मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
उपचारमा लापर्बाही

उपचारमा लापर्बाही गरेको भन्दै मेडिसिटी अस्पतालविरुद्ध पाँच करोडको क्षतिपूर्ति दाबीसहित मुद्दा दायर

मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । उपचारका लागि भर्ना भएको बिरामीको चिकित्सकीय लापर्बाहीका कारण मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् ।

काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले अस्पतालविरुद्ध मुद्दा दायर गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका रिमाल मुटुको उपचार र किड्नीको डायलासिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । तर हातमा भएको सङ्क्रमण लगायतका कारण उनको मृत्यु भएपछि अस्पतालविरुद्ध परिवारले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेको हो ।

रिमाल गत असोज १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । परिवारका अनुसार सुरुमा उनलार्ई मुटुको इसीजी गराइएको थियो । बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएको थियो ।

असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले इन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराएका थिए । परिवारका सदस्यहरूलाई पनि उक्त समयमा भेट गर्न दिइएको बताइएको छ ।

बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्केका थिए । असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा उल्लेख छ ।

परिवारका अनुसार सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो । रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको फिरादपत्रमा उल्लेख छ ।

बिरामीलाई एन्जीयोप्लास्ट गरिसकेपछि आइसीयूमा राख्दा बेलुका ५ बजे नै हात सुन्निएको, फोका उठेको देखेर डा. किशोरले कस्सिएर बाँधिएको हातको टेप खुकुलो बनाउने भनेर लेखे पनि अस्पतालले उक्त कार्य नगरी लापर्बाही गरेको फिरादपत्रमा जिकिर गरिएको छ ।

बिरामीले दुख्यो भनी गुनासो गर्दा राम्ररी वास्ता नगरीकन रातको १० बजे धेरै दुख्यो भनेका कारणले फेन्टाइल  दिइएको, सोपछि ३ घण्टा केही वास्ता नगरी फेरि पनि पटकपटक यही औषधि दिएर ओभरडोज भएको दाबी फिरादपत्रमा गरिएको छ ।

रातको १ः३० बजे, २ः१० बजे, बिहान ६ः१० बजे, ६ः३० बजे पनि ‘फेन्टाइल’ मात्र दिइ अरू विशेषज्ञ डाक्टरलाई नबोलाइकन बिरामीको स्वास्थ्यप्रति लापर्बाही गरिएको, जसका कारण हात नै ड्यामेज भएको मुद्दामा उल्लेख छ ।

उपचारको अरु कुनै विकल्प नभएपछि हातको अप्रेसन गरेको र उक्त अप्रेसनपछि अत्यधिक रक्तस्राव भएर बिरामीको मृत्यु भएको परिवारजनको दाबी छ । हातमा देखिएको फोकाकै कारण मृत्यु भएको भनी रिपोर्ट लेखिएको र अस्पतालले आफ्नो लापर्बाहीले मृत्यु भएपछि परिवारसँग कुनै पनि शुल्क नलिइ शव पठाएको र सात लाख रुपैयाँ गलत उपचारका कारण छुट गरेर घटना लुकाउन खोजेको फिरादपत्रमा उल्लेख छ ।

‘बिरामीको असोज ४ गते चिकित्सकीय लापर्बाहीकै कारणले मृत्यु भयो । रातभर जति रोइकराइ गर्दा पनि हातको उपचार नगरेको, बढी मात्रामा फेन्टाइल दिएको देखिन्छ,’ फिरादपत्रमा भनिएको छ, ‘तत्काल गर्नुपर्ने उपचार नगरी चिकित्सकीय लापर्बाहीका कारण बिरामीको मृत्यु भयो । मर्नु अगाडि बिरामीले डाक्टरहरूले गर्दा म मर्न लागेँ, रातभर मेरो वास्ता गरेनन्, बढी डोजको औषधि दियो, त्यसैले मेरो हातको हालत यस्तो भयो भन्दा उल्टै अस्पतालबाट धम्की आएको थियो ।’

उक्त फिरादपत्रमा पहिलो सुनुवाइ गर्दै जिल्ला न्यायाधीश रिताकुमार बख्रेलको इजलासले अदालती शुल्क सुविधा पाउँ भनी दिएको निवेदनमा ५ लाख १६ हजार ५ सय रुपैयाँको आधा रकम पछि दाखिला गर्ने गरी सुविधा प्रदान गर्ने आदेश गरेको छ । यो मुद्दामा अब जिल्ला अदालतले अस्पतालसँग जवाफ माग गर्नेछ । अदालतले जवाफ पेस गरेसँगै पेसी तोकेर सुनुवाइ गर्नेछ ।

रिमालकी छोरी ज्योति रिमाल आफै चिकित्सक भएका कारण अस्पतालले उपचारमा लापर्बाही गरेको तथ्य खुलेको थियो । अमेरिका बस्दै आएकी डा ज्योतिले गलत उपचार र पटकपटक दुखाइ कम गर्ने भन्दै हाइडोजको औषधि किन प्रयोग गरियो भनी सोध्दा गलत उपचार भएको रहस्य खुलासा भएको थियो । 

यस्तो छ अभियोगपत्र–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया