बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सुनाकोठीमा श्रीमद् भागवत ज्ञान महायज्ञ

बुधबार, ०७ कात्तिक २०८१, ०१ : १५
बुधबार, ०७ कात्तिक २०८१

ललितपुर  । ललितपुरको सुनाकोठीमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव) सुरु भएको छ । 

महानगरको वडा नं २६ र २७ मा पर्ने भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माणका लागि महायज्ञको आयोजना गरिएको ललितपुर महानगरका  प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । 

महायज्ञ उदघाटन पश्चात मन्तव्य राख्दै महानगरप्रमुख महर्जनले लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरु पुरानै शैलीमै निर्माण गर्ने महानगरको नीति अनुरुप भृङ्गारेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरिने बताए । 

'पुरातात्विक महत्वको यस मन्दिरको ऐतिहासिक पक्षलाई कायम राख्ने गरी निर्माण गर्न हामी लाग्नेछौं, लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरु पुरानै शैलीमै निर्माण गरेर हाम्रो पुरातात्विक महत्वलाई जीवन्त राख्न ध्यान दिन्छौं,' प्रमुख महर्जनले भने । 

उहाँले महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार र आर्थिक संकलनमा महत्वपूर्ण काम हुनेमा विश्वास व्यक्त गरे। महायज्ञ सम्पन्न भएपछि मन्दिर र धाम निर्माण सुरु हुने भन्दै उनले ऐतिहासिक सम्पदा निर्माण पैसाको अभाव हुन नदिने प्रतिबद्धता जनाए । 

बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले आध्यात्मिक साधनाका लागि नेपाल सर्वोच्च स्थल विश्वले सम्मान गर्ने स्थान हो भन्दै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिका लागि मार्गदर्शन गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिए ।

सुनाकोठीको भृङ्गारेश्वर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रिय रुपमा विकास गराउनुपर्छ भन्दै उनले यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई केलाएर अगाडि बढ्नुपर्ने बताए । 

वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझ बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने बताए । 

भृङ्गारेश्वर सुधार तथा बुद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले दिनुभएको जानकारी अनुसार महायज्ञ अवधिभर विहान ५:३० बजेदेखि एक घण्टा योगसाधना, ६:३० बजेदेखि एकघण्टा मण्डप पूजन र ७:३० बजेदेखि तीन घण्टा श्रीमद्भागवत तथा गीता पाठपारायण हुनेछ ।

प्राचीनकालमा निर्मित भृङ्गारेश्वर मन्दिर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । प्राचीनकालमा निर्माण भएको मन्दिरलाई महानगरपालिकाको सहयोगमा पुरानो शैलीमा पुनः निर्माणको लागि डिपिआर प्रक्रिया अघि बढेको छ ।

ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलाई पहिलेकै स्वरुपमा पुनःनिर्माण गरेर मन्दिर परिसरमा रहेका अन्य मन्दिरलाई थप व्यवस्थित बनाउनुपर्ने समितिका उपाध्यक्ष  वेली डंगोलले बताए । 

उहाँका अनुसार भृङ्गारेश्वर महादेवको मन्दिर परिसरमा बालकुमारी त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, गणेश मन्दिर र भृङ्गारेश्वर महादेवको भजन गर्ने धर्मशालालगायतका ऐतिहासिक सम्पदा छन् । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप