बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

भर्चुअल सम्बन्ध

सोमबार, ०५ कात्तिक २०८१, १७ : १४
सोमबार, ०५ कात्तिक २०८१

दसैँको बेला यसो बानेश्वरतिर टहलिँदै थिएँ, अचानक मेरो भेट बाल्यकालकी साथी सञ्जुसँग भयो । उठेकोदेखि बसेकोसम्म पलपलको खबर दिने मान्छे अचानक बिनाखबर नेपाल आएको देखेर अचम्म मान्दै थिएँ । तैपनि उसलाई भेटेको उत्साहमा मैले उसलाई तानेर कतिबेला अँगालोमा कस्न भ्याएँछु, पत्तै भएन । भावुकताले होला, मेरा आँखा रसाएका थिए । 

उसलाई भेट्दा जति ममा उत्साहको बाढी आएको थियो, त्यसको ठिक विपरीत उसको मुहार उदांग थियो । क्यानडादेखिको लामो यात्राको थकानले होला भन्ठाने । ऊ बल्ल–बल्ल दश वर्षमा नेपाल आकी, उसलाई समयको अभाव हुने नै भयो, भेटघाट धेरै हुँदो हो । यद्यपि हामी भिडबाट किनार लाग्यौँ र एउटा रेस्टुरेन्टमा चिसो मगाइबस्यौँ । अझै पनि उसको मुहारबाट उदासीपन हटेको थिएन । मैले त्यसको कारण सोधेँ । उसको जवाफ एकदमै अप्रत्याशित थियो । 

हाम्रो भर्चुअल सम्बन्ध कमजोर रहेको उसको गुनासो थियो । ऊ सामाजिक सञ्जालमा धेरै नै सक्रिय हुने गर्छे । आफ्ना सानाभन्दा साना खुसीहरू पनि सञ्जालमा बाँड्न चुकाउदिनथी । यता म भने खास सक्रिय थिइनँ । तर पनि उसका कतिपय कुरामा चासो लिई मैले शुभकामना वा बधाई दिएकै हुन्थेँ, इन्बक्समार्फत ।

सञ्जुको भनाइ थियो— सम्बन्ध व्यक्तिगत रूपमा मौलाएर मात्र हुँदैन, अहिलेको समयमा सामाजिक सञ्जालमा पनि सार्वजनिक रूपमा खुलस्त हुनुपर्छ । सम्बन्ध भर्चुअल रूपमा यति मौलाउनुपर्‍यो रे कि हाम्रो सम्बन्धको साक्षी खुद हामी मात्र नभएर सञ्जालमा जुटेका सबै हुनुपर्‍यो रे ! 

समयको अभावले यो मुद्दामा ऊसँग खासै लामो कुराकानी हुन पाएन । त्यस भेटपछि पनि मैले उनलाई धेरैपटक भेट्ने कोसिस गरेँ, तर उसले खासै रुचि देखाइन ।

सामाजिक सञ्जालमा कमजोर सक्रियताले गर्दा सञ्जु मात्र नभएर यस्ता कैयौँ साथी मैले गुमाउनुपरेको छ । सामाजिक सञ्जालमा सक्रिय रुपमा सम्बन्ध दर्शाउनेहरु नै वास्तविक जीवनमा पनि उसै गरी जोडिएका देखिन्छन् । हिजो भावनात्मक सम्बन्ध रहेका मेरा कतिपय साथीहरू आज टिकटक र इन्स्टा परिवार भन्दै अरुहरूसँग नजिकिन पुगेका छन् । यतिसम्म कि आफ्नो छोराको व्रतबन्धजस्तो विशेष दिनमा निम्तो गर्दा समेत साथीभाइको शून्यजस्तो उपस्थिति भएको मेरो अनुभव छ ।

अब सम्बन्ध राम्रो बनाउनु छ भने सबैको पोस्टमा राम्रो रियाक्ट र प्रतिक्रिया गरिदिए पुग्ने भएको छ । आफ्नो उपस्थिति याद गराउनकै लागि भए पनि सञ्जालमा सक्रियता कायम राख्नुपर्ने बाध्यता छ ।

साथीभाइ मात्र नभएर त्यस्ता धेरै आफन्त पनि हुनुहुन्छ मेरा, जसले सामाजिक सञ्जालमा मेरो सक्रियता नदेखेर आफ्ना विशेष कार्यक्रममा समेत मलाई निम्तो गर्न भुल्नुभएको छ । पछि भेट हुँदा कतिपयले भन्नुभयो— तपाईं सञ्जालमा सक्रिय हुनुहुन्न, त्यसैले निम्ताका लागि ख्यालै भएन । 

हाम्रा कतिपय साथीभाइ र आफन्तहरू सामाजिक सञ्जालप्रति अनभिज्ञ वा कम सक्रिय हुनुहुन्छ, अब के उहाँहरूलाई हामीले हाम्रो विशेष कार्यक्रममा बिर्सिनु ? तसर्थ सञ्जालमा कतिसम्म डुब्ने भन्ने कुराको तय चाहिँ हामी सबैले गर्न सक्नुपर्छ । 

यसबाहेक पनि मैले अन्य केही अनुभव गरेकी छु । हिजोआज मानिसले सामाजिक सञ्जालमा गरेका रियाक्ट र प्रतिक्रियाका आधारमा सम्बन्धको गहिराइ मापन गर्ने रहेछन् ।

एकपटक, पत्रिकामा छापिएको मेरो एउटा रचनालाई मैले सामाजिक सञ्जालमा सेयर गरेकी थिएँ । त्यसमा मेरो श्रीमानले रियाक्ट गर्न भ्याउनुभएको थिएन । त्यसकै आधारमा हाम्रो सम्बन्धको गाना मेरा इष्टमित्र तथा आफन्तले गाउन भ्याइसकेका रहेछन् । हो, यस्तो अवस्था नआओस् भनेरै कतिपटक मैले श्रीमान् सुतेका बेला उहाँको अकाउन्टबाट आफैँले रियाक्ट र प्रतिक्रिया समेत गर्नुपरेको अवस्था छ । 

अझ सम्बन्ध कडा देखाउने चक्करमा कतिपटक मैले दुई–चारवटा मिठा शब्दहरू लेखी श्रीमान्को अकाउन्टबाट आफ्ना रचना सेयर समेत गरेकी छु । अनि भोलिपल्ट उहाँबाट गाली खानुपरेको प्रशस्त अनुभव छन् मेरा ।

हो, हरेक चिजका राम्रा र नराम्रा पक्ष हुन्छन् । सामाजिक सञ्जालले हामीलाई तनावको भार धेरै नै बोकाएको छ । अब सम्बन्ध राम्रो बनाउनु छ भने सबैको पोस्टमा राम्रो रियाक्ट र प्रतिक्रिया गरिदिए पुग्ने भएको छ । आफ्नो उपस्थिति याद गराउनकै लागि भए पनि सञ्जालमा सक्रियता कायम राख्नुपर्ने बाध्यता छ ।

सामाजिक सञ्जाल आउनुअघि हाम्रो समाजमा कति आत्मीयता थियो । बाडुली लागिनसक्दा आफ्ना नजिककाले सम्झेको अड्कल काटिन्थ्यो, कतिपय अवस्थामा किटानै गरिन्थ्यो— फलानोले सम्झेको हुनुपर्छ । तर हिजोआज धेरै दिन अनलाइन नदेख्दा पक्कै बिरामी पो भएछन् कि भन्ने र अनलाइन देखेमा सही सलामत रहेछन् भनेर आफैँ भर्चुअल रूपमा अड्कल काट्नुपरेको छ ।

पहिला हाम्रा हजुरबुवा तथा हजुरआमाले तल्लाघरे माइला र माथ्लाघरे काइँला भनेर सर्लक्क चिन्नुहुन्थ्यो र उहाँहरूको दिमागमा उनीहरू र उनीहरूका परिवारसम्मका चासो मात्र हुन्थे । हिजोआज त सञ्जालले कुरा परिवारसम्म मात्र सीमित नराखेर उनीहरूका सोल्टासोल्टीसम्मका चिनजानलाई तन्काएर दिमागमा अनावश्यक बोझ बोकाइदिएको छ । 

तात्पर्य, सञ्जालमा अनावश्यक मानिसका बनावटी ढाडस र चिल्लो घसाइले पराइहरू नजिक हुने र नजिकका आफन्तहरू टाढा हुन पुगेका छन् । मानिसले आफन्तलाई बिर्सिने कारणमध्ये एउटा यो पनि हो ।   
अर्कातिर हाम्रा कतिपय सम्बन्ध डिजिटल र हाम्रा हरेक क्रियाकलाप भर्चुअल रूपमा कैद भएका छन्, जसबाट चाहेर पनि उम्कने सक्ने हाम्रो स्थिति छैन ।

प्रविधिको विकासले हरेक क्षण फट्को मारिरहेको छ र हामीले पनि परिवर्तनलाई स्वीकार गर्नैपर्छ, तर आँखा चिम्लिएर अन्धाधुन्ध बग्नु हुँदैन ।

हामीले आफू संस्कारमा बाँधिएर आफ्नो सोचलाई स्वतन्त्र छाडी प्रविधिको परिवर्तनलाई आत्मसात गर्न सकेको खण्डमा फाइदाजनक हुनेछ ।

सकेसम्म हाम्रा सम्बन्धलाई भर्चुअल रियाक्ट तथा प्रतिक्रियाका रूपमा नतौलौँ । सञ्जालमा हाम्रा सक्रियता वा निष्क्रियता जेजस्ता भए पनि आफ्ना साथीभाइ, आफन्त तथा इष्टमित्रलाई चिन्ने, सम्झने र माया गर्ने गरौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शलुजा बस्नेत
शलुजा बस्नेत
लेखकबाट थप