मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

लुम्बिनी प्रदेशमा कयौँ सहकारीविरुद्ध उजुरी, बचत फिर्ताको प्रक्रिया कहाँ पुग्यो ?

मङ्गलबार, ०६ कात्तिक २०८१, ०६ : ५८
मङ्गलबार, ०६ कात्तिक २०८१

बुटवल । बुटवलको देवीनगर बस्ने केशव श्रीस मगरले बुटवल उपमहानगरपालिका– ९, मिलनचोकस्थित उपदेश बहुउद्देश्यीय सहकारी संस्थामा १ लाख १८ हजार रुपैयाँ जम्मा गरेका थिए । उपदेश बहुउद्देश्यीय सहकारी संस्थाले मिलनचोकबाट कार्यालय सारेर तीनकुनेमा पुर्‍यायो । त्यसपछि सहकारीका सञ्चालकहरू फरार भए । कर्मचारी पनि आ–आफ्नो बाटो लागे । सो सहकारी संस्थाका बचतकर्ताको रकम कहिले कसरी फिर्ता हुन्छ भन्नेबारे अन्योल छ ।

बचत रकम फिर्ता लिन केशव पटकपटक विभिन्न ठाउँमा धाइरहेका छन् । तर आफ्नो बचत रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो नभएको उनले रातोपाटीलाई बताए ।

बुटवलको कालिकानगरमा रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताहरूले कार्यालय घेराउ गरे । पछि इलाका प्रहरी कार्यालय बुटवलमा बचतकर्तासँगको छलफलमा सञ्चालक समितिका पदाधिकारीहरूले रकम छिटै तिर्ने प्रतिबद्धता जनाए । तर अहिलेसम्म बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन् ।

मञ्जुश्री बहुउद्देश्यीय सहकारीका एक बचतकर्ता एवं बुटवलको देवीनगर निवासी बाबुराम पाण्डेले अचेल सहकारीका सञ्चालक सम्पर्कविहीन भएको सुनाए ।

रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भयो । उक्त सहकारीले रुपन्देहीको सैनामैना र तिलोत्तमाको मणिग्राममा शाखा खोलेर बचतकर्तासँग रकम उठाएको थियो ।

ssssssssss

गत भदौ २७ गते सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गरेपछि ४ सयभन्दा धेरै बचतकर्ताले सैनामैना र मणिग्राममा रहेको कार्यालय घेराउ गरेका थिए । 

सैनामैना रहेको इलाका प्रहरी कार्यालयले सहकारी हिनामिनाकै सवालमा स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी भण्डारी र बचतकर्तालाई भेला गरेर छलफल गराएको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक आदित्यराज विष्टले रकम किस्ताबन्दीमा तिर्ने गरी सहकारी सञ्चालक र बचतकर्ताबिच सहमति भएको जानकारी आफूले पाएको रातोपाटीलाई बताए ।

बुटवलमा कार्यालय रहेको सुप्रिम सहकारीमा रकम हिनामिना गरेपछि २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उक्त सहकारीका अध्यक्ष ओम गुरुङ जेलमा छन् ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख मधुकृष्ण पौडेल पछिल्लो समय सहकारीका बेथितिका उजुरी आउने क्रम बढ्दै गएको बताउँछन् ।

उनले धेरैजसो उजुरीलाई छलफल गराएर सल्टाउने काम भएको र जटिल प्रकारका मामिलालाई सहकारी ऐन अनुसार प्रहरी, सहकारी मन्त्रालयमा पत्रकार गरेर कानुन अनुसार अगाडि बढ्ने गरेको बताए ।

कुन–कुन सहकारीविरुद्ध उजुरी ? 

लुम्बिनी प्रदेशका करिब ४ हजार सहकारीमध्ये धेरैजसो स्थानीय तहमा दर्ता भएका छन् । सहकारी ऐन अनुसार संघ, प्रदेश वा स्थानीय तहमा दर्ता गरेर सहकारी सञ्चालन हुन्छ ।

प्रदेशमा दर्ता १३० र सहकारी डिभिजन कार्यालयबाट हस्तान्तरण भएका गरी अहिले ८५० सहकारी हेर्ने क्षेत्र अधिकार प्रदेश सहकारी दर्ता कार्यालय लुम्बिनीलाई छ । ती सहकारीमा पछिल्लो समय विभिन्न प्रकारले समस्या उत्पन्न भएपछि उजुरीहरू आउने र टुङ्ग्याउने गरिएको लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालय प्रमुख पौडेलले रातोपाटीलाई बताए ।

‘उजुरी आइरहेका छन् । मिलाउने या माथिल्लो निकायमा पठाउने काम पनि भइरहेको छ,’ उनले भने, ‘अहिले २० वटा सहकारीविरुद्ध परेको उजुरीको कारबाही प्रक्रिया भइरहेको छ ।’

उजुरी परेका सहकारीमा नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दिया, नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँके, देउखुरी बचत तथा ऋण सहकारी संस्था लि.दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सुनौलो बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, आगन्तुक बचत तथा ऋण सहकारी संस्था लि.रुपन्देही, मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.रुपन्देही, राजधानी बचत तथा ऋण सहकारी संस्था लि.दाङ, नागरिक बचत तथा ऋण सहकारी संस्था लि. दाङ, राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि.गुल्मी छन् ।

IMG-20241021-WA0004

यस्तै साइन बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सार्थक बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, त्रैयम्बकम जडीबुटी सहकारी संस्था लि.रुपन्देही, विश्व विराट बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सप्तदिप बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, उपकार बहुद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, उपदेश बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही र जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि.दाङविरुद्ध पनि उजुरी छन् ।

केही समय अगाडि रुपन्देहीको देवदहमा सञ्चालन भएको आयाम बहुउद्देश्यीय सहकारीले बचतकर्ताहरूको रकम हिनामिना गरेपछि प्रदेश सहकारी बोर्डको सक्रियतामा ४३ लाख रुपैयाँ रकम बचतकर्तालाई फिर्ता गराइएको थियो ।

लुम्बिनी प्रदेशमा सहकारीहरूमा बेथिति बढेपछि प्रदेश सहकारी बोर्डका उपाध्यक्ष  टीकाराम पोखरेलको संयोत्कत्वमा ७ सदस्य  समस्या समाधान सुझाव कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले एक महिनाभित्र अर्थात् कार्तिक मसान्तभित्र लुम्बिनी प्रदेशमा रहेका सहकारीको अवस्था, समस्या, कानुन सम्बोधन लगायतका विषयलाई केन्द्रित गरेर सुझाव दिने छ । 

कार्यदलको सुझाव आएपछि सरकारले प्रदेशका रहेका सहकारीहरूको समस्या समाधानको लागि ठोस कदम चाल्ने प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री दिनेश पन्थीले बताए ।

उजुरी गुनासो परेका सहकारी संघ/संस्थाहरुको विवरण
१    नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बर्दिया
२    नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड,  बाँके
३    देउखुरी बचत तथा ऋण सहकारी संस्था लि,  दाङ्ग
४    आयाम बहुउद्देश्यीय सहकारी संस्था लि, रुपन्देही
५    सुनौलो बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
६    आगन्तुक बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
७    मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लि.    रुपन्देही
८    सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
९    राजधानी बचत तथा ऋण सहकारी संस्था लि. दाङ्ग
१०    नागरिक बचत तथा ऋण सहकारी संस्था लि. दाङ्ग
११    राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. गुल्मी
१२    साईन बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१३    सार्थक बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१४    मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१५    त्रैयम्बकम जडिबुटी सहकारी संस्था लि. रुपन्देही
१६    विश्वविराट बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१७    सप्तदिप बहुउद्देश्यीय सहकारी संस्था लि रुपन्देही
१८    उपकार बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१९    उपदेश बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
२०    जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि. दाङ्ग
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप