मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीसँग विपक्ष दलको भेट

विपक्षी दलसँग प्रधानमन्त्री ओली : रविप्रति आक्रामक, अध्यादेशबारे रक्षात्मक

भेटमा दल विभाजनसम्बन्धी अध्यादेशबारे माधव नेपाल बोलेनन् ।

ओलीसँग प्रचण्डले भने : 'तपाई जे बोल्नुहुन्छ त्यो गर्नु हुन्नँ । जे गर्नुहुन्छ त्यो बोल्नुहुन्नँ । रविलाई पनि पक्षपात ढंगले व्यवहार गर्नुभयो । तपाईको बोली र काम गराइमा फरक छ।'
सोमबार, ०५ कात्तिक २०८१, २३ : ५७
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । सरकारलाई ज्ञापनपत्र बुझाउन बालुवाटर पुगेका विपक्षी दलका नेताहरूसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आक्रोश पोखेका छन् ।

नेताहरूका अनुसार भेटमा ओली दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उठेको प्रश्नमा भने रक्षात्मक देखिए। प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको १३ बुँदे ज्ञापनपत्र बुझ्दै आफू कसैको पार्टी फुटाउने पक्षमा नभएको धारणा राखेका थिए ।

‘म कसैको पार्टी फुटाउने पक्षमा छैन । कसैसँग बैरभाव छैन । अध्यादेश ल्याउने मेरो कुनै योजना छैन । मेरो नियतमाथि कुनै शंका नगर्न आग्रह गर्छु’, ओलीको भनाइ उदृद्ध गर्दै सहभागी एक नेताले रातोपाटीलाई बाताए ।

ज्ञापनपत्रको १३ नम्बर बुँदामा ‘राज्यसामु आएका जल्लाबल्दा समस्याहरुलाई सम्बोधन गर्न संसदमा रहेका प्रतिपक्षी दलहरुसँगको सल्लाह सहयोग लिइ एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन, दुई दलीय तानाशाही लाद्न साना दलहरुलाई विभाजन गर्ने उदेश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस्’ भनिएको थियो ।

१३ बुँदामध्ये अधिकांश बुँदामा ओलीले आफ्नो सफाइ दिँदै व्याख्या गरेका थिए । विपक्षी नेताहरुसँग २ घण्टा कुराकानी गरेका प्रधानमन्त्री ओलीले सहकारी ठगी प्रकरणमा हाल हिरासतमा रहेका रविले आइतबार पोखरामा दिएको अभिव्यक्ति र ओलीको पुत्ला दहन गरेको विषयमा भने आक्रोस व्यक्त गरेका थिए ।

‘सहकारीको बारेमा रविमाथि छानविन गर्न हुँदैन भन्ने मान्छे मै हुँ । रवि आफैँले छानविन हुन्छ, गर्नुपर्छ भन्नुभएको हो । उहाँकै पार्टीका सदस्य पनि संसदीय समितिमा भएर प्रतिवेदन आएको छ । प्रतिवेदनले नै सहकारीको ६५ करोड अपचलनमा रवि जोडिएको देखाएको ओलीको भनाइ उदृत गर्दै ती नेताले भने । 

ओलीले रविमाथि आरोप लगाएपछि रास्वपाका उपसभापति डिपी अर्यालले आपत्ति जनाएका थिए । ती नेताका अनुसार अर्यालले ६५ करोडको के कुरा ८७ अर्बको ठगीको कुरा छ । तर रविले बचत रकम हिनामिना गरेको वा कुनै सहकारीमा रकम अपचलन गरेको छानविन समितिको प्रतिवेदनले देखाएको छैन भनेर प्रतिवाद गरेका थिए ।

रविले सोमबार अदालत परिसरभित्रै दिएको अभिव्यक्ति, जुलुसमा लगाइएको नारा, पुत्ला दहनको विषयमा ओलीले तीव्र असन्तुष्टी पोखेका थिए । ‘मेरो लाश पनि बनाएर जलाए । अब काजकिरिया गर्दै होलान्',भनेर ओलीले आक्रोस पोखेका थिए । 

विपद् व्यवस्थापनको मामिलामा दिनरात लागिरहेको भन्दै भत्किएका सडक, भौतिक पूर्वाधार पुनर्निमाण लगायत विषयमा गम्भीर भएको प्रधानमन्त्रीको भनाइ थियो । आर्थिक संकट समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बिफ्रिङ गरेका थिए । 

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको बोलाइ र काम गराइमा विश्वास गर्न नसकिने धारणा राखेका थिए । 

‘ओलीजीले जे बोल्नुहुन्छ त्यो गर्नु हुन्नँ । जे गर्नुहुन्छ त्यो बोल्नुहुन्नँ भन्नुभयो । रविलाई पनि पक्षपात ढंगले व्यवहार गर्नुभयो । बोली र काम गराइमा फरक छ । एमाले र कांग्रेसका मान्छे पनि ठगीमा संलग्न छन् । तीनलाई कारवाही गर्नुभएन’, ओलीसँग असन्तुष्टि पोख्दै प्रचण्डले भनेको ती नेताले रातोपाटीसँग सुनाए । 

यसैगरी पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दल विभाजनसम्बन्धी अध्यादेशबारे केही कुरा नगरेको ती नेताले बताए ।

‘दलविभाजनसम्बन्धी आध्यादेशबारे माधवजीले केही कुरा गर्नुभएन । उहाँले  बाढीपहिलो पीडितलाई राहत र पर्नुस्थापनका विषयमा सरकार उदासिन भएकाले यसमा ध्यान पुगोस् भन्नुभयो । ठीक बाटोमा काम गर्न ज्ञापनपत्र दिन आएको भन्नुभयो । अन्य विषयमा कुरा गर्नुभएन’, ती नेताले भने । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए त्यो दुर्भाग्य हुने चेतावनी दिएका थिए । 

ओलीको भनोभाव हेर्दा कांग्रेस अध्यादेश ल्याउने कुरामा पछाडि हट्यो बुझ्न सकिने सहभागी नेताहरुको बुझाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप