सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी रकम हिनामिना प्रकरण

पूर्वडीआईजी छविलाल जोशीसँग झन्डै ८ घण्टा बयान

आफूमाथिको आरोप अस्वीकार, अरूको विषयमा मौन
मङ्गलबार, ०६ कात्तिक २०८१, २० : २५
मङ्गलबार, ०६ कात्तिक २०८१

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान लिइएको छ । पोखराबाट बयानकै लागि रुपन्देही ल्याइएका उनीसँग मंगलबार झन्डै ८ घण्टासम्म बयान लिइएको हो ।

बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म बयानका क्रममा जोशीसँग विभिन्न ५७  प्रश्न सोधिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जोशीको बयान सकिएकाले अब कास्कीमै फिर्ता पठाउने रातोपाटीलाई बताए । ‘हामीले लिनुपर्ने बयान अहिले सकिएको छ,’ उनले भने, ‘अब प्रहरीले थप अनुसन्धान गर्न सक्छ ।’  सोमबार पनि उनको बयान भएको थियो । 

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको हिनामिनामा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले उनलाई सोमबार नै बुद्ध एयरको विमानमार्फत भैरहवा ल्याएको थियो ।

उनलाई मंगलबार राति जिल्ला प्रहरी कार्यालयमै राखिने र बुधबार विमानबाटै पोखरा पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले रातोपाटीलाई बताए ।

गोर्खा मिडिया नेटवर्कमा जीबी राई र रवि लामिछानेसँगै जोशी पनि साझेदार थिए । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन् । सुप्रिम सहकारीको रकम हिनामिनासम्बन्धी पूरक अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई पोखराबाट भैरहवामा ल्याइएको हो ।

जोशी गत असोज ६ गते पक्राउ परेका हुन् । उनी पोखरामा प्रहरी हिरासतमा थिए । उनलाई अदालतले कार्तिक ८ गतेसम्म अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

बयानमा के भने जोशीले ?

जिल्ला सरकारी वकिल कार्यालयले पूर्वडीआईजी जोशीसँग लामो बयान लिएको छ । उनीसँग ५७ वटा प्रश्न गरिएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

पोखराको सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ ।

त्योमध्ये २ करोड गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल जोशीका नाममा देखिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सोही सम्बन्धमा जोशीसँग बयान लिइएको हो । तर जोशीले सहकारी रकम लिएर टिभी चलाउने विषयमा आफ्नो योजना नभएको जिकिर गरेको स्रोत बताउँछ । उनी पूर्वगृहमन्त्री रवि लामिछाने र जीबी राईको विषयमा मौन बसेका छन् । स्रोत भन्छ, ‘आफूमाथि लागेको आरोपमा इन्कार गर्नुका साथै उनले अरूलाई आरोप लगाउने काम पनि गरेनन् ।’

रकम हिनामिना गर्ने मुख्य योजना कसको भन्ने प्रश्नमा समेत उनले आफ्नो त्यस्तो योजना नरहेको जिकिर गरेका थिए । हिनामिनाका मुख्य योजनाकारका विषयमा पनि उनले केही बताएनन् ।

न्यायाधिवक्ता प्रेमराज पौडेलसहित इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीले जोशीको बयान लिएका थिए ।

सुप्रिम सहकारीको ९३ करोड रकम हिनामिना भएको भन्दै २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उक्त मुद्दामा आरोपित ८ जना पक्राउ परेका छन् । जसमा अध्यक्ष ओम प्रकाश गुरुङ जिल्ला कारागार रुपन्देहीमा छन् । दीपेश पुन सहितका ७ जना धरौटीमा रिहा भएका छन् । जीबी राईसहित बाँकी आरोपित अझै फरार छन् ।

अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई कास्कीबाट अब केही दिनमै रुपन्देही ल्याउने योजनामा प्रहरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप