बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समीक्षा

ओली सरकारको सय दिन : कर्मचारीतन्त्रले गर्ने काममै अलमलिएकी शिक्षामन्त्री भट्टराई

मङ्गलबार, ०६ कात्तिक २०८१, २० : १५
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेकी छन् । २०८१ असार ३१ गते पदभार ग्रहण गरेकी मन्त्री भट्टराईले त्यो अवधिमा विभिन्न काम गरेको दाबी गरेकी छन् ।

प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौता अनुसारका ८ वटा र अन्य २५ वटा गरेर यो अवधिमा ३३ मुख्य काम गरेको मन्त्री भट्टराईको प्रगति विवरणमा उल्लेख छ ।

तर सरोकारवाला भने मन्त्री भट्टराईको १०० दिन उत्साहजनक नदेखिएको बताउँछन् । कर्मचारीतन्त्रले गर्ने कामलाई शिक्षामन्त्रीले आफ्नो कार्य प्रगतिको रूपमा प्रस्तुत गर्नु उत्साहजनक नभएको उनीहरूको बुझाइ छ ।

शिक्षाविद् डा. विष्णु कार्कीले कर्मचारीतन्त्रले गर्ने कामलाई मन्त्रीले आफूले गरेको भनेर देखाउनु दुःखद् रहेको बताए । ‘ब्यूरोक्रेसीले चलाउने कार्यक्रम नै उहाँले गर्दै आउनुभयो । ब्यूरोक्रेसीले चलाउने कार्यक्रम मन्त्रीले मेरो १०० दिनमा भयो भनेर लेख्ने हो भने त मन्त्री नहुँदा पनि हुने नै रहेछ नि,’ उनले भने ।

बाहिर बसेर हेर्ने मान्छेहरूले मन्त्रीले गर्ने २÷३ वटा कामलाई हेरेर मूल्याङ्कन गर्ने कार्की बताउँछन् । ‘नयाँ मन्त्री आएपछि नयाँनयाँ सोच तथा विचारका साथ आउँछन् भन्ने हुन्छ । त्यो कति आयो भनेर हेर्छौं,’ उनले भने, ‘अहिले भइरहेका कार्यक्रमहरू कसरी चलिरहेका छन् ? पालिकास्तरमा कसरी गइरहेका छन् भनेर हेर्छौं ।’  

तेस्रोमा सरुवा, बढुवा जस्ता कुरामा मन्त्रीहरू कति रुमल्लिए भन्ने कुरालाई समेत हेर्ने गरेको उनको भनाइ छ । ‘कति समयका लागि आएको हो भन्ने कुरा स्वयं मन्त्रीलाई थाहा हुँदैन तर, सरुवा बढुवातिर लाग्ने गर्छन् । हामीले त्यो कत्तिको भयो भनेर हेर्छौं,’ उनले भने ।  

तीन वटा विषय हेर्दा शिक्षा मन्त्रालयमा सुधारमा केही नयाँ पहल नभएको कार्कीको भनाइ छ । योभन्दा अगाडिका मन्त्रीहरू आउँदा केही नयाँ काम अघि सार्ने गरेको बताउँदै उनले अहिलेको मन्त्रीबाट केही नयाँ काम नआएको बताए ।

अघिल्लो मन्त्री सुमना श्रेष्ठले नयाँ कुरा गर्ने आँट गर्दा त्यसले तरङ्ग नै ल्याएको कार्कीको भनाइ थियो । तत्कालीन मन्त्री श्रेष्ठले शिक्षक सरुवाको विषय उठाएपछि त्यसले तरङ्ग नै ल्याएको उनले बताए । ‘त्यो कत्तिको पूरा भयो वा भएन भन्ने अर्को पाटो होला तर, तरङ्ग भने ल्याएको थियो,’ उनले भने ।

अहिलेका मन्त्रीले १०० दिनभित्र मैले आँट गरेर त्यस्तो काम गर्छु भनेर केही प्रयास गरेको जस्तो नलागेको कार्की बताउँछन् । बाहिर बसेका कोही पनि उत्साहित हुने अवस्था नरहेको उनको भनाइ छ ।

कार्कीका अनुसार अहिलेको ठुलो चुनौती भनेको शिक्षक व्यवस्थापनको विषय हो । त्यसमा मन्त्री भट्टराई छिर्नै नचाहेको उनले बताए । ‘उहाँकै शिक्षक नेताहरू बढी थिए, जसले गर्दा उहाँले भ्याउने विषय पनि होइन,’ कार्कीले भने ।

प्राविधिक तथा व्यावसायिक धारलाई व्यवस्थापन गर्नुपर्ने प्रमुख विषय रहे पनि खास काम हुन नसकेको कार्कीको भनाइ छ । ‘यो विषय एकदमै छरपस्ट छ । सीटीईभीटीको उपाध्यक्ष पद अहिले पनि खाली छ । त्यसको व्यवस्थापन एकदमै जरूरी छ । त्यो गर्न सक्नु भएन । पहिलो नम्बरमा त्यसको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो,’ उनले भने ।

शिक्षा मन्त्रीलाई बारम्बार प्रश्न उठ्ने अर्को विषय भनेको विद्यालय शिक्षा ऐन हो । उक्त ऐनको मस्यौदा संसदको शिक्षा समितिमा छलफलमा छ । तर, मन्त्री भट्टराईले त्यसमा गम्भीर पहल नगरेको कार्की बताउँछन् ।

‘संघीय शिक्षा ऐन खै ? यो सबैभन्दा महत्त्वपूर्ण विषय हो । ऐनका कारण शिक्षाका कतिपय कार्यक्रम रोकिएको अवस्थामा ऐन ल्याउनका लागि तदारुकता देखाउनुभएन । यो विषयलाई उहाँले प्राथमिकतामा नराख्नुभएको हो भन्ने मैले बुझेँ,’ उनले भने ।  

शिक्षाविद् कार्कीले अहिले धेरै उत्साहित हुने अवस्था नरहेको बताए । ‘मन्त्री भट्टराई ज्यादै सरल हुनुहुन्छ । तर, शिक्षामा केही गर्छु भन्ने व्यक्ति चाहिएको हो,’ उनले भने, ‘शिक्षा क्षेत्र ज्यादै राजनीतिकरण भएकाले यसमा सरलभन्दा पनि काम गर्न सक्ने खालको नेतृत्व चाहिएको हो । त्यो सरलताले गर्दा पनि उहाँले गर्न नसक्नु भएको हो कि !’

मन्त्री भट्टराईले हालै २१८ जना कर्मचारीको सरुवा गरेको विषयलाई पनि कार्कीले रुचाएका छैनन् । ‘हरेक मन्त्रीलाई आउने बित्तिकै सरुवाबढुवा गरिहाल्नुपर्ने ? सानो स्तरका कर्मचारीलाई समेत सरुवाबढुवातिर किन लैजानुपर्ने ? यो हामीलाई सधैँ खट्किरहने विषय हो,’ उनले भने ।  

केही समयपछि सबै दातृ संस्थाको उपस्थितिमा नेपालमा सम्मेलन हुँदैछ । सम्मेलनको पूर्वसन्ध्यामा कर्मचारीहरूको सरुवा गरिएको भन्दै उनले आलोचना गरे । उनले भने, ‘त्यो कार्यक्रम सकिएपछि सरुवा गरेको भए केही पनि बिग्रिँदैन थियो होला । अहिले एक महिना अगाडि सरुवा गर्नुपर्ने अवस्था नै थिएन ।’

यसमा शिक्षाको विकासभन्दा पनि राजनीति बढी हाबी भयो कि भन्ने लागेको कार्कीले बताए । ‘नराम्रो भनेर एकदमै खराब पनि भएको छैन । राम्रो भनेर धेरै राम्रो काम पनि भएको छैन,’ उनले भने, ‘राजनीतिकरण अलि बढी हाबी भयो भन्ने हो । त्यसैले धेरै राम्रो रेटिङ गर्न सकिनँ,’ उनले भने ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले अहिले सुधारका प्रयास भइरहेको तर, प्राथमिकताका आधारमा मन्त्रीले काम गर्न नसकेको बताए ।

‘प्राथमिकतामा राखेर काम गर्न सक्नुभएको देखिएन । शिक्षामा के–के काम गर्ने भनेर प्राथमिकताका आधारमा जानुपर्नेमा त्यो देखिएन,’ मोक्तानले भने ।

सबै सरोकारवालापक्षसँग छलफल तथा सहकार्य गर्दै आएको विषयले भने राम्रै सन्देश दिइरहेको उनको भनाइ छ । विगतका मन्त्रीहरू एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको तर, अहिलेको मन्त्री भने कुनै पनि विषयमा सबैसँग छलफल तथा सहकार्य गर्नेखालको भएको उनले बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले १०० दिनको अवधिमा एकदम चमत्कारपूर्ण ढंगबाट राम्रो भएको भन्ने नदेखिएको बताए । अहिले गरिरहेका कामले बिस्तारै परिणाम आउन सक्ने भए पनि तत्कालको अवस्थामा सूचकाङ्क नै देखाउनेगरी काम नभएको उनको भनाइ छ ।

संसदमा रहँदा विद्यालय शिक्षा विधेयकबारे गम्भीर भएर लागेकी शिक्षामन्त्री भट्टराईले अहिले भने त्यसमा त्यति ध्यान दिन नसकेको भण्डारीले बताए ।

‘उहाँ लामो समय शिक्षा समितिमै हुनुहुन्थ्यो । त्यो बेला गम्भीर रूपमा छलफलमा सक्रिय हुनुहुन्थ्यो । तर, अहिले त्यस्तो देखिएको छैन । हुन त यो शिक्षा समितिको विषय हो । तर पनि सरकारको तर्फबाट लिनुपर्ने पहलकदमी देखिएन,’ उनले भने ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) का अध्यक्ष राजेन्द्र पहाडीले नविन सोचका साथ कामको थालनी भइरहेको बताए । अहिले १०० दिनमै कामको मूल्याङ्कन गर्न नसकिने प्रस्ट पार्दै उनले भने, ‘अहिले केही नयाँ गर्न खोजिराख्नु भएको छ । नविन सोचका साथ त्यसको सुरुवात गर्नुभएको छ । त्यो राम्रो हो । तर, अहिलेकै अवस्थामा मूल्याङ्कन गर्न सकिने अवस्था छैन ।’

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाको सरोकारलाई समावेश गर्दै ऐतिहासिक दस्ताबेजको रूपमा आउनेमा उनले विश्वास व्यक्त गरे । त्यसका लागि मन्त्री भट्टराई थप सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

शिक्षामा तमाम सवालहरूलाई योजनाबद्ध ढंगबाट अगाडि बढाउनुपर्ने पहाडीले बताए । विगतका मन्त्रीले गर्दै आएका कामलाई निरन्तरता दिन सकियो भने त्यसले चाँडो काम गर्न सकिने उनले प्रस्ट पारे । उनले भने, ‘नयाँ मन्त्री आउने बित्तिकै पुराना मन्त्रीले गरेका काम बन्द गर्ने । अर्को ढंगबाट अगाडि बढाउन खोज्ने देखिएको छ । विगतमा भएका राम्रा अभ्यासलाई अनुसरण गर्न सकियो भने राम्रो हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप