मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

हङ्कङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली

मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : १९
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । आगामी नोभेम्बरमा हङकङमा आयोजना हुने ‘हङ्कङ क्रिकेट सिक्सेस’ प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो टोलीको घोषणा गरेको छ । प्रतियोगिता नोभेम्बर १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि क्यानद्वारा घोषित सात सदस्यीय टोलीमा कप्तानको जिम्मेबारी सन्दीप जोराले पाएका छन् । टोलीमा लोकेश बम, नारायण जोशी, विवेक यादब, प्रतिश जीसी, दीपेन्द्र रावत र राशिद खानलाई समावेश गरिएको छ । नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

विश्व क्रिकेटमा सात वर्षपछि फेरि ‘हङ्कङ सुपर सिक्स’ आयोजना गर्न लागिएको हो । यो ढाँचाको क्रिकेटमा एउटा टोलीले पाँच ओभरमात्र ब्याटिङ गर्न पाउँछ । यसपटक ‘हङ्कङ सुपर सिक्स’ मा १२ वटा टोलीको सहभागिता रहने छ ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । उक्त समूहमा अस्ट्रेलिया र इङ्ल्यान्ड छन् । यो ढाँचाको प्रतियोगितामा प्रत्येक टोलीबाट केवल ६ जना खेलाडी मैदानमा ओर्लन पाउँछन् । यो ढाँचाको प्रतियोगितामा फाइनलअघि बलरहरुले प्रत्येक ओभरमा ६ बल नै फाल्नेछन् ।

तर, फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । यो ढाँचाको क्रिकेटमा विकेटकिपरलाई छाडेर अन्य सबै खेलाडीले एक–एक ओभर बलिङ गर्न पाउने छन् । यदि बलरले वाइड वा नो बल फालेमा विपक्षी टोलीले एक रनको सट्टा अतिरिक्त रूपमा दुई रन पाउने छ । 

यसैगरी, पाँच ओभर पुरा हुनुअघि नै कुनै टोलीको पाँच खेलाडी आउट भए भने क्रिजमा रहेका अन्तिम ब्याट्सम्यान एक्लैले पनि ब्याटिङ गर्न पाउने छन् । यस्तो स्थितिमा पाँचौँ नम्बरमा आउट हुने ब्याट्सम्यानले ‘रनर’ को भूमिका निर्वाह गर्नेछन् ।

खेलका क्रममा यदि कुनै ब्याट्सम्यानले ३१ रन बनाएमा उक्त ब्याट्सम्यान स्वतः रिटायर्ड भएर मैदानबाट बाहिरिने छ । यदि त्यो टोलीका सबै ब्याट्सम्यान आउट भएको अवस्थामा भने ३१ रन बनाएर रिटायर्ड भएको ब्याट्सम्यानले पुनः ब्याटिङ गर्न पाउने छ ।

‘हङ्कङ सुपर सिक्स’ को अघिल्लो संस्करण सन् २०१७ मा आयोजना भएको थियो । यसपटक भने प्रतियोगितालाई ‘हङ्कङ क्रिकेट सिक्सेस’ को नामबाट निरन्तरता दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप