बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
साफ महिला च्याम्पियनसिप

ढुक्क भारत र दबाबमा रहेको बंगलादेशबिच रोचक भिडन्त

बुधबार, ०७ कात्तिक २०८१, १० : ४०
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा बुधबार साबिक विजेता बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । बंगलादेश र भारतबिचको खेल नेपाली समय अनुसार, दिउँसो १७ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

भारत र बंगलादेश दुवै प्रतियोगिताको समूह ‘ए’ मा छन् । यो समूहमा तेस्रो टोलीका रूपमा पाकिस्तान रहेको छ । बुधबारको खेलमा भारतभन्दा पनि साबिक विजेता बंगलादेश निकै दबाबमा रहने छ । भारत यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।

india

एक खेलबाट तीन अङ्क बटुलेको भारत तालिकाको पहिलो स्थानमा आसीन छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले हराएको थियो । दोस्रो स्थानमा आसीन बंगलादेशले एक खेलबाट एक अङ्क जोडेको छ । तेस्रो स्थानमा आसीन पाकिस्तानले भने दुई खेलबाट एक अङ्क हात पारेको छ ।

समूह ‘बी’ अन्तर्गत खेलिन लागेको यो अन्तिम खेल पनि हो । यदि यो खेलमा भारतलाई हराउन सके बंगलादेश चार अङ्कसहित समूह विजेता बनेर प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । तर, यो खेलमा भारतसँग पराजित भए बंगलादेशका लागि अप्ठ्यारो स्थिति सृजना हुन सक्छ ।

यद्यपि, पाकिस्तानको तुलनामा बंगलादेशको गोलअन्तर राम्रो रहेको छ । बंगलादेशले हालसम्म एक गोल गरेको छ भने एक गोल खाएको छ । यसको विपरीत पाकिस्तानले हालसम्म तीन गोल गरेको छ भने ६ गोल खाएको छ ।

bangladesh

त्यसैले बुधबारको खेलमा भारतसँग सानो अन्तरले पराजित भए पनि बंगलादेश नै प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । तर, भारतसँग तीन गोलभन्दा बढीको अन्तरले पराजित भए बंगलादेशको स्थानमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ ।

भारत र बंगलादेशले सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउँदै आएका छन् । भारत यो प्रतियोगिताको सर्वाधिक सफल टोली हो । भारतले हालसम्म पाँच पटक उपाधि चुमिसकेको छ ।

भारतले पहिलो संस्करणको फाइनलमा नेपाललाई १–० गोलले हराएको थियो । सन् २०१२ मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पनि भारतले नेपाललाई नै ३–१ गोलले हराएको थियो । सन् २०१४ मा सम्पन्न तेस्रो संस्करणको फाइनलमा पनि भारतले नेपाललाई नै ६–० गोलले पराजित गरेको थियो ।

यसै गरी, सन् २०१६ मा सम्पन्न चौथो संस्करणको फाइनलमा भारतले बंगलादेशलाई ३–१ गोलले हराएको थियो । सन् २०१९ मा सम्पन्न पाँचौँ संस्करणको फाइनलमा भारतले नेपाललाई ३–१ गोलले पराजित गरेको थियो ।

बंगलादेशले हालसम्म एकपटक उपाधिमाथि कब्जा जमाएको छ । बंगलादेशले सन् २०२२ मा सम्पन्न छैटौँ संस्करणको फाइनलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि चुमेको थियो । नेपाल भने हालसम्म पाँच पटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित रहँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप