बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतको सामना गर्न टेस्टबाट संन्यास फिर्ता लिने वार्नरको प्रस्ताव

बुधबार, ०७ कात्तिक २०८१, ०७ : ०२
बुधबार, ०७ कात्तिक २०८१

सिड्नी । अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नरले भारतविरुद्धको आगामी सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिन आफू उपलब्ध रहेको बताएका छन् ।

३७ वर्षीय वार्नरले जनवरीमा संन्यास लिएपछि अस्ट्रेलियाले खेलेका चार टेस्टमा स्टिभ स्मिथले उस्मान ख्वाजासँगै ओपनिङ गरेका छन् ।

यद्यपि, स्मिथ नोभेम्बरमा सुरु हुने भारत विरुद्धको शृङ्खलाका लागि चौथो नम्बरमा फर्किनेछन्, किनभने अलराउन्डर क्यामरुन ग्रीन ढाडको चोटका कारण बाहिर छन् । जसको अर्थ अस्ट्रेलियाले ख्वाजाका लागि अर्को साझेदार खोज्नुपर्छ।

वार्नरले कोड स्पोर्ट्सलाई भने, "म सधैँ उपलब्ध छु, फोन उठाउन तयार छु । म सधैँ गम्भीर छु।’ वार्नरले अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्ड र मुख्य चयनकर्ता जर्ज बेली दुवैलाई आफू फर्किने सन्देश दिएको पनि बताएका छन् ।

यद्यपि, म्याकडोनाल्डले ‘तिमी रिटायर्ड भइसक्यौ’ भन्दै जवाफ दिएको पनि उनले सुनाए ।

क्यामरन ब्यानक्रफ्ट, मार्कस ह्यारिस, साम कोन्स्टास र म्याथ्यू रेन्श ख्वाजाको साझेदारका लागि सम्भावित उम्मेदवार हुन् । अस्ट्रेलियाले वार्नरलाई फिर्ता बोलाउने बारे कुनै संकेत गरेको छैन।

अस्ट्रेलियाले नोभेम्बरदेखि जनवरीसम्म पाँच टेस्ट खेल्नेका लागि भारतको आतिथ्य गर्ने छ । जहाँ भारत बोर्डर-गावस्कर ट्रफीलाई पुनः जित्न चाहनेछ ।

वार्नरले ११२ टेस्टमा ४४.५९ को औसतमा ८,७८६ रन बनाएका छन् । यसमा २६ शतकहरू सामेल छन् । उनको अन्तिम खेल सिड्नी क्रिकेट मैदानमा पाकिस्तानविरुद्धको जितमा थियो।

बायाँ हाते ब्याटरले आफ्नो अन्तिम टेस्ट अघि एकदिवसीयबाट संन्यास लिएका थिए । अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि उनले गत जुनमा टी-२० अन्तर्राष्ट्रियबाट पनि संन्यास लिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप