मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्मृति कप क्रिकेट : सेमिफाइनल पुग्ने तीनवटा टोलीको टुंगो लाग्यो

मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : २४
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको चौथो दिन सम्पन्न दुई खेलमा नेपालको क्लब नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएका छन् ।

नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई र लाइफ केयरले श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई हराए । पहिलो खेलमा नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई सात विकेटले पराजित गर्‍यो ।

साइक क्रिकेटर्सले दिएको एक सय २१ रनको लक्ष्य नेक्सस रुपन्देहीले १७.३ ओभरमा केवल तीन विकेट गुमाएर पुरा गर्‍यो । नेक्सस रुपन्देहीका ओपनर शंकर रानाले सर्वाधिक ३७ रन बनाए । अर्का ओपनर मृनाल गरुङले २६ रन बटुले । आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र बसिर अहमदले १५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको साइक क्रिकेटर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाएको थियो । साइकका लागि मोहम्मद उमरले सर्वाधिक ३६ र साद मोशरफले २९ रन बनाएका थिए ।

नेक्सस रुपन्देहीका बलर बसिर अहमदले सर्वाधिक चार विकेट लिए । प्लेयर अफ दि म्याच घोषित उनले चार ओभरमा केवल १० रन खर्चिए । दिपेश कंडेल र शाहब आलमले पनि दुई–दुई तथा कृष्ण कार्कीले एक विकेट लिए ।

दोस्रो खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई एक सय १४ रनको विशाल अन्तरले हरायो । लाइफ केयर क्रिकेट क्लबको यो लगातार तेस्रो जित हो ।

लाइफ केयरले दिएको दुई सय ३७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाली टोलीले २० ओभरमा आठ विकेट गुमाएर एक सय २२ रनमात्र बनाउन सक्यो । श्रीलंकाली टोलीका लागि बिनोदले सर्वाधिक २३, थुसारा लक्षितागले २१, राज वीरले १८ र नानी वासुपालीले १८ रन बनाए ।

भारतीय क्लब लाइफ केयरका बलर क्षितिज त्रिपाठीले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । रोहित दांगवालले पनि दुई विकेट हात पारे । योगेश कुमार र दिपक पुनियाले पनि एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लाइफ केयरले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । लाइफ केयरका लागि ओपनर दिपक पुनियाले सर्वाधिक ६६ रन बनाएका थिए । क्रममा प्लेयर अफ दि म्याच घोषित उनले ३५ बलमा चार छक्का र ६ चौका प्रहार गरे ।

यसैगरी, राजेश शर्माले २८ बलमा चार छक्का र ६ चौकाको मद्दतले ६१ रन बनाए । जस्मित नैनले अविजित ३३, एकांश डोबलले २८ र दिपांशु फोरेले २३ रनको योगदान गरे । श्रीलंकाली टोलीका बलर रवि किरण र इन्दुमल प्रसादले दुई–दुई विकेट लिए । 

प्रतियोगिताको सेमीफाइनल पुग्ने तीनवटा टोलीको टुंगो पनि लागेको छ । लाइफ केयर क्रिकेट क्लब, नेक्सस रुपन्देही–११ र साइक क्रिकेटर्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । जावेद गोहर र श्रीलंका स्टेट सर्भिसेज टिमबिच बुधबार हुने खेलपछि विजयी हुने टोली सेमीफाइनल पुग्नेछ ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिता लिग कम नक आउट प्रणालीका आधारमा सञ्चालन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप