बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश रक्षात्मक स्थितिमा

मङ्गलबार, ०६ कात्तिक २०८१, १६ : ३९
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन मंगलबार घरेलु टोली बङ्गलादेश रक्षात्मक स्थितिमा देखिएको छ । दोस्रो दिनको खेल सकिँदासम्म बङ्गलादेशी टोली सम्भावित पराजय टार्न संघर्षरत छ ।

दोस्रो दिनको खेल सकिँदासम्म बंगलादेशले आफ्नो दोस्रो पालीमा तीन विकेट गुमाएर एक सय एक रन बनाएको छ । दक्षिण अफ्रिकाले पहिलो पालीमा बनाएभन्दा बङ्गलादेशी टोली अझै एक सय एक रनले पछाडि रहेको छ ।

दोस्रो पालीमा पनि बङ्गलादेशी ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक देखिएन । ओपनर ब्याट्सम्यान महमदुल हसन जोय अविजित ३८ र मुसफिकर रहिम अविजित ३१ रन बनाउँदै क्रिजमा छन् । अर्का ओपनर सादमन इस्लाम भने एक रनमै पेभेलियन फर्किएका थिए ।

बंगलादेशले लगातार आफ्नो दुई विकेट गुमाएको थियो । सादमनलगत्तै मोमिनुल हक पनि शून्य रनमै आउट भएका थिए । कप्तान नजमुल होसैन सान्तो पनि २३ रनभन्दा अगाडि बढ्न सकेनन् । दक्षिण अफ्रिकाका बलर कागिसो राबडाले दुई र केशव महाराजले एक विकेट लिए ।

त्यसअघि, पहिलो पालीमा भ्रमणकारी टोली दक्षिण अफ्रिकाले दुई सय दुई रनको अग्रता हासिल गरेको छ । मिरपुरमा जारी पहिलो टेस्टको दोस्रो दिन मंगलबार नै दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा तीन सय आठ रन बनाउँदै अलआउट भएको थियो ।

पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि तल्लो क्रमका ब्याट्सम्यान काइल भेरेनले सतकीय र विआन मुल्डरले अर्धसतकीय पाली खेलेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा विकेटकिपर ब्याट्सम्यान काइल भेरेनले एक सय १४ रन बनाएका थिए ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ४४ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काएका थिए । उनी पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि छक्का प्रहार गर्ने एकमात्र खेलाडी पनि बनेका थिए । २७ वर्षीय काइल भेरेनले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो शतक हो ।

यसैगरी, विआन मुल्डरले पनि टोलीको खातामा ५४ रन थपेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले धेर्यतापूर्वक ब्याटिङ गर्दै एक सय १२ बलमा आठ चौका हिर्काएका थिए । २६ वर्षीय विआन मुल्डरले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो अर्धसतक हो ।

दक्षिण अफ्रिकाले केवल एक सय आठ रनको कुल स्कोरमा आफ्नो छैटौँ विकेट गुमाएको थियो । त्यसपछि काइल भेरेन र विआन मुल्डरले नै टोलीको स्कोरलाई दुई सय २७ रनको स्थितिसम्म डो¥याएका थिए । दशौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका डेन पिएडले पनि ३२ रनको योगदान गरेका थिए । उनले ८७ बलको सामना गरी दुई चौका पनि हिर्काएका थिए ।

दक्षिण अफ्रिकाले पनि पालीको सुरुवात भने निराशाजनक रुपमै गरेको थियो । दक्षिण अफ्रिकाका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एडेन मारक्रम ६ रनमा आउट भएका थिए भने अर्का ओपनर टोनी जर्जीले ३० रन बनाएका थिए । ट्रिस्टन स्टब्सले पनि टोलीको खातामा २३ रन थपेका थिए । डेभिड बेडिङ्घम ११ र रायन रिकेल्टन २७ रनमा पेभेलियन फर्किएका थिए ।

बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिएका थिए । उनले ३६ ओभरमा तीन मेडन राख्दै एक सय २२ रन खर्चिए । हसन महमुदले पनि तीन विकेट हात पारेका थिए । मेहदी हसन मिराजले पनि दुई विकेट लिएका थिए ।

त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको बङ्गलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भएको थियो । बङ्गलादेशी ब्याट्सम्यानहरु पनि निरीह बनेका थिए । बङ्गलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सकेको थियो ।

घरेलु टोलीका ओपनर ब्याट्सम्यान महमदुल हसन जोय ३० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेका थिएनन् । मोमिनुल हक चार रनमै पेभेलियन फर्किएका थिए भने कप्तान नजमुल होसैन सान्तो पनि सात रनमै आउट भएका थिए ।

मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पेभेलियन फर्किएका थिए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरेका थिए । जकेर अली पनि दुई रनमै आउट भएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुलेका थिए । हसन महमुद चार रनमा अविजित रहेका थिए । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिएका थिए ।

पहिलो दिन कागिसो राबडाले एउटा गजबको कीर्तिमान पनि बनाएका थिए । २९ वर्षीय यी तिब्रगतिका बलर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बल फालेर तीन सय विकेट पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका थिए । कागिसो राबडाले पाकिस्तानका पूर्वबलर वकार युनिसको कीर्तिमान तोडेका हुन् ।

राबडाले ११ हजार आठ सय १७ बलमा तीन सय विकेटको कोशेढुंगा पुरा गरेका थिए । यसअघि यो कीर्तिमान वकार युनिसको नाममा थियो । वकार युनिसले १२ हजार ६ सय दुई बलमा तीन सय विकेट पुरा गरेका थिए ।

यो सूचिमा तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाकै पूर्वबलर डेल स्टेनले १२ हजार ६ सय पाँच बलमा तीन सय विकेट लिएका थिए । यो सूचिमा चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाकै एलन डोनाल्डले भने १३ हजार ६ सय ७२ बलमा यस्तो उपलब्धि हासिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप