बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

ओली सरकारविरुद्ध खबरदारी सभा गर्न माओवादीको तयारी तीव्र

बुधबार, ०७ कात्तिक २०८१, ११ : २०
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने तयारी तीव्र पारेको छ । बागमती प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा खबरदारी सभा गर्न लागिएको हो । 

मङ्गलवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका थिए । 

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजना विहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापना  क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

ओली सरकार सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत विषयमा सरकारविरुद्ध जनप्रदर्शनसहित खबरदारी सभा गर्नुपरेको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यी प्रदेश अन्तर्गतका शाखा, प्रशाखा, महाशाखाहरू सबैमा बैठक चलिरहेको छ । पार्टी कमिटी, जबस र मोर्चाहरूले तयारी घनिभूत गरिरहेको उनले बताए । ओली सरकार सुशासन, सामाजिक न्याय, समृद्धि, जनजिवीकाको समस्या समाधानमा पूर्ण असफल भएको उनले निष्कर्ष सुनाए । 

‘हामीले जनप्रदर्शन र खबरदारी सभा गर्न लागिएको हो । सरकार भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो संरक्षण गर्ने, सुशासन कायम गर्ने अधिकारीमाथि कारबाही गर्ने । पार्टीहरूमा विभाजन ल्याउने दिशामा अग्रसर रहेकाले यो सरकार पश्चगमनतर्फ जाँदैछ । त्यसैले सरकारविरुद्ध खबरदारी सभा गर्नैपर्ने भयो’, बुधबार रातोपाटीसँग उनले भने । 

१० गते बिहान ११ बजे पार्टी कमिटी, जबस–मोर्चा लगायत सबै आ–आफ्नै ढङ्गले काठमाडौँ मलमा जम्मा हुने कार्यसूची रहेको छ । भृकुटीमण्डपमा पुगेर खबरदारी सभामा परिणत हुने प्रवक्ता सापकोटाले जानकारी दिए । सभालाई अध्यक्ष प्रचण्ड लगायत नेताहरूले सम्बोधन गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप