बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
पूर्वाधार

एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा

बुधबार, ०७ कात्तिक २०८१, ०१ : ००
बुधबार, ०७ कात्तिक २०८१

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने कार्य अगाडि बढेको हो । 

स्तरोन्नतिपछि काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गत सहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ । यस्तै अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने जनाइएको छ ।  

उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ । काँकरभिट्टा–लौकही सडक खण्डको लम्बाई एक सय २० किलोमिटरमध्ये ९५ दशमलव ७६ किलोमिटरमा विभिन्न प्याकेजमा ठेक्का लागेको छ । 

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ । 

काँकरभिट्टा–केर्खा सडक

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि काम प्रारम्भ गरेको इञ्जिनियर आश्रय महतले जानकारी दिए । उनका अनुसार काम सुरु भएदेखि हालसम्मको भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत रहेको छ । 

इञ्जिनियर महतका अनुसार यस सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सम्पन्न भई दुई हजार एक सय रुख डिभिजन वनलाई हस्तान्तरण गरिएको छ । विद्युत् प्राधिकरणबाट यस क्षेत्रमा पर्ने दुई हजार दुई सय खम्बामध्ये चार सय खम्बा सारिसकेको र अन्य सार्ने क्रममा छन् । 

यसैगरी यस सडक खण्डमा पर्ने एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । पूर्वी खण्डअन्तर्गत चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने इञ्जिनियर महतले बताए । 

उनका अनुसार चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् । 

तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति चार दशमलव २० प्रतिशत रहेको इञ्जिनियर महतले जानकारी दिए । उनका अनुसार पुलको जगमा तीन सय ५० वटा पाइल हाल्ने काम सम्पन्न भएको छ । 

केर्खा–इटहरी खण्ड 

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर रहेको छ । उक्त ठेक्का रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता भएको इञ्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए । 

रुख कटान, माटो फिलिङलगायत काम भइरहेको उक्त सडकखण्डको हालसम्ममा सात दशमलव पाँच प्रतिशत भौतिक प्रगति रहेको छ । 

यस्तै प्याकेज नं ३  मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर रहेको छ । उक्त प्याकेजको ठेक्का सम्झौता रु चार अर्ब सात करोड ३५ लाखमा गरिएको हो । इञ्जिनियर श्रेष्ठका अनुसार हालसम्म यस प्याकेजको भौतिक प्रगति तीन प्रतिशत मात्रै छ । 

प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । जुन सम्बन्धित प्याकेजको ठेक्का पाउनेले नै निर्माण गर्नेछ । हालसम्म सडक सीमाक्षेत्रभित्रका दुवै प्याकेजका छ हजार छ सय २९ रुख काट्ने काम सम्पन्न भएको इञ्जिनियर श्रेष्ठले बताए । 

यसैगरी यस खण्डमा तीन सय मिटरभन्दा लामा रतुवा, बक्रा र लोहेन्द्रा पुल निर्माणका लागि रु पाँच अर्ब ६५ करोड २६ लाख सम्झौता गरिएको थियो । पुलको पाइलिङ गर्ने काम भइरहेको यस ठेक्काका हालसम्म आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । 

काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका सवै प्याकेजका योजनाको निर्माण सम्पन्न अवधि तीन वर्ष रहेको इञ्जिनियर महतले बताए । बर्खाको समयमा निर्माण रोकिए पनि अब राजमार्ग स्तरोन्नतिको कामले गति लिने उनको भनाइ छ । 

स्थानीय उत्साहित 

एशियन राजमार्ग बन्ने भएपछि यस क्षेत्रका स्थानीय तथा व्यावसायी उत्साहित भएका छन् । यसरी चार लेनको राजमार्ग पूवीक्षेत्रमा बन्ने भएपछि भारतलगायत अन्य देशबाट पर्यटक स्थलमार्ग हुँदै नेपाल आवागमनमा सहज हुने पर्यटन व्यवसायी नेत्र कार्की बताउँछन् ।

पछिल्लो समय विर्तामोड, चारआली, चारपानेलगायत क्षेत्रमा सवारी चाप अत्यधिक हुँदै गइरहेको छ । एसियान राजमार्ग बन्ने भएपछि सवारी चाप घटने स्थानीय निर्मल पोखरेल बताउँछन् । अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग बन्न लागेसँगै यसले गर्दा अन्य विकास निर्माणका कामका लागि ढोका खुल्ने व्यवसायी गणेशप्रसाद मैनालीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप