बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल प्रियिमर लिग क्रिकेट : इङ्ल्यान्डका टम मुरेस लुम्बिनी लायन्समा

बुधबार, ०७ कात्तिक २०८१, ११ : २३
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले आफ्नो पहिलो विदेशी खेलाडी भित्राएको छ । लुम्बिनी लायन्सले इङ्ल्यान्डका थोमस जेम्स मुरेस (टम मुरेस) लाई टोलीमा आबद्ध गरेको हो ।

२८ वर्षीय टम विकेटकिपर ब्याट्सम्यान हुन् । यी बायाँहाते ब्याट्सम्यानले इङ्ल्यान्डको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय भने खेलेका छैनन् । उनले प्रथम श्रेणीको क्रिकेट, लिस्ट ‘ए’ क्रिकेट र टी–२० मा भने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रथम श्रेणीको क्रिकेटमा उनले ७८ खेल खेल्दै उनले कुल दुई हजार ६ सय ८१ रन बनाएका छन् । उनले दुई सतक र आठ अर्धसतक पनि प्रहार गरेका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले २९ खेल खेल्दै कुल सात सय ७६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले पाँचवटा अर्धसतक बनाएका छन् ।

यसैगरी, उनले एक सय ४७ टी–२० खेलमा कुल दुई हजार तीन सय ११ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले आठवटा अर्धसतक प्रहार गरेका छन् । लुम्बिनी लायन्सले उनको आगमनबाट टोली थप उत्साही भएको जनाएको छ ।

लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।

केही समयअघि सम्पन्न खेलाडी अक्सन (खरिद–बिक्री प्रक्रिया) मा लुम्बिनी लायन्सले तीन खेलाडीका लागि अधिकतम १५–१५ लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सूर्य तामाङ, विवेक यादब र सन्दीप जोरा हुन् ।

यसैगरी, अक्सनमा लुम्बिनी लायन्सले दुई खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्सले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १० लाख रुपैयाँमा खरिद गरेको थियो । दुर्गेस गुप्ताका लागि भने लुम्बिनी लायन्सले आठ लाख रुपैयाँ खर्चिएको थियो ।

यसका अतिरिक्त, लुम्बिनी लायन्सले अर्जुन साउदलाई पाँच लाख रुपैयाँ र दिनेश अधिकारीलाई दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको थियो । लुम्बिनी लायन्सले अभिशेष गौतम र विकास आग्रीलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्चिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप