मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा' देखि 'विपक्षी दलको खबरदारी'सम्म

मङ्गलबार, ०६ कात्तिक २०८१, ०० : ००
मङ्गलबार, ०६ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :-

आजका मुख्य समाचारमा अध्यादेशको चर्चा चलिरहँदा मन्त्रिपरिषदको बैठक स्थगित, प्रधानमन्त्रीलाई विपक्षी दलको ज्ञापनपत्र, विपक्षी दलसँगको भेटमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नभएको प्रधानमन्त्रीको भनाइ, छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो, जग्गा दानको विषयमा प्रधानमन्त्री ओलीले गरे बचाउ, बाबुराम नेतृत्वको नेसपाको विधान अधिवेशन सुरु, एसपी कार्कीमाथि क्रिप्टो कारोबारीसँग रकम लिएको आरोप, रवि लामिछानेको बयान लिन थालियो लगायत छन् ।

१. दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् ।

२. अध्यादेशको चर्चा चलिरहँदा मन्त्रिपरिषदको बैठक स्थगित
सोमबार सरकारले दल विभाजनको प्रावधान खुकुलो तुल्याउने गरी अध्यादेश ल्याउने चर्चा चलिरहँदा बोलाइएको मन्त्रिपरिषदको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । अध्यादेशका सम्बन्धमा सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुट्न नसकेकाले मन्त्रिपरिषदको बैठक स्थगित भएको विभिन्न स्रोत बताउँछन् । यद्यपि यसबारे खुलेर कसैले पनि प्रतिक्रिया दिएका छैनन् ।

 

३. प्रधानमन्त्रीलाई विपक्षी दलको खबरदारी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलका तर्फबाट ज्ञापनपत्र बुझाइएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिइएको छ ।

४. अनुसन्धानलाई प्रभावित नपार्न नागरिक समाजको अपिल
शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई अपराध अनुसन्धानमा बाधा नपुर्‍याउन आग्रह गरेको छ  । सञ्जालले सहकारी ठगीमा जोसुकै भए पनि अभियुक्तलाई कानुनी दायरामा ल्याएर अनुसन्धान अघि बढाउने संस्था र निकायको कार्यप्रति विश्वस्त हुन आग्रह गरेको हो ।

 

५. रवि लामिछानेको बयान लिन थालियो
सहकारीको रकम अनियमिततासँग जोडिएका रवि लामिछानेसँग सोमबारदेखि बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी अधिकारी र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।

 

६. छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो
पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही पठाइएको हो ।

७. बाबुराम नेतृत्वको नेसपाको विधान अधिवेशन सुरु
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन सुरु भएको छ । सोमबार पोखरामा सुरु भएको अधिवेशनमा विधानको मस्यौदामाथि १० समूह बनाएर छलफल थालिएको छ ।

 

८. एसपी कार्कीमाथि क्रिप्टो कारोबारीसँग रकम लिएको आरोप
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ । २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा प्रहरी हेडक्वाटरमा तानिएका हुन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ ।

 

९. प्रधानमन्त्रीबाटै भ्रष्टाचारलाई प्रश्रय : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाटै भ्रष्टाचारलाई प्रश्रय दिने काम भएको आरोप लगाएका छन् । जुम्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार मुद्दा लागेका व्यक्तिबाट जग्गा दान लिएर प्रधानमन्त्रीले यो कुराको पुष्टि गरिसकेको प्रस्ट पारे । 

१०. जग्गा दानको विषयमा प्रधानमन्त्री ओलीले गरे बचाउ
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय बनाउनका लागि लिएको जग्गा दानको विषयमा बचाउ गरेका छन् । उनले व्यवसायी मीनबहादुरले जस्तै अन्य साहुले पनि खुलेर दान गर्नुपर्ने बताएका हुन् ।

 

११. अमेरिकाविरुद्धको शृङ्खला नेपालद्वारा ‘क्लिन स्विप’
अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन म्याचको शृङ्खलामा नेपालले तीन वटै खेल जितेको हो ।

१२. तिहारमा खाने तेल र चिनीको अभाव नहुने
तिहार र छठ पर्व नजिक आइसकेको छ । यी चाडमा प्रयोग गरिने विभिन्न परिकार बनाउन सबैभन्दा धेरै चिनी, तेल र मैदा खपत हुने गर्दछ । चाडपर्वको समयमा यस्ता वस्तुको अभाव हुने र मूल्यवृद्धि हुने जस्ता समस्या आउने गरेका छन् । तर यो वर्ष यस्तो समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् ।

थप सामाग्रीहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप