मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

नङको क्यान्सर तथा उपचार

मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : ०७
मङ्गलबार, ०६ कात्तिक २०८१

नङ हाम्रा औँलाको छालासँग सम्बन्धित महत्त्वपूर्ण आवरण हो । नङले हाम्रा औँलाको सुरक्षा गर्छ र औँलाको सौन्दर्य समेत बढाउँछ । नङ सफा र चिटिक्क राख्नु सबैको चाहना हुन्छ । स्वास्थ्यका लागि खाना खानदेखि शरीरका अन्य भागको हेरचाह गर्न पनि नङ आवश्यक हुन्छ, त्यसैले नङ सफा राख्नैपर्छ ।

नङमा विभिन्न कारणले विभिन्न इन्फेक्सनसँगै क्यान्सर समेत हुन सक्छ । यहाँ हामीले नङको क्यान्सर र उपचारबारे चर्चा गर्दै छौँ । सर्वप्रथम चर्चा गरौँ, नङमा हुने ट्युमरबारे । 

नङमा दुई प्रकारका ट्युमर हुन सक्छन् । 

क) बेनाइन ट्युमर्स (अर्बुद) :यी ट्युमर स्वयंमा सीमित हुन्छन् । यसले वरपरका कोशिकालाई विकृत (खराब) पार्दैन । यी अरु अङ्गमा सर्दैनन् । जस्तो :माइक्जोइड सिस्ट, डाइस्ट्रोफी, पायोजेनिक ग्रानुलोमा, ग्लोमस ट्युमर आदि ।

ख) म्यालिगनेन्ट ट्युमर्स :यी नङमा लाग्ने डरलाग्दा र घातक क्यान्सर हुन् । यी नजिकका छाला र तन्तुमा फैलिन्छन् र तिनलाई विकृत (खराब) बनाउँछन् । यी क्यान्सरले बिरामीको शरीरलाई हानि पुर्‍याउँछन् । जस्तै :स्कुवामस सेल कार्सिनोमा, बोवेन रोग, म्यालिगनेन्ट मेलानोमा हुन् ।

स्कुवामस सेल कार्सिनोमा :नेल प्लेट (नङको तल्लो सतहबाट) उत्पन्न हुन्छ यो । यो नङको क्यान्सर बिस्तारै बढ्दै जान्छ र बिस्तारै हड्डीलाई पनि छेड्न सक्छ । यो क्यान्सरको प्रत्यक्ष कारण अहिलेसम्म पत्ता लागेको छैन । तथापि यसको अप्रत्यक्ष कारणमा नङमा चोटपटक लाग्नु पनि एक हो । यस्तै, ह्युमन पापिलोमाभाइरस (एचपीभी) र विकिरणसँगको निकटता कारण पनि यो क्यान्सर हुन सक्छ ।

सुरुको अवस्थाको ‘स्क्युमस सेल कार्सिनोमा’, जुन आफ्नो परिधिभित्र सीमित हुन्छ, त्यसलाई बोवेन रोग भनिन्छ ।

  • स्कुवामस सेल कार्सिनोमाको विभिन्न किसिम र उपसमूह छन्, जस्तो : 

१) केराटोक्यान्थोमा ।

२) क्लियर सेल कार्सिनोमा ।

३) वार्ट कार्सिनोमा ।

४) एडेनोस्क्युमस कार्सिनोमा ।

५) स्पिन्डल सेल कार्सिनोमा ।

६) एकान्थोलाइटिक कार्सिनोमा ।

मेलानोमा :यो नङको क्यान्सरको एउटा प्रमुख किसिम हो । यो क्यान्सर रोग ६० वर्ष हाराहारी वा सोभन्दा बढी उमेरका व्यक्तिलाई देखा पर्छ । यो प्रायःजसो हात र खुट्टाको बुढीऔँलामा देखिन्छ, तथापि अन्य अङ्ग र छालामा पनि सजिलै हुन सक्छ । यो विशेषगरी नङमा चोटपटक लागेपछि अथवा सूर्यको बैजनी प्रकाशका कारणले हुन सक्छ । घर–परिवारका सदस्यमा क्यान्सर भएका कारण वंशानुगत गुण सरेर पनि हुन सक्छ ।

सावधानी— नङलाई सफा सुग्घर राख्ने; ठिक्कको छोटो र सुहाउँदो गरी काट्ने; दाँतले किचिकिची नगर्ने वा नटोक्ने; छाला अथवा नङकै दाग, कोठी तथा घाउहरू नकोट्याउने; हात चिसो भएपछि सफा पानीले धुने र पुछ्ने; रासायनिक पदार्थलाई पन्जा लगाएर मात्र छुने र चलाउने ।

वंशानुगत खराबी, जस्तो :बीआरएफ, एनआरएएस, केआईटी, एमएपी–२के–२ र एनएफ–१ जिनका कारणले नङ र छालाको मेलानोमा क्यान्सर हुने गरेको प्रमाणित भएको छ । 

  • नङ क्यान्सरका लक्षण

१) कालो अथवा खैरो रङको लाम्चो दागजस्तो नङभित्र देखिन्छ ।

२) कालो खैरो कोठीजस्तो दागले नङलाई छोएको अथवा नङको तल जरा भएको जसरी देखिन्छ । 

३) सुरुमा यस्ता दाग नदुख्ने किसिमको हुन्छ ।

४) कहिलेकाहीँ नङ बिग्रिएर कुरूप देखिन सक्छ । 

५) ढुसी इन्फेक्सन भएर नङ बिग्रिएको पनि देखिन सक्छ । 

६) औँला चलाउन गाह्रो हुन सक्छ । 

७) क्यान्सर सरेर अन्य अङ्ग र छालामा समेत कुनै प्रकारको लक्षण देखिन सक्छ ।

  • नङ क्यान्सरको परीक्षण

१) चिकित्सकद्वारा हेरेर र छोएर नङको जाँच गरिन्छ । छाला रोग विशेषज्ञ र क्यान्सर विशेषज्ञद्वारा जाँच गरिएमा राम्रो हुनेछ । 

२) डेर्मास्कोपी (एक यन्त्र)को मद्दतले नङको दाग तथा शंकास्पद क्यान्सरलाई निरीक्षण गरिन्छ । 

३) बायोप्सी शल्यक्रियाद्वारा नङको दाग र घाउबाट नमुना झिकिन्छ । नमुनालाई प्याथोलोजी ल्याबमा परीक्षण गरिन्छ । यसबाट क्यान्सर हो वा होइन, क्यान्सर होइन भने कुन रोग हो भनेर थाहा हुन्छ ।

४) कतिपय नङका क्यान्सरहरूमा ‘जेनेटिक टेस्ट’ गर्न सकिन्छ । जस्तो :बीआरएएफ, एनआरएएस, केआईटी, एनएफ–१, जिन्स आदिको परीक्षण । 

५) क्यान्सर शरीरमा फैलिसकेको शंका लागेमा विभिन्न प्रविधिद्वारा शरीरभित्र फोटो खिचेर हेर्न सकिन्छ । जस्तो :एक्स–रे, सीटी स्कान, एमआरआई, युएसजीसँगै  हड्डीमा फैलिएको नङको क्यान्सर पत्ता लगाउन ‘बोन स्क्यान’ पनि गर्न सकिन्छ । 

  • नङ क्यान्सरको उपचार

१) शल्यक्रिया : नङको क्यान्सरको पहिलो उपचार भनेकै क्यान्सरलाई जरा समेत चिरेर फाल्ने हो । यसमा पूरै नङ काटेर फाल्नुपर्ने अथवा औँलाको केही अंश समेत काटेर फाल्नुपर्ने हुन सक्छ । 

२) केमोथेरापी मलम र केमोथेरापी : यो मलमको प्रयोगले नङको क्यान्सरलाई निष्क्रिय पार्छ र क्यान्सर निको हुन्छ । जस्तो :इमिक्विमोड क्रिम ।

३) रेडियोथेरापी : क्यान्सर धेरै औँलामा अथवा अङ्गहरूमा फैलिएको छ भने विकिरणद्वारा उपचार गरिन्छ । 

४) इमियुनोथेरापी : मेलानोमा बीआरएएफ टेस्ट पोजिटिभमा पेम्ब्रोलिजुमाब र निवोलिमुमाबजस्ता इम्युनोथेरापी प्रयोग गर्न सकिन्छ । 

  • नङको खराबीबाट बच्नका निम्ति निम्न सावधानी अपनाउनुपर्छ ः

१) नङलाई सफा सुग्घर राख्ने ।

२) नङलाई ठिक्कको छोटो र सुहाउँदो गरी काट्ने ।

३) नङलाई दाँतले किचिकिची नगर्ने वा नटोक्ने ।

४) नङले छाला अथवा नङकै दाग, शरीरका कोठी तथा घाउहरू नकोट्याउने ।

५) भोजन गरेपछि अथवा काम गरेपछि हात र नङलाई सफा पानीले धुने र पुछ्ने वा सुकाउने ।

६) रासायनिक पदार्थ पेट्रोल, रङरोगन इत्यादि पन्जा लगाएर मात्र छुने र चलाउने ।

७) उच्च विकिरण भएको ठाउँ र स्थानमा सकभर नजाने ।

८) शङ्का लागेको नङको दाग वा घाउलाई क्यान्सर रोग विशेषज्ञ अथवा छाला रोग विशेषज्ञसँग परामर्श गरी, परीक्षण गरी, रोग पत्ता लगाउनुस् ।

(लेखक क्यान्सर रोग विशेषज्ञ हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. समिम अख्तर
डा. समिम अख्तर
लेखकबाट थप