मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

अनुसन्धानलाई प्रभावित नपार्न रविका समर्थकलाई नागरिक समाजको अपिल

सोमबार, ०५ कात्तिक २०८१, २२ : ३६
सोमबार, ०५ कात्तिक २०८१

पोखरा । शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई अपराध अनुसन्धानमा बाधा नपुर्‍याउन आग्रह गरेको छ  । सञ्जालले सहकारी ठगीमा जोसुकै भए पनि अभियुक्तलाई कानुनी दायरामा ल्याएर अनुसन्धान अघि बढाउने संस्था र निकायको कार्यप्रति विश्वस्त हुन आग्रह गरेको हो । 

अपराध अनुसन्धान राजनीतिक दबाबबिना निर्बाध हुनुपर्ने समाजको तर्क छ । ‘कानुनको शासनमा जोड दिनुपर्नेमा भीडले गर्ने हरेक निर्णय वैध हुन्छ भन्ने भाष्य स्थापित हुने गरी पार्टीका कार्यकर्ता सडकमा उतार्ने र अनुसन्धानलाई प्रभाव पार्ने कार्य किःमार्थ स्वीकार्य हुँदैन,’ सञ्जालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाका कार्यकर्ताले सभापति रवि लामिछानेलाई बिनाशर्त रिहाइको माग गर्दै पोखरामा निरन्तर आन्दोलन गरिरहेका छन् । त्यसक्रममा आइतबार सहिद चोकमा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेर स्थिति नियन्त्रणमा लिएको थियो । सञ्जालका तर्फ संयोजक विना सिलवाल, एड्भोकेसी फोरमकी कुञ्जनी परियार ‘प्यासी’, इन्सेक प्रतिनिधि शिवप्रसाद खकुरेल, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष पदमराज पहारीले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी उच्च अदालत बार एसोसिएसन पोखराका उपाध्यक्ष गिरधारी सुवेदी, मानवअधिकार रक्षक संरक्षण र प्रवर्द्धन केन्द्रका उपाध्यक्ष ढाकाराम पौडेल, मानवअधिकार एलायन्स गण्डकीका अध्यक्ष शिवराज शर्मा, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, चिल्ड्रेन नेपाल पोखराका निर्देशक डिल्लीप्रसाद शर्मालगायतले विज्ञप्तिमार्फत अनुसन्धानमा सघाउन आग्रह गरेका हुन् ।  

सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि अदालतबाट ६ दिन म्याद थप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप