बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजका तीव्र गतिका बलर एन्डर्सन फिलिप पोखरा एभेन्जर्समा

बुधबार, ०७ कात्तिक २०८१, १० : ५८
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा वेस्ट इन्डिजका अलराउन्डर खेलाडी एन्डर्सन फिलिपले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखरा एभेन्जर्सले २८ वर्षीय एन्डर्सन फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । आगामी एनपीएलका लागि पोखरा एभेन्जर्सले भित्राएको एन्डर्सन फिलिप तेस्रो विदेशी खेलाडी हुन् । पोखरा एभेन्जर्सले यसअघि अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई अनुबन्ध गरेको थियो ।

एन्डर्सन फिलिपलले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट दुईवटा टेस्ट क्रिकेट पनि खेलिसकेका छन् । दायाँहाते बलर एन्डर्सन फिलिपलले टेस्ट क्रिकेटमा तीन विकेट लिएका छन् भने ५३ रन पनि बनाएका छन् ।

यसैगरी, उनले वेस्ट इन्डिजका लागि पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय पनि खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले चार विकेट लिएका छन् । यो ढाँचाको क्रिकेटमा उनले २२ रन बनाएका छन् । यसका अतिरिक्त उनले लिस्ट ‘ए’ र प्रथम श्रेणीको थुप्रै प्रतियोगिता पनि खेलेका छन् ।

एन्डर्सन फिलिप तीव्र गतिका बलर हुन् । उनले एक सय ४० किलोमिटर प्रतिघण्टाको औसतमा बलिङ गर्ने गरेका छन् । एन्डर्सन फिलिपले आफू पोखरा एभेन्जर्सबाट खेल्न उत्साही रहेको बताएका छन् । उनलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्स पनि उत्साही देखिएको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एन्डर्सन फिलिपको आगमनले टोली थप बलियो हुने विश्वास गरे । टोलीका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महंगोमा बिक्री भएको क्लब पनि हो ।

पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । केही समयअघि काठमाडौँमा सम्पन्न खेलाडी अक्सन (खरिद–बिक्री प्रक्रिया) मा पोखरा एभेन्जर्सले एक खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ खर्चिएको थियो । पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सागर ढकाल हुन् ।

यसैगरी, पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । पोखरा एभेन्जर्सले चारजना खेलाडीका लागि १०–१० लाख रुपैयाँ र दुईजना खेलाडीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो ।

पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा किनेको खेलाडी किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलिप नाथ हुन् । पोखरा एभेन्जर्सले पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी तृतराज दास र सुनाम गौतम हुन् ।

यसैगरी, पोखरा एभेन्जर्सले दिनेश खरेल र अमृत गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । पोखरा एभेन्जर्सले अक्सनमा कुल ८० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप