बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाको प्रदर्शनले सहकारी पीडित रुष्ट, बिहीबार प्रदर्शन गर्ने

बुधबार, ०७ कात्तिक २०८१, १० : २९
बुधबार, ०७ कात्तिक २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेको समर्थनमा गरेको प्रदर्शनप्रति सहकारी पीडितहरू रुष्ट बनेका छन् । उनीहरुले रास्वपा नेताहरू घरघरमा पुगेर पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका हुन् । 

‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताहरूले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगी  पीडित बचतकर्तालाई भड्काउने गरेको काम प्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ,’ बुधबार एक विज्ञप्ति जारी गरी उनीहरुले भनेका छन् । 

सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्नेगरी भइरहेको प्रदर्शन तत्काल रोक्न उनीहरूको माग छ । रास्वपाका नेता कार्यकर्ताहरूले पीडितहरूलाई लखेट्ने र पिट्ने गरेको आरोप समेत उनीहरुले लगाए । रास्वपा सरकारमा हुँदा समेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति पोखराले गुनासो गरेको छ । 

‘विगत २ वर्ष अगाडि देखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरूलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर सहयोग नभएको कुरा छर्लङ्ग छ ।,’ विज्ञप्तिमा भनिएको छ, ‘तर आज पार्टी सभापति नै अनुसन्धान को दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा धाम लागेजस्तो देखिएको छ । यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ ।’ 

सहकारी पीडितहरूले आफ्नो गम्भीर विषयमा राजनीति भइरहेको गुनासो गरे । ‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापति विरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ?,’ उनीहरुले प्रश्न गरे, ‘त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’ बचत फिर्ताको माग गर्दै उनीहरुले बिहीबार बिहान मुस्ताङ चोकमा वृह प्रदर्शन गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप