संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र सोमबार बुझ्दै उनले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् ।
‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौँ लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ’, उनले भने ।
इन्द्रजात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धुनहरू रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे ।
सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषदबाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे । उनले राष्ट्र बैँकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए ।
सरकारले २०६५ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरू हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय