हिउँदे बालीको तयारी, यस्ता छन् नार्कका सुझाव
काठमाडौँ । नेपालमा हिउँदे बाली रोपाइँको तयारी गर्ने बेला भएको छ । यसैबिच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि बुलेटिन मार्फत मकै, गहुँ, मुसुरोलगायत बालीको जग्गा तयारीदेखि बीउ छनोटका लागि सुझाएको छ ।
नार्कले हिउँदे मकैबालीमा अमेरिकी फौजी कीराबाट हुने क्षति कम गर्नको लागि गहिरो गरेर जमिन खनजोत गर्न सुझाएको हो । यस्तै, खोस्टाले राम्रोसँग घोगा छोपिने जातहरू लगाउने, समयमै रोप्ने, निश्चित ठाउँमा सबैले एकै समय वा एक हप्ताभित्र नै मकै रोप्ने, मकैमा अन्तर बालीको रूपमा कोसेबाली लगाउनले कीराको प्रकोप कम नार्कले जनाएको छ ।
यसका साथै, फौजी कीराले डेस्मोडियम घाँस मन नपराउने हुनाले मकैको बिच–बिचमा ‘यो घाँस’ र छेउ– छेउमा यस कीरालाई मनपर्ने ‘नेपियर घाँस’ लगाएर कीरालाई आकर्षित गरि मार्न सकिने नार्कको कृषि बुलेटिनमा उल्लेख छ ।
यस्तै, सिफारिस मात्रामा मल प्रयोग गरी बिरुवालाई स्वस्थ बनाउने जस्ता उपायहरू अपनाउनुका साथै मकैको दुई पाते अवस्थाबाट नै फौजी कीराको नियमित अनुगमन गर्न नार्कको सुझाव छ ।
यस्तै, सोही बुलेटिन मार्फत उच्च पहाडको लागि सिफारिस गरिएका गहुँका जातहरू– पासाङ्हामु, डब्लु. के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गुणस्तरीय बीउलाई ( ६.० के.जी. प्रति रोपनीको दरले) भाइटाभेक्स २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्न सुझाइएको छ ।
गहुँ लगाउन जग्गा तयारीको बेला आवश्यक मात्राको मलखाद कम्पोस्ट वा गोठेमल ५०० के.जी., डी.ए.पी. ४. ४ के.जी., युरिया २.७ के.जी., र म्युरेट अफ पोटास ३.४ के.जी. प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउ नार्कले उल्लेख गरेको छ ।
नार्कका अनुसार गहुँबालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते (नोभेम्बर १०) भित्र र तराईमा मङ्सिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस् । पहाडका लागि सिन्दुरे रोग अवरोधी बीउहरू ः स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउलाई भाइटाभेक्स २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुपर्छ ।
यस्तै, नार्कले मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात; लुम्ले – १, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानीय तोरी – ३, बेंसीको लागि उन्नति र प्रीति, तराई र भित्री मधेसको लागि विकास, प्रगति, उन्नति, प्रीति, मोरङ तोरी– २, सुर्खेत स्थानीय तोरी – ३ तथा नवलपुर स्थानीय –४ मध्ये उपलब्ध जातका (०.५ के. जी. प्रति रोपनी वा ०.३४ के.जी. प्रति कट्टा) बीउलाई प्रति के.जी. २ ग्राम बेभिष्टिनका दरले उपचार गरेर मात्र छर्नुपर्दछ । गहुँको लागि जग्गा तयारीको बेला ५०० के.जी कम्पोस्ट; १.६ के.जी. युरिया; ४.४ के.जी. डी.ए.पी. १.७ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनु पर्दछ ।
यस्तै, पहाडको लागि सिफारिस मुसुरोका जातहरु : शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो ३ मध्ये उपलब्ध जातको गुणस्तरीय बीउ २ के.जी. प्रति रोपनीका दरले हारदेखि हारको दूरी २५ सेन्टिमिटर कायम गरी लगाउनु पर्ने नार्कको कृषि बुलेटिनमा उल्लेख छ ।
यस्तै, मुसुरोको बीउ रोप्नु अघि सुरुमा ढुसीनाशक विषादी – वेभिष्टिन २ ग्राम प्रति के.जी. बीउको दरले र त्यसपछि राईजोवियम जीवाणुले उपचार गर्नु पर्दछ । जग्गा तयारीको बेला कम्पोस्ट वा गोठेमल ३०० के.जी., डी.ए.पी. ४.४ के.जी., युरिया ०.५ के.जी., र म्युरेट अफ पोटास १.४ के.जी. प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाएर मुसुरो छर्नु पर्ने नार्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन