बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सम्झनामा साईबाबा

साईबाबाः दक्षिण एसियाको न्यायको लालटिन निभ्यो !

मङ्गलबार, ०६ कात्तिक २०८१, १५ : ००
मङ्गलबार, ०६ कात्तिक २०८१

जीवनका केही सम्बन्धहरू त्यस्ता हुन्छन्, जहाँ दुरीले बिछोड मात्र ल्याउँदैन, समय र परिस्थिति अनुकूल नहुँदा संवाद हराउँछ । भेटघाटमा बिराम लाग्छ । तथापि ती सम्बन्धहरूले हृदयमा गहिरो छाप छोडेका हुन्छन्, जुन अन्तिमसम्म पनि भुल्न सकिँदैन ।

भारतीय मानवअधिकारवादी नेता एवं वामपन्थी कवि, दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक ५७ वर्षीय जीएन साईबाबाको असामयिक निधनले मलाई त्यही अनुभूत गराएको छ । हैदराबाद घर भएका साईबाबालाई नक्सालवादीको आरोपमा भारतीय प्रशासनले १० वर्ष लामो कठोर जेलाजीवन भोग्न बाध्य बनायो । र, उपचारका क्रममा उहाँको हैदरावादको निम्स अस्पतालमा हालै निधन भयो ।

जन्मँदै शारीरिक असक्तताले गाँजेको साईबाबालाई पछिल्लो समय मिर्गौला, पित्तथैली तथा मुटु सम्बन्धी गम्भीर रोग थियो । जेलमा रहँदा राम्रो उपचार नपाएकै कारण अल्पायुमै उहाँको निधन भयो । साईबाबालाई सन् २०१४मा नक्सलवादीको आरोपमा पक्राउ गरिएको थियो, तर सरकारले न्यायालयमा आरोपहरू प्रमाणित गर्न सकेन ।

जेलबाट रिहा भएपछि साईबाबाले ‘आमाको मृत्यु अघि म उहाँलाई अन्तिम पटक भेट्न चाहन्थे तर मलाई त्यसबाट पनि वञ्चित गरियो । म जन्मजात अशक्त भएकाले आमा मलाई अत्यन्तै माया गर्नु हुन्थ्यो ।’ आमालाई भेट्न नपाएको पिडालाई उहाँले आफ्नो कवितामा यसरी अभिव्यक्त गर्नु भयो ।

जब तिमी मलाई भेट्न आयौ

मैले काँचको झ्यालबाट

तिम्रो अनुहार देख्न सकिनँ 

यदि तिमीले मेरो अशक्त शरीरलाई नियालेर हेरेकी भए

म जिउँदै छु भन्ने पक्कै बुझ्थ्यौ

(मेरा लागि नरुनु आमा !)

साईबाबालाई यस्तो परिस्थितिमा पुर्‍याउन भारतीय सत्ता जिम्मेवार छ । यो प्रणालीले बलात्कारी, हत्यारा र भ्रष्टाचारीलाई जेलबाट मुक्त गर्छ तर न्यायको पक्षमा आवाज उठाउनेलाई यातनाको शिकार बनाउँछ । 

साईबाबा सन् २००३ देखि दिल्ली विश्वविद्यालयको रामलाल आनन्द कलेजमा अङ्ग्रेजीका प्राध्यापकका रूपमा आबद्ध हुनुहुन्थ्यो । सन् २०१४ मा माओवादीको आरोपमा प्रहरीले पक्राउ गरेपछि कलेजले उहाँलाई निलम्बन गरी निकाली दियो । 

एक समयका मेरा घनिष्ठ मित्र साईबाबासँगको भेटघाट समय क्रममा बन्द भयो र समय–समयमा भई रहने संवाद पनि निरन्तर हुन पाएन । तर, जीवनमा भेटिएका कतिपय मानिस जति नै टाढा हुँदा पनि उनलाई भुल्न नसकिने रहेछ । त्यसैले भौगोलिक रूपमा टाढा हुँदा पनि हामीबिचको आत्मीयता सदैव जीवित रह्यो । 

