मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीसँगको भेटघाट

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न– ‘रविलाई जाक्ने र उपेन्द्रलाई बोक्ने किन ?’

सोमबार, ०५ कात्तिक २०८१, २२ : २२
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गौर हत्याकाण्ड’ मा संलग्नलाई दोषी कारबाही गर्न माग गरेका छन् । गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न ढिलाइ किन गरिएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् । 

बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई विपक्षी दलले ज्ञापनपत्र बुझाउने कार्यक्रममा आजपा अध्यक्ष साहले  सो प्रकरणका दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्ने बताए । सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनले बताए । 

‘सरकारको नेतृत्वमा नहुँदा हिजोको दिनमा प्रधानमन्त्री ओलीजीले संसदमा सहकारी ठगी प्रकरणमा रवि निर्दोष भएको बताउँने तर आज सरकारको विरोध गरेपछि रविजी दोषी कसरी भए ?’ आजपा अध्यक्ष प्रधानमन्त्री ओलीसँग प्रश्न गर्दै भने, ‘सरकारको समर्थन गरेकै आधारमा गौर हत्याकाण्डका उपेन्द्रहरूलाई बोक्ने र विरोध गर्ने रविहरूलाई जाक्ने काम ठिक होइन ।’  

उनले सरकारको समर्थन वा विरोध गर्ने आधारमा नभई प्रमाणका आधारमा कारबाही हुनुपर्ने बताए । तर सरकारले विरोध गर्ने विपक्षीलाई जेल हाल्ने र दोषी भए पनि सरकारको समर्थन गर्नेलाई बोक्ने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए । 

आजपा र गौर हत्याकाण्डपीडित सङ्घर्ष समितिले न्यायको माग गर्दै आन्दोलन गर्दै आएको छ । गौरदेखि काठमाडौँसम्म यसबारेमा आन्दोलन हुँदै आएको छ । हत्यारालाई कारबाही नगरिए बाध्य भएर सशक्त आन्दोलनमा जानुपर्ने हुनसक्ने उनले जनाएका छन् । हत्यारालाई कारबाही गराउन आजपाले सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिँदै आएको छ । 

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौँको सङ्ख्यामा निर्दोष नागरिकहरू घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप