बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'अध्यादेशमा ओलीलाई देउवाको ब्रेक' देखि 'रविका लागि प्रदर्शन र छविको बयान' सम्म

बुधबार, ०७ कात्तिक २०८१, ०० : ००
बुधबार, ०७ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. सरकारको १०० दिन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । त्यसका लागि पत्रकार सम्मेलन गर्ने कि सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीले सरकारको एक सय दिन पुगेको अवसरमा सरकारले गरेका कामकारबाहीबारे बुधबार सार्वजनिक गर्न लागेका हुन् ।


२. सहकारी ठगी प्रकरण
 सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान लिइएको छ । पोखराबाट बयानकै लागि रुपन्देही ल्याइएका उनीसँग मंगलबार झन्डै ८ घण्टासम्म बयान लिइएको हो ।

 

३. धनराजले भने : सहकारी ठगी म संलग्न छैन 
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् । 


४. सभामुखको सक्रियता
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा रहेका १० वटा विषयगत समितिहरूको बैठक बस्न नसकेपछि चासो राखेका छन् । मंगलबार सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, विभिन्न दलका प्रमुख सचेतकका साथै संसदीय समितिका सभापतिहरूसहितको बैठक राखे । सो बैठकमा उनले सभापतिहरूको गुनासो सुन्ने काम गर्नुका साथै समितिको बैठक सञ्चालनका लागि विभिन्न उपायहरूको खोजी पनि गरे ।


५. कार्की प्रतिवेदन
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको विकृति सम्बन्धी प्रतिवेदन फुलकोर्टमा छलफल गराउने भएका छन् । यसका लागि मंगलबार फुलकोर्टमा पूर्वप्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको न्यायालयको विकृति सम्बन्धी प्रतिवेदनमा छलफल गर्न उनले बैठक बोलाएका छन् । 


६. कात्तिकमा ५ फिल्म
 नेपाली बक्सअफिस असोज महिनामा हराभरा रह्यो । ७ फिल्म रिलिज भएको असोजमा ५ फिल्म बक्सअफिस तताउन सफल भए । असोजमा फिल्म ‘सानो संसार’, ‘खुस्मा’, ‘आँखा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले बक्सअफिस  चलायमान बनाए ।

७. बाटो भुलेको रास्वपा
 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला सडकमा उत्रिएको छ । २०७९ को निर्वाचनपछि छोटो समयका लागि भए पनि दुई पटक सत्तामा पुगेको यो पार्टी एकाएक सडकमा पुगेको भने होइन । सहकारी ठगीका बारेमा रास्वपाका सभापति रवि लामिछानेमाथि लामो समयदेखि आरोप लाग्दै आएको थियो ।

यसबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले उनी सहकारी ठगीमा प्रत्यक्ष संलग्न नदेखिए पनि सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने भूमिकामा संलग्न रहेको ठहरसहित कारबाहीका लागि सिफारिस गरेको थियो ।

८. उपचारमा लापरबाही 

उपचारका लागि भर्ना भएको बिरामीको चिकित्सकीय लापर्बाहीका कारण मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् । काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले अस्पतालविरुद्ध मुद्दा दायर गरेका हुन् ।

९. बमको हल्ला
दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ । भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो फेला परेन, एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैछौँ ।’


१०. विधान अधिवेशन
बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् । 


११. स्पष्टीकरण
 नेकपा एमालेले पार्टीका तीन नेतालाई स्पष्टीकरण ७ दिने स्पष्टीकरण सोधेको छ । एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो । 


१२. सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धार हुने
प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन् । रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप