ नम्बर बुँदामा कार्य विवरण र कार्य सम्पादन सम्बन्धी व्यवस्था गरिएको छ । कर्मचारीको पदस्थापन गर्दा निजको नतिजामूलक कार्य विवरण उपलब्ध गराउनुपर्ने छ । साथै कामको मूल्याङ्कन गर्ने सूचकाङ्क सहित कार्यसम्पादन सम्झौता गरी कामका लगाउनु पर्नेछ ।

परिच्छेद–३ मा स्थानीय सेवाको दरबन्दी सिर्जना तथा पदपूर्ति सम्बन्धी व्यवस्था गरिएको छ । उक्त कार्य गर्दा सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति गठन गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने छ । दरबन्दी सिर्जना, पुनरावलोकन वा हेरफेर गर्नुपर्ने देखिएमा कारण र औचित्य खुलाइ कार्यपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ऐनमा पदपूर्ति सम्बन्धी विशेष व्यवस्था गरिएको छ । यदि यो ऐन बनेर कार्यान्वयनमा आए खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ३३ प्रतिशत महिलालाई छुट्ट्याइ पदपूर्ति गरिनुपर्ने छ । जसमा खस आर्य ४५ प्रतिशत, दलित २२, आदिवासी जनजाति र पिछडिएको क्षेत्र १२÷१२, अपाङ्गता भएका व्यक्ति ५, मधेसी तथा मुस्लिम २ र थारु समुदायका लागि २ प्रतिशत कोटा निर्धारण गरिएको छ ।

ऐनमा नवनियुक्त कर्मचारीको परीक्षण कालको व्यवस्था गरिएको छ । ऐनको बुँदा नम्बर १८ मा भनिएको छ, ‘स्थानीय सेवाको पदमा खुला प्रतियोगिताद्वारा नियुक्ति हुने महिला कर्मचारीको हकमा ६ महिना र पुरुष कर्मचारीको हकमा एक वर्ष परीक्षणकाल रहने गरी नियुक्ति गरिनेछ ।’

यदि परीक्षणकालमा कर्मचारीको काम सन्तोषजनक नभएमा नियुक्ति बदर गर्न सकिने उल्लेख छ ।  यद्यपि संघीय निजामती सेवा वा प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा एक पटक परीक्षणकाल पूरा गरेको कर्मचारीलाई पुनः परीक्षणकालमा नराखिने उल्लेख छ ।

ऐनको २० नम्बर बुँदामा उम्मेदवार हुनको लागि योग्यताको व्यवस्था गरिएको छ । जसमा स्थानीय सेवाको सहायकस्तरको पदमा अठार वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै अधिकृतस्तरको पदमा २१ वर्ष पूरा भएको हुनुपर्ने छ ।  पुरुष उम्मेदवारको हकमा ३५ र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

यद्यपि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा वा स्थानीय सेवामा रहेका स्थायी कर्मचारीहरूको हकमा उमेर हद लाग्ने छैन ।  

तोकिए बमोजिम शैक्षिक योग्यता, संघीय निजामती, प्रदेश निजामती र स्थानीय सेवाको समान तहको पदमा कार्यरत नरहेको हुनुपर्ने प्रावधान पनि ऐनमा छ ।

छैन अन्तरप्रदेश सरुवाको व्यवस्था

कर्णालीको स्थानीय ऐनमा अन्तरप्रदेश सरुवाको व्यवस्था गरिएको छैन । मुख्यमन्त्री कार्यालयले प्रदेशको स्थानीय सेवाको कर्मचारीलाई कर्णालीभित्रको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्न सक्ने उल्लेख छ । 

यद्यपि कर्णालीका स्थानीय तहको कर्मचारीले कुनै अर्को प्रदेशमा सरुवा हुन भने पाउँदैन । स्थानीय तहका कर्मचारीहरूले यो विषय सुधार गर्नुपर्ने माग राखेका थिए । तर मागको सुनुवाइ नहुँदै ऐन जारी भएको छ । सरुवा गर्दा एक पटकमा सम्बन्धित स्थानीय तहको दरबन्दीको ७० प्रतिशत कर्मचारी कायम राखी सरुवा गर्नुपर्ने छ ।

यस्तै स्थानीय सेवाको कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप