बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सङ्घीयतापछि नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढेको छ : मुख्यमन्त्री लामा

सोमबार, ०५ कात्तिक २०८१, १४ : २६
सोमबार, ०५ कात्तिक २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घीयता कार्यान्वयन पश्चात् नागरिकहरूमा स्वास्थ्य सेवाको पहुँच बढेको बताएका छन् । सङ्घीय प्रणालीमार्फत नागरिकहरूको स्वास्थ्य सम्बन्धी समस्या हल गर्न प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायहरूको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नागरिकहरूको नजिकको सरकारको रूपमा रहेर प्रदेशले शिक्षा र स्वास्थ्य सेवा प्रवाह गरिरहेको दाबी गरे । नागरिकहरूसँग प्रत्यक्ष जोडिएर प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको कार्यक्रम र सेवा प्रवाह गरिरहेको उनले बताए ।

स्वास्थ्य क्षेत्रका विकृति अन्त्यका लागि प्रयत्न गरिरहेको उनको भनाई छ ।  नागरिकहरूको प्रत्यक्ष सरोकारको क्षेत्र रहेकाले सरकारले प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रको समस्या हल गर्न अग्रसर भएको उनले बताए । प्रदेश सरकार स्थापना पश्चात् स्वास्थ्य क्षेत्रमा निकै सुधार आएको उनको बताए ।

‘प्रदेश सरकार स्थापना पश्चात् नागरिकहरूको स्वास्थ्य सेवा पहुँच वृद्धि भएको छ । विगतको तुलनामा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीयता वृद्धि हुनुको साथै नागरिकका समस्याहरू हल भएका छन्’ उनले भने, ‘विगतमा केन्द्रीकृत शासन प्रणालीका कारण नागरिकहरूमा शिक्षा र स्वास्थ्यको पहुँच पुग्न सकेको थिएन । एकल अधिकार सूचीमा भएर पनि हुनसक्छ प्रदेशले स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिकसँग जोडिएर काम गरिरहेको छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रलाई नागरिक मैत्री, सर्वसुलभ बनाउन प्रदेश सरकार कानुनलाई समायानुकूल बनाउन तयार रहेको उनले बताए । मुख्यमन्त्री लामाका अनुसार पूर्वाधार तर्फ मात्र नभई चेतनामूलक क्षेत्रमा लगानी बढाएर नागरिकहरूलाई स्वस्थ बनाउन प्रदेश सरकार प्रयासरत रहेको छ । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आहार तथा पोषणलाई व्यवस्थित गर्ने तयारी गरेको उनको भनाई छ । खानेकुराको व्यवस्थापन गर्न सके निकै रोगहरूबाट बच्न सक्ने भएकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर भएर अघि बढेको उनले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले पछिल्लो समय प्रादेशिक अस्पतालहरूका बिरामीको चाप बढिरहेको बताए । प्रदेश सरकारलाई बिरामीको व्यवस्थापन चुनौतीको रूपमा देखिएको उनले बताए । नागरिकहरूको गुणस्तरीय र सहज सेवाका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण पुर्‍याउने विषय सरकारले काम गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप