बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

कैलालीमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका अस्पतालहरू अलपत्र

बुधबार, ०७ कात्तिक २०८१, ११ : ४३
बुधबार, ०७ कात्तिक २०८१

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्ष अगाडि शिलान्यास गरेको कैलालीका विभिन्न पालिकास्थित अस्पतालहरूको निर्माण कार्य अलपत्र परेका छन् ।

२०७७ मङ्सिरमा प्रधानमन्त्री रहेको बेला ओलीले ३०९ स्थानीय  तहमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ भर्चुअल विधिमार्फत अस्पतालहरूको शिलान्यास गरेका थिए । जसमा कैलालीका अस्पतालहरू पनि समावेश थिए ।

२ वर्षभित्रै भवन बनाई सेवा सञ्चालन गर्ने लक्ष्य भएपनि एउटा बाहेक कैलालीका अस्पतालहरूको भवनहरू शिलान्यासकै क्रममा अलपत्र परेका हुन् । यस्तै केही अस्पतालहरू जग्गा विवाद स्वामित्व विवादले काम हुन सकेका छैन । 

लम्की चुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसीले अस्पतालको फाइल स्वास्थ्य मन्त्रालयमा रहेकोले थप काम अगाडि बढ्न नसकेको आफूले जानकारी पाएको बताइन् । 

उनले भनिन्, ‘म आएको धेरै भएको छैन । म पनि निर्माणाधीन अस्पताल स्थलमा जान सकेको छैन । म्यामहरू (नगर प्रमुख र उपप्रमुख)सँग बुझ्दा नीतिगत निर्णयको लागि तयार गरिएको फाइल स्वास्थ्य मन्त्रालयमै रहेकोले अगाडि नबढ्न सकेको छैन । तर उहाँहरू आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउँदै आउनुभएको छ ।’

घोडाघोडी नगरपालिकाले जग्गा भोगाधिकार नलिन सक्दा काम अगाडि बढाउन सकेको छैन । घोडाघोडीमा हालसम्म अस्पतालको पिल्लर मात्रै ठडिएका छन् । घोडाघोडीका नगरप्रमुख खड्क रावतले जग्गा भोगाधिकार लिन नसक्दा र डीपीआर स्वीकृत नहुँदा काम हुन सकेको बताए । तर त्यसको प्रक्रियाहरू अगाडि बढाइसकेको दाबी गरे ।

त्यस्तै, जिल्लाको मोहन्याल गाउँपालिकाले १० शय्याको अस्पताल निर्माणको प्रक्रिया बढाएको थियो । जहाँ अस्पतालको पिल्लर मात्रै ठडिएका छन् । गाउँपालिकाले बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको बताएको छ । संघीय सरकारले बजेट हस्तान्तरण नगरेपछि हालसम्म भौतिक प्रगति ४० प्रतिशत मात्रै भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले जानकारी दिए । 

यस्तै कैलाली गाउँपालिकाले अस्पताल निर्माणको काम अगाडि बढाएको छ । कैलाली गाउँपालिकाले अस्पतालको भौतिक प्रगति पुरा भएको दाबी गरेको छ । तर निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब आधा बढी रकम रहेको र सो रकम संघीय सरकारले नदिँदा  भवन हस्तान्तरण हुन बाँकी रहेको गाउँपालिकाको सूचना अधिकारी यगम कलेलले बताए ।

कैलाली गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको हो । यहाँ वि.सं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी वि.सं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिए पनि केही महिना म्याद थप काम अगाडि बढाइएको सूचना अधिकारी कंलेलको भनाइ छ ।

कैलारीमा संघीय सरकारको १८ करोड ५२ लाखमा अस्पताल निर्माण भइरहेको हो । तर बजेट अभावमा अस्पताल परिसरमा बन्नुपर्ने अन्य भौतिक संरचना निर्माण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । 

जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका बाहेक सबै पालिकाहरूमा प्रम ओलीबाट अस्पतालको शिलान्यास भई निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो । तर बजेट अभाव र केहीमा जग्गाको स्वामित्व विवादले अगाडि बढ्न नसकेका हुन् ।

पालिकास्तरमा अस्पताल सञ्चालन नहुँदा आमनागरिकहरु स्वास्थ्य सेवा लिन धनगढी, नेपालगन्ज, काठमाडौँ तथा भारत जान बाध्य छन् ।

यसैबिच बर्दगोरिया गाउँपालिकाले भने १५ शय्याको अस्पतालबाट६ गत वर्षदेखि नै स्वास्थ्य सेवा सुरु गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप