सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देही विजयी

सोमबार, ०५ कात्तिक २०८१, १७ : ०२
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० प्रतियोगिताको तेस्रो दिन सोमबार सम्पन्न दुई खेलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देही–११ टोली विजयी भएका छन् ।

पहिलो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा श्रीलंकाको क्लब श्रीलंका स्टेट सर्भिसेजलाई आठ विकेटले हरायो । श्रीलंकाली टोलीले दिएको एक सय १३ रनको लक्ष्य साइक क्रिकेटर्सले नौ ओभर बाँकी रहँदै केवल दुई विकेट गुमाएर पुरा गर्यो ।

साइक क्रिकेटर्सका लागि ओपनर मुनिम शाहरियरले अर्धशतकीय योगदान गरे । उनले ३० बलमा दुई छक्का र सात चौकाको मद्दतले ५१ रन बनाए । साद मोशरफले २५, फैसलले अविजित २२ र रकिबले १२ रन बटुले । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनले २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । श्रीलंकाली क्लबका लागि ओपनरद्वय ननी वसुपालीले ५४ र राज वीरले ३२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । साइक क्रिकेटर्सका बलर सहादत रहमान र मोहम्मद रेफले दुई–दुई तथा रकिबले एक विकेट लिए ।

दोस्रो खेलमा नेक्सस रुपन्देही–११ ले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित ग¥यो । तेस्रो खेल खेलेको नेक्सस रुपन्देहीको यो दोस्रो जित हो । जावेद गोहरले दिएको ८१ रनको लक्ष्य नेक्सस रुपन्देहीले ११ ओभरमा केवल तीन विकेट गुमाएर पुरा ग¥यो ।

नेक्सस रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २८ रन बनाए । उनले १९ बलमा एक छक्का र तीन चौका प्रहार गरे । ओपनर म्रिनाल गुरुङले अविजित २० रन बनाए । उनले २५ बलमा दुई चौका पनि प्रहार गरे । पाकिस्तानी क्लबका बलर जइम खानले तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले १८.१ ओभरमा अलआउट हुनुअघि ८० रन बनाएको थियो । पाकिस्तानी क्लबका लागि शमुन इक्बालले १६, कप्तान इमरान नाजिरले १२ र अलि हुसेनले १० रन बनाए ।

नेक्सस रुपन्देहीका बलर शाहब आलमले चार विकेट लिए । उनले ३.१ ओभरमा केवल १० रन खर्चिएका थिए । बसिर अहमदले चार ओभरमा २२ रन खर्चिएर तीन विकेट लिए । पहिलो खेल खेलेका देब्रे हाते स्पिनर दिपेश कंडेलले पनि दुई विकेट हात पारे । कप्तान कृष्ण कार्कीले एक विकेट लिए ।

तेश्रो दिनको खेलपछि अंक तालिकामा भारतको लाइफ केयर क्रिकेट क्लब चार अंकसहित पहिलो स्थानमा छ । बंगलादेशको साइक क्रिकेटर्स पनि चार अंकसहित दोस्रो स्थानमा छ । नेक्सस रुपन्देही चार अंकसहित तेस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप