सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

कात्तिक ८ देखि जावलाखेलमा पुष्प मेला

सोमबार, ०५ कात्तिक २०८१, १५ : ०९
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले कात्तिक ८ देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्ष रहने छन् । 

प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने फ्यानले जनाएको छ । यसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । 

प्रतिस्पर्धामा गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छन् । 

साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने भएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ । 

मेलामा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् । यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा हुनेछन् ।

४ दिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ देखि लगातार पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप