चाडपर्वका कारण पोखरामा रगत अभाव
कास्की । चाडपर्वले रक्तदान र संकलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेंगुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो ।
केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत संकलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । 'दसैँका समयमा विभिन्न संघसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेंगुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ,' ज्ञवालीले भने ।
आकस्मिक कार्यक्रम गर्न गरिएको आह्वानपछि विभिन्न संघसंस्थाले कार्यक्रम राखेका उनले बताए। 'हामीले अभाव महसुुस गरेपछि आह्वान गर्छौं र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ,' ज्ञवालीले भने । डेंगु सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत संकलन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताए। प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य अस्पतालहरुबाट पनि यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग रगतको बढी हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै