मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

छविलाल जोशीसँग मंगलबार पनि बयान लिइने

सोमबार, ०५ कात्तिक २०८१, २१ : १२
सोमबार, ०५ कात्तिक २०८१

बुटवल ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग  मङ्गलवार पनि  बयान लिइने भएको छ । सोमबार बयान नसकिएपछि उनलाई मंगलबार पनि बयान लिइने भएको हो । 

कास्कीबाट सोमबार दिउँसो रुपन्देही ल्याइएका जोशीलाई साँझ पौन सात बजेसम्म बयान लिएको थियो ।  जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा दिउँसो बाट लिएको बयान नसकिएपछि भोलि फेरि बयानलाई निरन्तरता दिने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले रातोपाटीलाई बताए । 

बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गर्नका लागि कास्की प्रहरीले उनलाई रुपन्देही पठाएको र यहाँ बयान लिएपछि पुन कास्की नै पठाइने उनले बताए । पूर्वडीआईजी जोशीलाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले रातोपाटीलाई बताए ।

उनले भने, ‘भोलि पुनः कार्यालय समयबाटै बयान सुरु हुन्छ, त्यसपछि बयान कति समय चल्छ त्यसमा निर्भर हुन्छ ।’  गोरखा मिडिया नेटवर्कमा जीवी राई र रवि लामिछानेका तत्कालीन साझेदार रहेका सो कम्पनीका तत्कालीन उपाध्यक्ष जोशीलाई सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी पूरक अनुसन्धान गर्नुपर्ने भएपछि पोखराबाट भैरहवामा ल्याइएको हो । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

अदालतले कार्तिक ८ गतेसम्म थुनामा राख्नुपर्ने म्याद तोकेका कारण भोलि र पर्सी  जिल्ला अदालत रुपन्देहीमा पेस गर्न नपर्ने एसपी राठोरले बताए । उनले ९ गतेसम्म राख्नुपर्ने अवस्था आएमा मात्रै जिल्ला अदालत पेस गरिने अन्यथा बयान सकेर कास्की नै पठाइने जानकारी दिए । 

पोखराको सूर्य दर्शनबाहेक बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ । 

त्योमध्ये गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेको नाममा २ करोड र  छविलाल जोशीका नाममा २ करोड ५० लाख देखिएको छ । 

सुप्रिम सहकारीको  ९६ करोड रकम अपलन भएको भन्दै  २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ।  उक्त मुद्दामा ८ जना पक्राउ परेका थिए । जसमा  अध्यक्ष ओमप्रकाश गुरुङ जिल्ला  कारागार रुपन्देहीमा छन् भने दीपेश पुनसहित ७ जना धरौटीमा रिहा भएका छन् । जेबी राई लगायतका केही व्यक्ति अझै फरार रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप