मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

भारत र चीनबीच सीमाक्षेत्रको तनाव अन्त्य गर्ने सहमति

मङ्गलबार, ०६ कात्तिक २०८१, ०१ : १५
मङ्गलबार, ०६ कात्तिक २०८१

नयाँदिल्ली । भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले विवादित सीमाक्षेत्रमा तनाव अन्त्यका लागि गस्तीको व्यवस्था गर्न दुई देशबीच सहमति भएको जनाएका छन् । 

मिश्रीका अनुसार दुवै पक्ष सन् २०२० देखि जारी तनाव अन्त्य गर्न र मुद्दाहरूको समाधान गर्न सहमत भएका हुन् । चार वर्षअघि गलवान उपत्यकामा भएको झडपपछि दुई छिमेकीबीचको सम्बन्धमा तिक्तता आएको थियो । सन् १९७५ पछिकै घातक भिडन्तमा दुवै देशका सैनिकले ज्यान गुमाएका थिए ।

‘भारत–चीनबीच सीमा क्षेत्रहरूमा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) मा गस्ती प्रबन्धका विषयमा सम्झौता भएको छ । यसले चार वर्षदेखिको तनाव अन्त्य गर्न तथा अन्य मुद्दाहरूको समाधान गरेको छ,’ मिश्रीले भनेका छन् । तर उनले सहमतिबारे विस्तृत विवरण नदिएको बीबीसीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत ब्रिक्स राष्ट्रहरूको बैठकमा भाग लिन रुस जानुभन्दा ठीक एक दिनअघि दुई देशबीच सहमति भएको हो ।

मिस्रीले मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय बैठकमा सीमा समस्याबारेका एजेन्डा भए/नभएको भने प्रष्ट पारेनन् । मिश्रीको सोमबारको भनाइले गलवान झडपपछि दुई आणविक हतियार सम्पन्न राष्ट्रहरूबीचको ठूलो सफलतालाई संकेत गरेको छ ।

चार वर्षअघि गलवान उपत्यकामा तैनाथ सैनिकहरूले मुक्का र लठ्ठीले लडाइँ लडेका थिए । भारत र चीनबीच १९९६ मा सीमानजिक बन्दुक र विस्फोटक पदार्थको प्रयोगलाई निषेध गर्ने सम्झौता भएको थियो । त्यसयता दुई देशबीच विभिन्न चरणमा कूटनीतिक र सैन्य वार्ताहरू भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन् ।

दुई देशका सेनाबीच सन् २०२१ मा उत्तरी सिक्किम क्षेत्रमा र २०२२ मा सीमाको तवाङ सेक्टरमा पनि भिडन्त भएको थियो । सीमा तनावले भारत–चीन सम्बन्धमा दशकौंदेखि लामो छायाँ परेको छ । दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो, जसमा भारतले ठूलो हार बेहोरेको थियो । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि तनावका कारण निकै प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप