बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पुराना शक्ति ओह्रालो लागे, वैकल्पिक शक्ति काण्डमा फसे :  बाबुराम भट्टराई

सोमबार, ०५ कात्तिक २०८१, २१ : २९
सोमबार, ०५ कात्तिक २०८१

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्ति ओह्रालो लागेको र वैकल्पिक भनिएका पार्टीहरू समेत विभिन्न काण्डमा फसेका भन्दै आफ्नै पार्टीले परिवर्तन गर्ने बताएका छन् । उनले कांग्रेस, एमाले र माओवादीको ओह्रालो लाग्ने क्रम सुरु भैसकेको बताए । यस्तै, नयाँ र वैकल्पिक शक्ति पनि काण्डहरूबाट उठ्न नसकेको उनको तर्क छ ।

 ‘कांग्रेस, एमाले र माओवादीहरू ओह्रालो लाग्ने क्रम निरन्तर छ । वैकल्पिक भनिएकाहरू पनि एकपछि अर्को काण्डमा फसिरहेका छन्,’ उनले भने, ‘देशलाई केही वर्षभित्रै अग्रगामी परिवर्तन शक्ति दिनुपर्ने छ । त्यो नेसपा नै हो ।’

उनले नेसपा बाबुरामको पार्टी हो भन्ने भ्रम सिर्जना गरिएको गुनासो पोखे । ‘नेसपा बाबुरामको पार्टी हो भन्ने प्रचार भयो । त्यसो होइन । बाबुराम त भोलि मरेर जान्छ । वैकल्पिक शक्ति भनेको त विचार हो,’ उनले भने, ‘पत्रकार साथीहरुले पनि कांग्रेस, एमाले, माओवादीको घोषणापत्र दाँजेर आपसमा बहस चलाउनुहोस् । हामीहरूको घोषणापत्र उत्कृष्ट बनेको छ ।’

भट्टराईले निजी स्वार्थका लागि अहिलेसम्म केही पनि नगरेको दाबी गरे । ‘बाबुराम भट्टराई अर्थमन्त्री भयो, प्रधानमन्त्री भयो, एक पैसा कसैबाट लिएर देश र जनताको अहितमा लागेको छ भनी कोही प्रमाणसहित भन्छ भने चुनौती छ, म जेल जान तयार छु,’ उनले भने ।

देशमा पुरानै दलको हालीमुहाली भएको टिप्पणी गर्दै एकपछि अर्को दोहोरिएर सरकार चलाउने प्रवृत्ति अन्त्य हुन नसकेको उनले सुनाए । भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि संस्था नै बलियो हुनुपर्ने सुझाव दिए ।

 ‘कुनै पनि वीर पुरुष आएर देशको भ्रष्टाचार रोक्नेवाला छैन । संस्था नै बलियो हुनुपर्छ,’ अघि थपे, ‘हाम्रा संस्थाहरू कमजोर छन् । विधिको शासन कमजोर छ । अर्थतन्त्र कमजोर हुँदै गएको छ ।’ 

पोखरामा सुरु भएको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले वैकल्पिक शक्तिका रूपमा उभ्याउन सबैलाई आह्वान गरेका छन् ।

अधिवेशनमा करिब ४ सय जना प्रतिनिधिले भाग लिएका छन् । पार्टीको केन्द्रीय समिति बढीमा १ सय ५१ सदस्यीय र पदाधिकारी १३ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारी १७ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू/पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचनको प्रणालीद्वारा गरिने प्रस्ताव छ ।

उक्त प्रस्ताव पार्टीका सचिवालय सदस्य, विधान तथा घोषणापत्र मस्यौदा समिति संयोजक डा. जनक शाहले प्रस्तुत गरेका थिए । पोखरा सभागृहमा भएको अधिवेशन आगामी महाधिवेशनको मिति र स्थान तय, निर्वाचन आयोग गठन, सांगठानिक कार्य योजना घोषणा गर्दै मङ्गलवार सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप