बंगलादेशविरुद्ध दक्षिण अफ्रिकालाई पहिलो पालीमा २०२ रनको अग्रता, भेरेनको शतक
काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा भ्रमणकारी टोली दक्षिण अफ्रिकाले दुई सय दुई रनको अग्रता हासिल गरेको छ । मिरपुरमा जारी पहिलो टेस्टको दोस्रो दिन मंगलबार दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा तीन सय आठ रन बनाउँदै अलआउट भयो ।
दक्षिण अफ्रिकाले ६ विकेटको नोक्सानीमा एक सय ४० रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो । पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि तल्लो क्रमका ब्याट्सम्यान काइल भेरेनले शतकीय र विआन मुल्डरले अर्धशतकीय पाली खेले ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा विकेटकिपर ब्याट्सम्यान काइल भेरेनले एक सय १४ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ४४ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए । उनी पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि छक्का प्रहार गर्ने एकमात्र खेलाडी पनि बने । २७ वर्षीय काइल भेरेनले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो शतक हो ।
यसैगरी, विआन मुल्डरले पनि टोलीको खातामा ५४ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले धेर्यतापूर्वक ब्याटिङ गर्दै एक सय १२ बलमा आठ चौका हिर्काए । २६ वर्षीय विआन मुल्डरले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक पनि हो । यो उनको केवल १५औँ टेस्ट हो ।
दक्षिण अफ्रिकाले केवल एक सय आठ रनको कुल स्कोरमा आफ्नो छैटौँ विकेट गुमाएको थियो । त्यसपछि काइल भेरेन र विआन मुल्डरले नै टोलीको स्कोरलाई दुई सय २७ रनको स्थितिसम्म डोर्याएका थिए । दशौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका डेन पिएडले पनि ३२ रनको योगदान गरे । उनले ८७ बलको सामना गरी दुई चौका पनि हिर्काए ।
त्यसअघि दक्षिण अफ्रिकाले पनि पालीको निराशाजनक सुरुवात गरेको थियो । पहिलो दिन दुवै टोलीको गरेर कुल १६ विकेट खसेको थियो । दक्षिण अफ्रिकाका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एडेन मारक्रम ६ रनमा आउट भएका थिए भने अर्का ओपनर टोनी जर्जीले ३० रन बनाएका थिए ।
यसैगरी, ट्रिस्टन स्टब्सले पनि टोलीको खातामा २३ रन थपेका थिए । डेभिड बेडिङ्घम ११ र रायन रिकेल्टन २७ रनमा पेभेलियन फर्किएका थिए ।
बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिए । उनले ३६ ओभरमा तीन मेडन राख्दै एक सय २२ रन खर्चिए । हसन महमुदले पनि तीन विकेट हात पारे । मेहदी हसन मिराजले पनि दुई विकेट लिएका थिए ।
त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भएको थियो । बंगलादेशी ब्याट्सम्यानहरु पनि निरीह बनेका थिए । बंगलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सकेको थियो ।
घरेलु टोलीका ओपनर ब्याट्सम्यान महमदुल हसन जोय ३० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेका थिएनन् । मोमिनुल हक चार रनमै पभेलियन फर्किएका थिए भने कप्तान नजमुल होसैन सान्तो पनि सात रनमै आउट भएका थिए ।
मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पभेलियन फर्किएका थिए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरेका थिए । जकेर अली पनि दुई रनमै आउट भएका थिए ।
तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुलेका थिए । हसन महमुद चार रनमा अविजित रहेका थिए । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिएका थिए ।
पहिलो दिन कागिसो राबडाले एउटा गजबको कीर्तिमान पनि बनाएका थिए । २९ वर्षीय यी तीव्र गतिका बलर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बल फालेर तीन सय विकेट पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका थिए । कागिसो राबडाले पाकिस्तानका पूर्वबलर वकार युनिसको कीर्तिमान तोडेका हुन् ।
राबडाले ११ हजार आठ सय १७ बलमा तीन सय विकेटको कोशेढुंगा पुरा गरेका थिए । यसअघि यो कीर्तिमान वकार युनिसको नाममा थियो । वकार युनिसले १२ हजार ६ सय दुई बलमा तीन सय विकेट पुरा गरेका थिए ।
यो सूचिमा तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाकै पूर्वबलर डेल स्टेनले १२ हजार ६ सय पाँच बलमा तीन सय विकेट लिएका थिए । यो सूचिमा चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाकै एलन डोनाल्डले भने १३ हजार ६ सय ७२ बलमा यस्तो उपलब्धि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता