बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

प्रदर्शनमा साथ नदिएपछि रास्वपा नेताहरू पोखरेलीको घरदैलोमा

बुधबार, ०७ कात्तिक २०८१, १० : ०८
बुधबार, ०७ कात्तिक २०८१

पोखरा ।  रवि लामिछाने पक्राउ परेपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित प्रदर्शनमा छन् । देशैभरीबाट कार्यकर्तालाई आउन आह्वान गरेको रास्वपाको प्रदर्शनमा अपेक्षाकृत प्रदर्शनकारी उपस्थित छैनन् ।

दसौँ हजार कार्यकर्ता हरेक दिन प्रदर्शनमा उत्रिने रास्वपाको विश्वास थियो । रास्वपा नेता कार्यकर्ताको भनाई सापट लिने हो भने पोखरेलीले प्रदर्शनमा सहयोग गरेका छैनन् ।

उनीहरू प्रदेश कोणसभा र प्रदर्शनहरूमा देशका लागि सडकमा झर्न पोखराका नागरिकहरूलाई आह्वान गर्छन् । तर पोखराका नागरिकहरू सोचेझैँ सडकमा झरेका छैनन् । पोखरेलीले आन्दोलनमा साथ नदिएपछि रास्वपाका नेताहरू घरदैलोमै पुगेर बोलाउन थालेका छन् । मंगलबार केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगे । उनीहरुले त्यहाँका नागरिक अगुवा र आफ्ना समर्थकहरूलाई भेटेर आन्दोलनमा पोखरा झर्न आग्रह गरेर फर्किए । 

केन्द्रीय सदस्य हरि ढकाल मंगलबार पूरै समय बिरौटा क्षेत्रमा घरदैलो गरेका थिए । प्रत्येक घरमा चुनावी प्रचारको समय झैं छिरेर प्रदर्शनमा आउन उनले आग्रह गरे । पोखराको प्रदर्शनमा अन्य जिल्लाबाट कार्यकर्ता र समर्थकहरू भेला भएका छन् । रास्वपाले मंगलबार १० वटा समूह बनाएर घरदैलोमा खटाएको थियो । प्रवक्ता मनिष झा भनेर अमरसिंह क्षेत्रमा घरदैलो गरेका थिए । 

घरदैलोपछि मंगलबारको प्रदर्शनमा केही सङ्ख्या थप भएको झाले सुनाए । ‘मंगलबार केही थप भयो । बुधबार अझै धेरै आउनुहुन्छ,’ उनले भने । बुधबार पनि बिहानैदेखि घरदैलो गरिरहेको उनले सुनाए । ‘हामी आज पनि घरदैलोमा छौं । म ७ नम्बर वडाको घारिपाटन क्षेत्रमा हिँडिरहेको छु,’ उनले भने, ‘यो मेरो नेतालाई छुटाउने र एउटा रवि लामिछानेलाई छुटाउने आन्दोलन होइन । ८७ अर्बकै समाधान गरौँ भन्ने आन्दोलन हो ।’

पोखरेलीले प्रदर्शनमा साथ नदिएको भन्नेमा उनी सहमत छैनन् । ‘विपक्षीहरूको रणनीति हो यो । पोखरेलीले साथ दिएनन् भनेर मिडियाबाजी गरिरहेका छन्,’ झाले थपे, ‘त्यस्तो होइन । मंगलबारको प्रदर्शन हेर्नुस् त सबैजसो पोखरेली छन् । बाहिरबाट आएका कति छन् र ?’ उनले एउटै छानबिन समितिको प्रतिवेदनमा दल र व्यक्तिपिच्छे फरक व्यवहार गरिएको बताए । 

‘गोर्खा मिडियाका एकजना डाइरेक्टरलाई थुन्ने, अर्को डाइरेक्टरलाई राष्ट्रपतिको सल्लाहकार बनाइदिने ? राजनीतिक प्रतिशोध यही त हो । हाम्रो नेतालाई छोड्नुपर्छ भनेको होइन । कानुनलाई सघाउनुपर्‍यो सबैजना भन्नुहुन्छ, कानुन पनि तथा कानुनसम्मत हुनुपर्यो नि,’ झाले भने । रास्वपाले पोखरेलीको साथ खोज्दै हरेक दिन चोक फेरेर प्रदर्शन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप