मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
चाडपर्व

तिहारमा चिनी र खाने तेलको अभाव नहुने

सस्तो मूल्यमा सहुलियत पसलबाट धमाधम बिक्री
सोमबार, ०५ कात्तिक २०८१, १८ : १७
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । तिहार र छठ पर्व नजिक आइसकेको छ । यी चाडमा प्रयोग गरिने विभिन्न परिकार बनाउन सबैभन्दा धेरै चिनी, तेल र मैदा खपत हुने गर्दछ । जसको कारण ठुलो परिमाणमा चिनी, तेल र मैदा आयात हुने गरेको छ । 

यी वस्तु  निजी तथा सरकारी व्यापार कम्पनीले आयात गरी बिक्री वितरण गर्दै आएका छन् । चाडपर्वको समयमा यस्ता वस्तु अभाव हुने र मूल्यवृद्धि हुने जस्ता समस्या आउने गरेका छन् । गत वर्ष चिनीको अभाव चर्किएको थियो । तर यो वर्ष यस्तो समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् । 

‘ठ्याक्कै स्टकमा राखेको छैन । चिनी, मैदा, तेल लगायतका अत्यावश्यक खाद्यान्न नियमित आयात गरिरहेका छौँ,’ सुवेदीले भनिन्, ‘आयात यति परिमाण हुँदैछ भन्न सक्ने अवस्था छैन । तर तिहारमा यसको अभाव हुन दिँदैनौँ ।’

चिनी, तेल लगायतका खाद्यान्न सहुलियत पसलबाट बिक्री गरिरहेको बताइन् । सरकारले बजारमा हुने गरेको मूल्यवृद्धिलाई रोक्ने उद्देश्यले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । यी पसलहरू खाद्य कम्पनी र साल्ट ट्रेडिङले सञ्चालन गरेका हुन् । जहाँबाट बजारको मूल्यभन्दा सहुलियतमा आवश्यक वस्तु खरिद गर्न सकिन्छ ।

सहुलियत मूल्य पसलबाट भटमास र तोरीको तेल प्रतिलिटर १९८ रुपैयाँ, सनफ्लावर २०३ रुपैयाँ र चिनी १०२ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।   

तर बाहिरी बजारमा अहिले खाने तेलको मूल्य उच्च छ । बजारमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २३० रुपैयाँभन्दा माथि रहेको छ  । यसैगरी तोरीको तेल २२० भन्दा माथि र भटमासको तेल २१० माथि रहेको छ । 

नेपालबाट भारततर्फ निर्यात बढेकाले नेपालमा खाने तेलको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । त्यसैगरी अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएकाले यसको असर नेपालमा परेको नेपाल तेल, चामल दाल उत्पादक संघका कार्यसमिति सदस्य विभोर अग्रवाल बताउँछन् । 

दसैँ अघि ल्याउनुपर्ने चिनी आयात प्रक्रिया अझै सुरु भएन

सरकारले दसैँका लागि ५० प्रतिशतमा भन्सार छुटमा चिनी ल्याउन साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई अनुमति दिएको थियो । तर उक्त चिनीको आयात प्रक्रिया अझै सुरु भएको छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले अघिल्लो वर्षको कोटा बापतको चिनी ल्याइनसकेका कारण प्रक्रिया सुरु गर्न नमिलेको रातोपाटीलाई जानकारी दिइन् । 

‘पुरानो कोटाको बाँकी हुँदाहुँदै नयाँ आयात प्रक्रिया थाल्न नमिल्ने रहेछ अब पुरानो आइसकेपछि मात्रै ३० हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया थाल्छौँ,’ सुवेदीले भनिन् । 

यसर्थ सरकारले अघिल्लो वर्षको लागि दिएको कोटाबापतको १० हजार ९०० मेट्रिक टन चिनी अझै ल्याउन सकेको छैन । यो कोटा सकिने अवधि सेप्टेम्बर ३० सम्म रहेको थियो । उक्त अवधिमा चिनी ल्याउन नसकेपछि फेरि नोभेम्बर १५ सम्म म्याद थप गरेको छ । 

अहिले खाद्य र साल्टले गत वर्षको कोटाको चिनी ल्याउन थालिएको बताइएको छ । खाद्य कम्पनीकी सूचना अधिकारी सुवेदीले १५० टन भन्सारमा आइपुगेको जानकारी दिइन् । 

यस्तै साल्ट ट्रेडिङले कात्तिक मसान्तसम्म ल्याइसक्ने गरी प्रक्रिया थालेको सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । ‘तिहार अघि आउँछ कि तिहार पछि टुङ्गो छैन, तर आयात प्रक्रिया थालेका छौँ,’ उनले भने ।

निजीलाई ल्याउन नदिँदा आयातमा ढिलाइ

सरकारले निजी कम्पनीलाई आयात गर्न नदिँदा चिनी आयातमा ढिलाइ भएको सरोकारवालाहरु बताउँछन् । गत वर्ष नेपालले २५ हजार चिनी आयात अनुमतिको कोटा पाएको थियो । त्यतिबेला सरकारले साल्ट र खाद्यलाई १५ प्रतिशत भन्सार छुटमा चिनी ल्याउने अनुमति दिइएको थियो । तर साल्ट र खाद्यले चिनीको मूल्य महँगो भएको बहानामा आयात गरेनन् । त्यसपछि डाबर नेपाल (निजी कम्पनी) ले ६ हजार मेट्रिक टन चिनी आयात गरेको थियो । 

त्यसपछि ल्याउन बाँकी रहेको १९ हजार मेट्रिक टन थियो । उक्त चिनी चाडपर्वलाई मध्यनजर गरेर यसपाली ७ कम्पनीलाई ल्याउने अनुमति दिइएको थियो । जसमध्ये सबैभन्दा मयुरी ट्रेड लिङ्कले २ हजार ८ सय मेट्रिक टन, प्रमाण टेडर्स, विराटनगरकै शिवाय इन्टरनेसनल, कालीमाटीको विशाल ट्रेडलिङ्क,  प्रमाण इन्टरनेसनल,  सिजन इन्टरप्राइजेज र शिव शंकर ट्रेड कन्सर्नले २ हजार ७ सात सय मेट्रिक टनका दरले चिनी ल्याउने अनुमति पाएका थिए । 

तर बिचमा सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई कोटा बमोजिमको चिनी ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी ल्याउने अनुमति दियो । यो थाहा पाएर मयुरी ट्रेडर्सले उक्त चिनी नल्याउने मन्त्रालयमा जानकारी गरायो । बाँकी ३ निजी कम्पनीले ल्याउनुपर्ने ८ हजार १०० मेट्रिक टन चिनी दसैँ अघि नै ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप