सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मङ्सिरमा हुने

सोमबार, ०५ कात्तिक २०८१, १६ : २१
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मङ्सिर १४ र १५ गते हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले  मङ्सिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० मा काठमाडौँको होटल हायत रिजेन्सीमा सम्मेलन हुने जनाएको हो । 

सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित हुने प्याब्सनका महासचिव आरबी कटवालले बताए ।  

सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने उनले बताए । 

प्याब्सनको विज्ञप्तिमा भनिएको छ,‘यस शैक्षिक सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नुहुनेछ । साथै, यो सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुनेछ, जसले यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेछ ।’ सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भएको जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । यसका साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् ।’ 

अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन सम्मेलनले भूमिका खेल्ने प्याब्सनको विश्वास छ । 

pp 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप