बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०६ कात्तिक २०८१, २२ : ००
मङ्गलबार, ०६ कात्तिक २०८१

आज २०८१ कार्तिक ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

  • सरकारको १०० दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । त्यसका लागि पत्रकार सम्मेलन गर्ने कि सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीले सरकारको एक सय दिन पुगेको अवसरमा सरकारले गरेका कामकारबाहीबारे बुधबार सार्वजनिक गर्न लागेका हुन् ।

  • सहकारी ठगी प्रकरण

 सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान लिइएको छ । पोखराबाट बयानकै लागि रुपन्देही ल्याइएका उनीसँग मंगलबार झन्डै ८ घण्टासम्म बयान लिइएको हो ।

  • सभामुखको सक्रियता

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा रहेका १० वटा विषयगत समितिहरूको बैठक बस्न नसकेपछि चासो राखेका छन् । मंगलबार सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, विभिन्न दलका प्रमुख सचेतकका साथै संसदीय समितिका सभापतिहरूसहितको बैठक राखे । सो बैठकमा उनले सभापतिहरूको गुनासो सुन्ने काम गर्नुका साथै समितिको बैठक सञ्चालनका लागि विभिन्न उपायहरूको खोजी पनि गरे ।

  • कार्की प्रतिवेदन

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको विकृति सम्बन्धी प्रतिवेदन फुलकोर्टमा छलफल गराउने भएका छन् । यसका लागि मंगलबार फुलकोर्टमा पूर्वप्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको न्यायालयको विकृति सम्बन्धी प्रतिवेदनमा छलफल गर्न उनले बैठक बोलाएका छन् । 

  • कात्तिकमा ५ फिल्म

 नेपाली बक्सअफिस असोज महिनामा हराभरा रह्यो । ७ फिल्म रिलिज भएको असोजमा ५ फिल्म बक्सअफिस तताउन सफल भए । असोजमा फिल्म ‘सानो संसार’, ‘खुस्मा’, ‘आँखा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले बक्सअफिस  चलायमान बनाए ।

  • बाटो भुलेको रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला सडकमा उत्रिएको छ । २०७९ को निर्वाचनपछि छोटो समयका लागि भए पनि दुई पटक सत्तामा पुगेको यो पार्टी एकाएक सडकमा पुगेको भने होइन । सहकारी ठगीका बारेमा रास्वपाका सभापति रवि लामिछानेमाथि लामो समयदेखि आरोप लाग्दै आएको थियो । यसबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले उनी सहकारी ठगीमा प्रत्यक्ष संलग्न नदेखिए पनि सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने भूमिकामा संलग्न रहेको ठहरसहित कारबाहीका लागि सिफारिस गरेको थियो ।

  • उपचारमा लापर्बाही

उपचारका लागि भर्ना भएको बिरामीको चिकित्सकीय लापर्बाहीका कारण मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् । काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले अस्पतालविरुद्ध मुद्दा दायर गरेका हुन् ।

  • बमको हल्ला

दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ । भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो फेला परेन, एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैछौँ ।’

  • विधान अधिवेशन

बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् । 

  • स्पष्टीकरण

 नेकपा एमालेले पार्टीका तीन नेतालाई स्पष्टीकरण ७ दिने स्पष्टीकरण सोधेको छ । एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप