प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र
प्रतिशोध प्रतिनिधिमूलक व्यवस्थाको सुन्दरता हो । राजतन्त्रात्मक व्यवस्थादेखि आजसम्मको सम्पूर्ण व्यवस्था प्रतिशोधी व्यवस्था हो ।
राजतन्त्रात्मक व्यवस्थाको प्रतिशोधको ज्वलन्त उदाहारण राजा वीरेन्द्रको वंशनाश हाम्रो सामुमा झलझली छ । यस्तै भद्दा प्रतिशोध राजनीतिक पार्टीभित्र पनि देखिँदै आएका थिए ।
दन भण्डारीको हत्या प्रतिनिधिमूलक व्यवस्थाको अर्काे प्रतिशोध थियो । आज भएका सबै राजनीतिक पार्टीले आफ्नो प्रतिशोध बचाएर राखेका छन्, मौका पाउनेबित्तिकै तिनीहरूले देखाउनेछन् ।
उदयमान राजनीतिक पार्टी पनि पुराना राजनीतिक पार्टीमाथि प्रतिशोध राखेर मात्र जन्मिएका छन्, किनकि यिनीहरू पनि प्रतिनिधिमूलक व्यवस्थाका पक्षपाती हुन् । यतिखेर जनताले पुराना दलको विकल्प चाहे पनि नयाँहरूको उदय विकल्पका निम्ति भएको देखिँदैन । तसर्थ विकल्पका लागि आएका भनिएकाहरु प्रतिशोधी राजनीतिकै मतियार सिवाय केही नभएको पछिल्लो कान्तिपुर मिडिया सञ्चालकमाथि देखाएको प्रतिशोधी रबैयाले पुष्टि गरिसकेको थियो ।
प्रतिनिधिमूलक व्यवस्थाले प्रतिशोधमूलक राजनीतिक प्रणालीलाई स्थान दिनु कुनै नौलो कुरा होइन । एउटा प्रतिनिधिभन्दा अर्को प्रतिनिधिले आफूलाई अब्बल बनाउनका निम्ति अवलम्बन गरिने तिकडम यो प्रणालीको मूल धर्म हो । त्यसैले यस व्यवस्थाले देश, समाज, परिवार र व्यक्तिमा झगडाको बिउ रोप्नेबाहेक केही गर्न सकेको देखिँदैन अर्थात् प्रतिशोधलाई स्थान दिनेबाहेक यसले अरु केही कार्य गर्न सक्दैन । तसर्थ, प्रतिनिधिमार्फत उत्पत्ति भएको प्रतिशतमूलक व्यवस्था जुन छ, त्यहाँ जो पुग्छ, उसले अर्को विपक्षीलाई प्रतिशोधपूर्ण ठाउँबाट व्यवहार गर्नैपर्छ । आफू अब्बल भएको देखाउन विरोधीलाई सिध्याउनुपर्ने मूल धर्म भएकैले यसलाई प्रतिशोधमूलक व्यवस्था भन्न सकिन्छ ।
निरन्तर प्रगति चाहने जनताको स्वभावलाई आफ्नो स्वार्थ परिपूर्ति गर्ने माध्यम बनाउँदै पुराना राजनीतिक पार्टीप्रति प्रतिशोधी धारणा मात्र बोकेर उदाएका रविमाथि प्रतिशोध गर्नु यो व्यवस्थामा आउने रवि र पुराना दलमा कुनै भिन्नता थिएन ।
एकले अर्कालाई निषेध गर्नका निम्ति अपनाइने विभिन्न तिकडमबाजहरूले प्रतिनिधिमूलक व्यवस्थालाई समृद्ध बनाएको पुष्टि गर्दछ । यो निषेधको निषेध राजनीतिद्वारा स्थापित व्यवस्था हो । अर्थात् ठुलो माछाले सानो माछालाई खाने उदाहरणसँग यो व्यवस्थालाई सहज रूपमा दाँज्न सकिन्छ । राजतन्त्रात्मक व्यवस्थालाई निषेध गरेर आएको यो व्यवस्था आफ्नै आन्तरिक निषेधात्मक गतिविधिबाट कमजोर हुँदै जान्छ र यसको अवसान निश्चित छ ।
राजतन्त्रात्मक व्यवस्थाको विकल्प खोजेका आजका राजनीतिक पार्टीले आफ्नै अन्तर्विरोधबाट अर्काे विकल्प पनि जन्मन्छ भन्ने हेक्का राख्न सकिराखेका छैनन् । आज राजनीतिमा देखापरिरहेका मुख्य राजनीतिक पार्टीले एकले अर्कालाई निषेध गर्दै यहाँसम्म आइपुगेका थिए र छन् । भोलि भविष्यमा पनि यिनले यिनै गतिविधिलाई राख्दै छन् र आफूलाई सर्वश्रेष्ठ साबित गर्न कोसिस गर्नेछन् । यतिखेर रविको पक्राउलाई प्रतिशोधपूर्ण राजनीति भनेर जुन हबाला दिइराखिएको छ, यसको कुनै अर्थ देखिँदैन । रवि आफैँ विद्यमान पुराना राजनीतिक पार्टीको विविध गतिविधिको प्रतिशोध गर्न र आफू त्यसभन्दा फरक भएको पुष्टि गर्नका निम्ति नेपाली राजनीतिमा उदाएका हुन् । आफ्नो राजनीतिक दर्शन विकास नगरीकनै विशुद्ध आलोचना गरेर उदाएका पात्रको गर्भाशयमा प्रतिशोध मात्र थियो, विकल्प थिएन ।नेपाली जनताले विकल्प खोज्नु जायज कुरा थियो । यो निरन्तर चलिराख्छ । त्यसो नहुँदो हो भने आज पनि विश्वमा राजतन्त्रतात्मक व्यवस्थाले मात्र ठाउँ लिइराखेको हुनेथ्यो ।
विश्वका विभिन्न व्यवस्था ढल्दै नयाँ व्यवस्था निर्माण हुनुले जनता निरन्तर प्रगतिको दिशातिर उन्मुख छन् भन्ने स्पष्ट गर्छ । यही प्रगतिशील जनताको स्वभावलाई आफ्नो स्वार्थ परिपूर्ति गर्ने माध्यम बनाउँदै पुराना राजनीतिक पार्टीप्रति प्रतिशोधी धारणा मात्र बोकेर उदाएका रविमाथि प्रतिशोध गर्नु यो व्यवस्थामा आउने रवि र पुराना दलमा कुनै भिन्नता थिएन । उनी पुरानालाई प्रतिशोधमार्फत धकेल्ने प्रयत्नमा पटकपटक प्रयत्नरत देखिन्छन्, विडम्बना हरेक गाँसमा ढुङ्गा भनेझैँ उनका हरेक गतिविधि उनकै निम्ति प्रत्युत्पादक भए । यो प्रतिशोधमूलक प्रतिनिधिमूलक व्यवस्थाको न्यूनतम गुणस्तर नपुग्दा उनलाई हानिकारक भएको हो । आफैँ कमजोर भएको मानिसले अरुलाई कमजोर देखाउन खोज्नु प्रतिशोधको निम्ति बलियो आधारविहीन उभिएको बुख्याँचा भन्न सकिन्छ ।
वास्तवमा रवि विकल्प थिएनन्, होइनन् र हुँदैनन् किनकि विकल्प दर्शन, सिद्धान्त नीति र कार्यक्रममार्फत प्रस्तुत हुनुपर्छ अर्थात् विचार दृष्टिकोण र कार्यक्रमले मात्र विकल्प प्रस्तुत गर्न सकिन्छ ।
पुरानाहरू बिग्रिए, हामी नयाँले त्यसमा साँच्चिकै विकल्प दिन्छौँ भनिराख्दा आफूसँग पुरानाका निम्ति प्रतिशोध गर्न सक्ने गुणस्तर पुगेन । गुणस्तरहीन आफ्नो चरित्रलाई आधार बनाएर नेपाली राजनीतिमा आफू विकल्प हुँ भनेर प्रस्तुत हुनु र नेपाली जनताको विकल्पको चाहनामा खेलबाड गर्नु उनका लागि समय अनुकूल भएको मात्र हो । वास्तवमा रवि विकल्प थिएनन्, होइनन् र हुँदैनन् किनकि विकल्प दर्शन, सिद्धान्त नीति र कार्यक्रममार्फत प्रस्तुत हुनुपर्छ अर्थात् विचार दृष्टिकोण र कार्यक्रमले मात्र विकल्प प्रस्तुत गर्न सकिन्छ । उनीसँग न कुनै विचार सिद्धान्त छ, न भोलि कुनै एउटा दृष्टिकोण बनाएर नयाँ संश्लेषण गरौँला भन्ने आयाम देखिन्छ, न त आजको युग बदल्नका निम्ति कार्यक्रम नै प्रस्तुत गर्न सक्ने सामथ्र्य राख्छन् उनी ।
विशुद्ध विकल्प खोजिरहेका जनताको मनोविज्ञानसँग खेल्दै रविले आजको जुन स्थिति पैदा गरेका छन्, उनी आफैँ पनि प्रतिशोधको राजनीतिका निम्ति नेपाली बजारमा उदाएका भुइँफुट्टे राजनीतिक हुन् भन्न सकिन्छ ।
विकल्प जनताको चाहना र आवश्यकता हो । विकल्प जनताले सधैँ बचाइराख्नुपर्छ र विकल्पका निम्ति जनता सधैँ तयार हुनुपर्छ । राजाको विकल्प प्रस्तुत गरेका यी राजनीतिक दलहरूको विकल्प नेपाली जनताले इतिहासमा फेरि प्रस्तुत गर्न सक्नुपर्छ । जसले मात्र नेपाली समाजको सिंगो रूपान्तरणलाई आत्मसात गर्न सक्ला । बदलिएको वस्तुगत परिस्थितिका आधारमा राजनीतिक विचार, दृष्टिकोण र कार्यक्रम नभएसम्म नेपालको समृद्धि सम्भव छैन । समृद्ध नेपाल नबनाईकन हामी नेपालीको भविष्य पनि बदलिनेछैन । तसर्थ, विकल्पका निम्ति सम्पूर्ण नेपाली जनता तयार हुनुपर्छ, तर प्रतिनिधिमूलक व्यवस्थाको मतियार भएर अर्का नयाँ प्रतिशोधकर्ता जन्माएर मात्र विकल्प हुन सक्दैन । एकले अर्कालाई निषेध गर्ने र आफूलाई सर्वश्रेष्ठ साबित गर्ने आजको प्रतिनिधिमूलक व्यवस्थालाई आधार मानेर विकल्प प्रस्तुत गर्न सम्भव छैन । तसर्थ आजको नयाँ पिँढीले विचार, दृष्टिकोण र कार्यक्रममा कुन तवरको फेरबदल गर्न सकियो भने वास्तवमै नेपालको र नेपाली जनताको विकल्प स्थापित गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।
विज्ञानको एउटा शाश्वत नियम यथास्थितिबाट गतिशील हुनु हो । भइराखेको विकासभन्दा निरन्तर खोजी अर्थात् नयाँ सम्भावनातिर आफूलाई निरन्तर समाहित गर्नु नै विज्ञानको एउटा विशेषता हो । जुन कुरा अन्य दर्शनमा भन्दा फरक छ र यसले आज मानव समाजमा ठुलो स्थान ग्रहण गरेको छ । समाज विज्ञानमा पनि हामीले एउटा नयाँ सम्भावना पस्कनुपर्ने अवस्था आइपरेको हुन सक्छ, किनकि आज सङ्कट पश्चिमा मुलुकमा भन्दा एसिया र पूर्र्वी एसियामा चरम रूपमा देखापरेको छ । जहाँ संकट छ, त्यही भू–भागले इतिहासमा नयाँ संकट समाधानको विकल्प दिएको भेटिन्छ । तसर्थ आज हाम्रो सामु देखापरेको संकटको सही समाधान विश्वका निम्ति एउटा नयाँ व्यवस्थाको विकल्प हुन सक्छ । किनकि हामीलाई संकट छ, हामीलाई विकल्प चाहिएको छ । संकटमा भएकाहरूले नै विकल्प खोज्ने हो, यो समाज विज्ञानको सर्वमान्य नियमलाई पूर्वी एसिया र नेपालले पूरा गर्नुपर्ने हुन सक्छ ।
पछिल्लो समयमा एसिया प्रान्तमा भएका उथलपुथलले एसियामा सङ्कट रहेको देखाउँछ, यही एसियाले आज विश्व समुदायमा भएको राजनीतिक संकटको समाधानको विकल्प दिनुपर्ने हुन सक्छ । तसर्थ हामी नेपालीबाट विश्व समुदायमा एउटा राजनीतिक विकल्प प्रस्तुत हुन सक्छ, तर आज भइरहेको राजनीतिक व्यवस्था यो प्रतिनिधिमूलक व्यवस्था हो, अर्थात् प्रतिशोधमूलक व्यवस्था हो । यो व्यवस्थाले आज विश्व–व्यवस्थामा आफ्नो मजबुत जग बसालेको छ । जसको ज्वलन्त उदाहरण हो, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता छाड्दै गर्दा ह्वाइट हाउसमा मच्चाएको हिंसा । प्रतिशोधपूर्ण यस व्यवस्थाको यो ज्वलन्त नमुना थियो । तसर्थ यो व्यवस्था प्रतिशोधमूलक व्यवस्था हो । जहाँ प्रतिनिधिले आ–आफ्नो प्रतिशोध साँधी राख्नेछन् ।
प्रतिनिधिमूलक व्यवस्थाले प्रतिशोधको जन्म गराउनेबाहेक अरु केही गर्नेछैन । रविले पनि प्रतिशोध गर्दै यहाँ आइपुगेका थिए भने अन्य राजनीतिक पार्टीले रविमाथि गर्ने प्रतिशोध पनि यो व्यवस्थाको उपज हो ।
अब प्रश्न उठ्छ, आजको प्रतिशोधी प्रतिनिधिमूलक व्यवस्थाको विकल्प के ? प्रतिशोधपूर्ण प्रतिनिधिमूलक व्यवस्थाको अन्त्य र आजको व्यवस्थाको विकल्प दिन सक्ने गरी अबको व्यवस्था भनेको प्रत्यक्ष प्रजातन्त्र मात्र हो । जहाँ प्रतिनिधिहरू हुनेछैनन् र प्रतिशोध पनि हुनेछैन । किनकि प्रत्यक्ष प्रजातन्त्रमा जनता आफैँ निर्णय र मताधिकार बोकेर बसेका हुन्छन् । जनताका बारेमा कोही प्रतिनिधिले चिन्ता गर्नुपर्नेछैन । सबै जनता मालिक हुनेछन् । सबै जनतासँग निर्णय अधिकार र मताधिकार हुनेछ । यो वास्तविक र पूर्ण प्रजातान्त्रिक व्यवस्था हुनेछ । जबकि आजको प्रतिनिधिमूलक व्यवस्था अर्ध–प्रजातान्त्रिक मात्र हो ।
आजको विज्ञान–प्रविधिले प्रत्यक्ष प्रजातान्त्रिक व्यवस्था स्थापनाका निम्ति आधार बसालेको छ । अब हामीले प्रतिनिधिमूलक व्यवस्था र प्रतिशोधमूलक व्यवस्थाका विरुद्धमा प्रत्यक्ष प्रजातान्त्रिक व्यवस्था स्थापना गरेर नेपालको समस्याको समाधान गर्ने र सिङ्गो विश्व–व्यवस्थामा एउटा नयाँ राजनीतिक धारा प्रवाह गर्ने बेला आएको छ । जुन सम्भव छ र आजको एसियाको संकटले त्यसलाई निमन्त्रणा गरिराखेको छ ।
नेपाली जनताको परिवर्तनको चाहनालाई हामीले यही नयाँ व्यवस्था स्थापना गरेर मात्र सम्भव तुल्याउन सक्छौँ । यसर्थ, प्रतिनिधिमूलक र प्रतिशोधमूलक व्यवस्थाको अन्त्य र प्रत्यक्ष प्रजातन्त्र स्थापनाका निम्ति आजका परिवर्तनकामी नेपाली युवा तथा सम्पूर्ण समुदायले नयाँ हातेमालो स्थापित गर्नुपर्ने हुन्छ । रवि दुधले नुहाएका व्यक्ति होइनन्, किनकि उनी आफैँ प्रतिशोधपूर्ण राजनीतिक प्रणालीमा प्रतिशोधपूर्ण गतिविधि राख्दै यहाँ आइपुगेका थिए । त्यसकारण उनीबाट विकल्प प्रस्तुत सम्भव थिएन । वास्तवमा विकल्प भनेको प्रतिनिधिमूलक व्यवस्थाको अन्त्य र प्रत्यक्ष प्रजातन्त्रको स्थापनाले मात्र प्रस्तुत गर्न सक्छ । त्यसका निम्ति नेपाली जनताले एउटा नयाँ प्रयत्न गर्ने बेला आएको छ, यही प्रयत्नले समृद्ध नेपालको सपना पूरा गर्ने देखिन्छ ।