विचार, दर्शन र मानवताप्रति उहाँको अटल विश्वासले मलाई मात्र होइन, हजारौँलाई प्रेरित गरिरहेको थियो र भावी दिनहरूमा पनि लाखौँ मानिसलाई प्रेरित गरिरहनेछ । वास्तवमै साईबाबाको व्यक्तित्व सामान्य थिएन । उहाँसँगको छलफलका क्रममा उहाँसँग कयौँ नयाँ कुरा सिकिरहेको हुन्थे म । 

उहाँमा उच्च स्तरको वैचारिक स्पष्टता थियो । शारीरिक कठिनाइका बिच दिल्ली विश्वविद्यालयसम्म पुग्न उहाँले गर्नु भएको सङ्घर्ष अद्वितीय छ । साईबाबाको मृत्युसँगै भारतमा बौद्धिकताको एक युगको अन्त्य भएको छ । भारतमा सत्तासीन दक्षिणपन्थी हिन्दुवादीहरुका कारण डा. एम एम कलबुर्गी, नरेन्द्र दाभोलकर, गोविन्द पानसारे तथा पत्रकार गौरी लंकेश जस्ता बौद्धिकहरूको हत्या भई नै सकेको छ । अरू कयौँ जेलमा बन्द छन् ।

नेपालमा जनयुद्ध चर्कँदै जाँदा त्यसका बाछिटा छिमेकी देश भारतमा पनि पर्न गयो । त्यहाँ नेपालका परिवर्तन समर्थकहरूमाथि दमन सुरु भयो । खास गरी, श्रमिकहरूलाई संगठित गर्ने, माओवादी विचारधारासँग नजिक रहेर जनताको आवाज उठाउनेहरूलाई भारतको निगरानीतन्त्रले अलिक बढी निगरानी गर्न थाल्यो । अखिल भारतीय नेपाली एकता समाज जस्ता संगठनहरू भारतमा प्रतिबन्धित भए । 

विशेषगरी लेखक तथा पत्रकारमाथि समेत आक्रमण र दमनको खतरा थप बढ्दै गई रहेको थियो । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को हत्या गरिएको थियो । सेनको हत्यापछि राम कार्की, सुरेश आले मगर र म बसेर नेपालमा भई रहेको मानवअधिकारको हनन विरुद्ध सबैसम्म सूचना पुर्‍याउन तथा अन्तर्राष्ट्रिय स्तरमा त्यसमाथि उठी रहेका आवाजहरूलाई सङ्कलन गर्न दिल्ली जाने योजना बनायौँ । साईबाबा त्यति बेला दिल्लीमै सक्रिय हुनुहुन्थ्यो ।

दिल्ली पुगेर हामीले पत्रकार आनन्दस्वरूप वर्मा, सामाजिक तथा मानवअधिकारवादी नेता गौतम नवलखा, प्रध्यापक साईबाबासहित २० जना स्थापित बौद्धिक, लेखक, पत्रकारलाई भेट्दै थियौँ कि अचानक एकदिन भारतीय प्रहरीले हामीलाई गिरफ्तार गर्‍यो । 

पक्राउ पर्नेमा राम कार्की, कवि निभा शाह, एकता समाजका मोती रिजाल र म थिए । हामीलाई एकदिन हिरासतमा राखेर भोलि पल्ट नेपाल सुपुर्दगी गरियो । त्यसपछि नेपालको परिवर्तनको आन्दोलनले निकै ठुलो धर्षणबिच आफ्नो यात्रा तय गरिरहेको थियो । हामी त्यसै लयमा रुमल्लियौँ र त्यसपछि साईबाबासँगको भेटघाटमा विराम लाग्यो ।

वास्तवमा जीवनले कहिलेकाहीँ अनपेक्षित कोलाजहरू निर्माण गर्ने रहेछ । विचार र अनुभवहरू अदृश्य तर बलियो धागोले बाँधिने रहेछ । त्यस्तै एउटा क्षण मेरो जीवनमा पनि आयो, जब मैले जीएन साईबाबालाई भेटेको थिएँ । उहाँको जीवन सङ्घर्ष र विद्रोही चेतनाले सधैँ मलाई आकर्षित गरिरहेको हुन्थ्यो । उहाँलाई भेट्दा जनताको पक्षमा अविचलित रूपमा किन लाग्नु पर्छ भनेर झनै ऊर्जा प्राप्त हुन्थ्यो । 

दिल्लीमा साईबाबासँगको घनिष्ठता र निकटता कतिसम्म थियो भने उहाँको घरलाई मैले कहिल्यै अरूको घर ठानिन । उहाँको डेरामा पुग्नासाथ मैले आत्मीयता, वैचारिकता र स्नेह एकै ठाउँमा पाउँथेँ । वैचारिक रूपमा उहाँ जति कठोर हुनुहुन्थ्यो व्यवहारमा उहाँ त्यति सरल र विनम्र हुनुहुन्थ्यो ।

साईबाबामा म कृष्ण सेन ‘इच्छुक’ को झझल्को पाउँथे । नेपालका महान् पत्रकार, कवि र विद्रोही चिन्तक इच्छुकले आफ्नो लेखनीमार्फत दमनको प्रतिवाद गर्दै जनताको आवाजलाई मुखरित गरिरहनु भएको थियो । उहाँ दमन र उत्पीडनको विरुद्ध निरङ्कुश पञ्चायती व्यवस्थादेखि नै उभिनु भएको थियो । 

त्यस्तै साईबाबा पनि भारतीय सत्ताले आदिवासी क्षेत्रहरुमा लादेको दमन र हत्याकाण्ड विरुद्ध उभिनु भएको थियो । राज्यसत्ताको दमन विरुद्ध लड्न दुबैले कलमलाई आफ्नो सशक्त हतियार बनाउनु भएको थियो । 

इच्छुकको जीवन र संघर्षले जस्तै, साईबाबाको जीवनले पनि मलाई सधैँ प्रेरित गरिरह्यो । उहाँ दुबैमा समान वैचारिक स्तर थियो । त्यसैले इच्छुकको हत्याको खबरले मलाई जति स्तब्ध बनायो, ठ्याक्कै त्यति नै साईबाबाको अस्वाभाविक निधनको समाचारले मलाई स्तब्ध बनाई दियो । 

जनताको पक्षमा आवाज उठाई रहने जनपक्षीयताको रातो लालटिनलाई भारतीय सत्ताले सधैँका लागि निभाई दियो । साईबाबा दक्षिण एसियाको परिवर्तन र न्यायको आन्दोलनको एउटा सशक्त विम्ब थिए । सत्ताले साईबाबाको जीवनको दियोलाई निभाए पनि उनको वैचारिकताको बिउँबाट भारतसहित दक्षिण एसियामा लाखौँ साईबाबा अङ्कुरित हुने निश्चित छ ।

त्यसैले म आफ्नो यात्रा र संघर्षमा उहाँहरूको वैचारिक दृढतालाई स्मरण गरिरहन चाहन्छु । 

नेपालको परिवर्तनको आन्दोलनलाई सहयोग गर्ने तथा संसारभरका उत्पीडितहरूको आवाज मुखरित गर्ने कयौँ जिउँदा आवाजहरू अझै भारतीय जेलमा थुनिएका छन् । साईबाबालाई स्मरण गर्ने क्रममा म ती सम्पूर्ण न्यायका पक्षमा उभिनु भएका अग्रजहरू, साथीहरूलाई ऐक्यबद्धतासहित सम्झन चाहन्छु । 

‘मलाई आशा छ– तपाईँहरू कसैमा मप्रति दया जाग्ने छैन । मलाई दयाको खाँचो छैन, म त ऐक्यबद्धता चाहन्छु ।’ भन्ने साईबाबाको कथनलाई स्मरण गर्दै म तपाईंहरुप्रति नेपालबाट ऐक्यबद्धता जनाउन चाहन्छु । तपाईंहरुको दुःखमा हामी सबै साथ छौँ भन्न चाहन्छु ।

अँध्यारो कालरात्रि सकिनेछ र उज्यालोमा तपाईं–हामीसँगै, फेरी जनताका आवाज बोकेर एकै ठाउँमा हुनेछौँ ।

अन्तिममा म साईबाबाको परिवारसमक्ष उच्च सम्मानसहित दुःख व्यक्त गर्दै, साईबाबाप्रति हार्दिक श्रद्धाञ्जली र लाल सलाम अर्पण गर्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप