मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

पाटन प्रिमियर लिग : गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

सोमबार, ०५ कात्तिक २०८१, २२ : ४६
सोमबार, ०५ कात्तिक २०८१

बैतडी ।  पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको छैटौँ दिन आज दुई खेल सम्पन्न भएका छन् । जसमा टिम कोइनोडा गुरुखोला लायन्स र पञ्चेश्वर गाउँपालिका विजयी भए ।

पहिलो खेलमा गुरुखोलाले सागर स्पोर्टस क्लब मेलौलीलाई आठ विकेटले हरायो । जितका लागि पाएको ६९ रनको लक्ष्य गुरुखोलाले चार दशमलव पाँच ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जसमा लोकेश चन्दले अविजित ४९ रनको योगदान गरे । सागर स्पोर्टसका लागि आकाश विष्टले एक विकेट लिए ।  

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सागर स्पोर्टस १३ दशमलब चार ओभरमा ६८ रनमा समेटियो । जसमा धु्रव नायकले १५ रन बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

गुरुखोलाका लागि विकास आग्रीले तीन विकेट लिए । म्यान अफ द म्याचसमेत चुनिएका विकासले तीन ओभर बलिङ गर्दै दुई मेडन राखेर चार रन खर्चिँदै तीन विकेट हात पारेका हुन् । 

आजै सम्पन्न अर्को खेलमा पञ्चेश्वरले पाटन स्टार क्रिकेट क्लबलाई ८६ रनले हरायो । टस हारेर पहिला ब्याटिङ्ग गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २३३ रन बनायो ।  जसमा कप्तान अभिषेक पालले १४२ रन जोडे । स्टारका लागि धिरेन्द्र ऐरीले तीन तथा पंकज चन्दले दुई विकेट लिए ।

जितका लागि २३४ रनको विशाल लक्ष्य पछ्याएको स्टारले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४७ रन मात्रै बनायो ।  जसमा सुदर्शन भट्टले ४४, दिनेश जोशी ३० र आयुश ठगुन्नाले २७ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । पञ्चेश्वरका जयराम भट्टले तीन र विरेन्द्र नाथले दुई विकेट हात पारे ।

अभिषेक प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि शुरू प्रतियोगितामा १७ टोलीको सहभागिता छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान रहेको आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले बताए । द्वितिय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । 

म्यान अफ द सिरिज बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप