बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
ओली सरकारको सय दिन

यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ

बुधबार, ०७ कात्तिक २०८१, ०९ : ५९
बुधबार, ०७ कात्तिक २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । 

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताएका हुन् । ‘दुई वटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धति र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुई वटा पार्टी मिलेर निरङ्कुशता जाने सङ्केत भएको भनेर हामीले सुरुमै भनेका थियौँ । अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उनले भने, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषीलाई सफाइ दिने काम भइरहेको छ ।’

उनले बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको बताए । ‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठूलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनःस्थापना, पुननिर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’

उनले अहिलेको देशको परिस्थिति दुई वटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने खालको नभएको बताए । यो कुरा कांग्रेस र एमालेले बुझ्नु पर्ने उनको भनाइ छ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानबिन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गरे । ‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन । राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन,’ श्रेष्ठले भने, ‘तर, अहिले सबैको टिप्पणी के हो भने भेदभाव भइरहेको देखिन्छ । त्यस्तै गरी प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धित भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन ? किन उनीहरूलाई कानुनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । त्यो सही पनि छ ।’

 माओवादी सरकारमा हुँदा दोषी कसैलाई छोडिने छैन, छोड्नु हुँदैन । निर्दोष कसैलाई दुःख दिनु हुँदैन, जतिसुकै शक्तिशाली भएपनि दोषीलाई छोड्नु हुँदैन भन्ने कुरा गरेको उनले स्मरण गरे ।

उनले माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको पनि बताए । ‘सरकारतिर हाम्रो आँखा छैन । तर, आन्दोलन भनेको सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन,’ किन आन्दोलनमा जान लाग्नु भयो भन्ने प्रश्नमा उनले भने, ‘देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौँ ।’ 

दुई वटा पार्टीले मिलेर बनेको सरकार चलेसम्म आफूहरूले चलाउन दिने पनि बताए । ‘सरकार नै चल्दै चलेन, सरकारले सङ्कट नै ल्यायो भने हामीले सोच्ने कुरा हो । तर, हामी आफूले चाहिँ सरकार कहिले ढाल्ने र सरकारमा जाने भन्ने सोचेको पनि छैनौँ, कल्पना गरेको पनि छैन र त्यतातिर जान पनि चाहन्नौँ,’ उनले भने । 

उनले वर्तमान सरकारले काम गर्न नसकेपनि लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बन्नेतिर जानुपर्ने बताए । तर, वर्तमान राजनीतिक पार्टीले आफूलाई समीक्षा गरेर बदल्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘हामी माओवादीले हिजो पनि तुलनात्मक रूपमा राम्रो काम गरेका हौँ । अझ पनि बदलिनुपर्छ भनेर काम गरिरहेका छौँ,’ श्रेष्ठले भने । उनले वामपन्थी एकताको पक्षमा भएपनि तत्काल त्यो सम्भावना नरहेको उनले बताए । कम्युनिष्टहरुलाई मिलाउन चीनले भूमिका खेलिरहेको भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले त्यो चर्चामा कुनै सत्यता नभएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप