मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

लोकतन्त्रविरोधी रास्वपा हर्कत

मङ्गलबार, ०६ कात्तिक २०८१, १६ : ३६
मङ्गलबार, ०६ कात्तिक २०८१

नयाँ शक्तिका नाममा उदाएका राजनीतिक दलले लगाउने पहिलो नारा भनेकै सुशासन र राष्ट्रियताको हो । विगततिर फर्केर हेर्ने हो भने हामीकहाँ मात्रै होइन, विदेशतिर पनि यस्ता तमाम राजनीतिक दलहरू आएका थिए र छन्, जसले सुरुमा जोडजोडले सुशासनका नारा लगाए । अनि कति क्रमशः सकिए वा कति कतै मिल्न गए । 

हाम्रो देशको हकमा— पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले नयाँशक्ति नामको पार्टी खोल्दा सुशासनकै नारा लगाएका थिए । आज उनको पार्टी अस्तित्वको खोजीमा छ । 

पछिल्लो समय उदाएको रास्वपाले पनि सुशासनको नारा निकै जोडले लगाएको थियो । जसका कारण ०७९ को चुनावमा जनताले केही भोट दिए । पछिल्लो अवस्थासम्म आउँदा उक्त पार्टीका सभापति लगायत नेता विभिन्न मुद्दामा मुछिएका छन् । सभापति लामिछाने त सहकारी ठगी, किर्ते र संगठित अपराध कसुरमा पक्राउ परिसकेका छन् । उनीमाथि के कस्ता कानुन आकर्षित हुन्छन्, कसरी मुद्दा अघि बढ्छ ? जस्ता सवाल अदालती र अनुसन्धानको विषय बनिसकेका छन् । अतः उनको गिरफ्तारीको बाँकी कहानी सम्मानित अदालतले नै छिनोफानो गर्ला । 

उनै रविको गिरफ्तारीसँग जोडेर जुन सडक प्रदर्शन भइरहेको छ, यसका बारेमा केही मन्थन गर्न आवश्यक छ । 

  • विगत हेरौँ 

मुलुकलाई नयाँ दिशा दिने र आफूलाई वैकल्पिक नयाँ शक्ति ठान्ने रास्वपाजनहरू यतिबेला फौजदारी अभियोगमा पक्राउ परेका सभापतिको रिहाइका निम्ति आन्दोलित छन्, जो लज्जाको विषय हो । लोकतन्त्रमा आन्दोलन गर्न पाइन्छ, तर मुद्दालाई निरपेक्ष ढंगले हेर्नुहुँदैन । मुद्दा के हो ? कुन मुद्दामा नाराबाजी गर्ने ? कुन विषयलाई लिएर सडक जाम गर्ने ? भन्ने ख्याल गर्नुपर्छ । कानुनलाई सर्वोपरी ठान्ने भन्नेहरू अदालती प्रक्रियालाई स्वीकार र विश्वास समेत नगर्नेमा कसरी पुगे ? यो गम्भीर सवाल हो । 

रास्वपाका सभापतिका उत्तेजित अभिव्यक्ति सुन्दा र कार्यकर्ताका पछिल्ला गतिविधि हेर्दा रास्वपा नक्कली र हावादारी झुन्डहरूको कुण्ड रहेछ भन्ने देखिन्छ । उनीहरू कानुनी राजको कुरा गरेर कानुनकै हुर्मत लिने हर्कतमा देखिएपछि यी संगीन शंकाहरू जन्मिनु स्वाभाविकै हो ।  

एमालेका तत्कालीन पार्टी सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्दाबित्तिकै पार्टीले सचिव पदबाट निलम्बन गरेर राजनीतिक नैतिकता देखाएको थियो । जो घटनालाई स्मरण गर्न रास्वपाजनलाई आग्रह छ ।

सहकारी ठगी, किर्ते र संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्नै नपाइने जसरी सडकमा नग्न रूपमा प्रकट हुनु स्वयं रास्वपा पार्टीको वर्तमान र भविष्यका निम्ति लाभदायी विषय होइन । फौजदारी अभियोग लागेका व्यक्तिमाथि छानबिन गर्ने काममा साथ, सहयोग र समर्थन गर्नुको साटो देशभरिबाट पार्टीका समर्थक, नेता–कार्यकर्तालाई पोखरामा उत्रिन र सरकार ढाल्ने गरी आन्दोलन गर्न निर्देशन दिनु भनेको कानुनी राज्यको धज्जी उडाउनु र कानुनी शासनको उपहास गर्नु हो । त्यति मात्र नभएर यो लोकतन्त्र विरोधी कुरा हो । यो अराजनीतिक र अनैतिक हर्कत हो । सुशासनको आँगनमा उभिएको लोकतन्त्रलाई गिज्याउने गरी कसैले पनि सडक रोज्न पाइँदैन ।  

यसअघि पनि ठगी, संगठित अपराध, अकुत सम्पत्ति आर्जन, मानव बेचबिखन लगायत थुप्रै मुद्दामा अनुसन्धानको दायरामा तानिएका रविभन्दा शक्तिशाली नेताहरू अहिले पनि कोही जेलमै छन् । खासगरी एमाले, कांग्रेसका ठुला नेताहरू जेलमा परेर कानुनी कारबाहीको भागिदार भएको हामीले देखेका छौँ । कोही अहिले पनि जेल सजाए भोगिरहेका छन् । यो कुरा रास्वपाजनले किन नदेखेका ? अर्थात् देखी–बुझी पनि किन बुझ पचाएको ? अनि फौजदारीजस्तो गम्भीर अपराध आरोपमा पक्राउ परेका सभापतिलाई रिहा गर्न भन्दै सडकमा ओलिर्नु कतिको जायज हो ? यसो गर्दा कानुनी राज्य र सुशासनको नाराले न्याय पाउँछ कि उल्टै फगत स्टन्टबाज पुष्टि हुन्छ ? यतातिर रास्वपाको ध्यान किन जाँदैन ? 

कांग्रेस र एमालेजनहरूले पनि रास्वपाकै शैलीमा जेलमा रहेका नेताहरूको रिहाको निम्ति आन्दोलन गर्न मिल्छ ? मिल्दैन । त्यसैले अनावश्यक तनाव सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम हुनु दुःखद छ ।

माथि संकेत गरिएका नेताहरू पक्राउ पर्दा न कांग्रेसका नेता–कार्यकर्ता सडकमा आएका थिए, न एमालेका । बरु एमालेका तत्कालीन पार्टी सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्दाबित्तिकै पार्टीले सचिव पदबाट निलम्बन गरेर राजनीतिक नैतिकता देखाएको थियो । जो घटनालाई स्मरण गर्न रास्वपाजनलाई आग्रह छ । यस्ता फौजदारी प्रकरणमा रविसहित ६ जना पूर्वगृहमन्त्री र दर्जनभन्दा बढी शक्तिशाली नेताहरू मुछिएको तथ्य छ, तर कोही पनि नेताको पक्षमा यसरी सडकमा आएर ‘राजनीतिक प्रतिशोध साँधियो’ भन्दै हुलहुज्जत गरेको थिएन ।  

त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा कांग्रेसले संसदमै कारबाहीमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्ने जानकारी दिएको थियो । 
यी ताजा घटना स्मरण गराउनुको कारण के हो भने कानुनी राज्य र सुशासनको वकालत गरी नथाक्ने रविहरू आज नाङ्गै सडकमा नाचिरहेका छन्, यो मिलेन भन्नलाई हो । ‘पुरानाले देश खत्तम पारे, नैतिकता हरामहरू, चोरहरू’ भनिएकाहरूको जति पनि नैतिकता नदेखाएपछि रास्वपालाई कसरी पत्याउने ? लाग्छ, फौजदारी अभियोग आरोपितमाथि कानुनी कारबाहीका विरुद्ध सडकमा प्रदर्शन भएको यो नौलो र लाजमर्दो घटना हो । 

  • अब के गर्ने ? 
  • खासगरी यस सवालको जवाफ रास्वपाजनसँग खोज्नुपर्छ । आफ्नो पार्टीको विचार, सिद्धान्त र कार्यक्रमभन्दा ठुलो अमुक व्यक्ति हो ? अथवा रवि नै रास्वपा, रास्वपा नै रवि हुन् ? यसो हो भने हाम्रो भन्नु केही छैन । 

राजनीति भनेको सामाजिक आलोक हो । सामाजिक आलोकमा उभिएपछि विभिन्न कोणबाट हेर्ने दर्शक हुन्छन् र हुनुपर्छ । रास्वपा विकसित भएको हेर्ने मन हामीलाई नभएको कहाँ हो र ? कांग्रेस र कम्युनिस्टले बनाउन नसकेको भनिएको देश रास्वपाजनहरूले बनाएको देख्न मन हामीलाई पनि छ । तर, वैकल्पिक र नयाँ शक्तिको आवरणमा राज्य लुट्ने, सहकारी ठग्ने, किर्ते र संगठित अपराधमा मुछिएकाहरूलाई बचाउनेहरू नै रास्वपा हुन् भने हामीलाई यो कदापि स्वीकार्य छैन र हुँदैन । 

कांग्रेस र एमालेजनहरूले पनि रास्वपाकै शैलीमा जेलमा रहेका नेताहरूको रिहाको निम्ति आन्दोलन गर्न मिल्छ ? मिल्दैन । त्यसैले अनावश्यक तनाव सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम हुनु दुःखद छ । रास्वपाको शैलीले दिन खोजेको सन्देश के हो ? भिड देखाएर राज्य तर्साउने, अदालत तर्साउने ? के रास्वपाले चितवनको प्रयोग पोखरामा गर्न खोजेको हो ? भिड र लोकप्रियताको आडमा राजनीति गर्ने, अरूलाई तथानाम गाली गरेर आफ्ना अपराध लुकाउने, अरूलाई कानुन, अनुशासन, राजनीति, सुशासनका गफ सुनाउने अनि आफू अनैतिक धन्दामा डुब्ने ? यो कसरी मिल्छ ? मिल्दैन, मिल्दै मिल्दैन । चेतना भया । 
(नेकपा (एकीकृत समाजवादी)का नेता वास्तविकका यी निजी विचार हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धनराज वास्तविक
धनराज वास्तविक
लेखकबाट थप