सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

ओलीको ‘गल्ती’ तीन नेताको थाप्लोमा : स्पष्टीकरण पत्र कुर्दै रावल, पाण्डे र तिम्सेना

सोमबार, ०५ कात्तिक २०८१, १४ : ३०
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट कीर्तिपुरमा पार्टी कार्यालय भवन बनाउन दानमा लिएको जग्गाबारे पार्टीभित्र र बाहिर चर्चा चलिरहेको छ । स्वार्थ बाझिनेगरी दानको जग्गा स्वीकारेको भन्दै आलोचना बढेपछि एमाले नेताहरूले त्यसको बचाउ गर्दै पटकपटक प्रस्टीकरण दिइरहेका छन् ।

तर उनीहरूको प्रस्टीकरण पार्टीकै कार्यकर्ताले चित्त बुझाउन सकेका छैनन् । यद्यपि चित्त बुझाउन नसकेका नेताहरू खुलेर बोल्न चाहँदैनन् ।

विभिन्न विषयमा आरोपित गुरुङबाट, त्यो पनि झण्डै एक अर्ब बराबरको जग्गा र भवनसमेत दान लिने पार्टी नेतृत्वको निर्णय गलत भएको भन्दै गल्ती सच्याउन सुझाव दिने तीन जना नेता पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई त नेतृत्वले पार्टी निर्णय र हितविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय नै गरिसकेको छ ।

462535516_535316486111379_99054901130655383_n

एमालेको यो निर्णयलाई अन्तरपार्टी लोकतन्त्र, दलभित्रको अभिव्यक्ति स्वतन्त्रता, सार्वभौम पार्टी सदस्यको सिद्धान्त र लोकतन्त्रमा निर्भयको अधिकारको सवालका रूपमा समेत चर्चा हुन थालेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले रावल, पाण्डे र तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि सोमबार दिउँसोसम्म पत्र आइनसकेको तीनै जना नेताले बताएका छन् । स्पष्टीकरण सोधिएका नेताहरूले पत्रको बेहोरा हेरेरमात्र आधिकारिक धारणा बनाउने बताएका छन् ।

‘पत्र आइसकेको छैन । पत्र आएपछि धेरै कुरा थाहा होला र त्यसपछि विस्तृतमा बताउँला, पहिला त पत्र हेर्नुपर्‍यो’, पूर्वउपाध्यक्ष रावलले रातोपाटीसँग भने ।

नेतृत्वले आफूहरूलाई स्पष्टीकरण सोधेर आफ्ना गल्तीहरूलाई ढाक्ने बर्को प्रयोग गरेको रावलको भनाइ छ ।

‘अहिले यतिमात्र भन्छु– आफ्ना गल्तीहरूलाई ढाक्ने बर्को प्रयोग गरेको हो यो । गलत गर्ने मान्छेले राम्रो बाटोमा जाऔँ भनेको कुरा सहन गर्दैन । एमालेमा पनि भएको त्यही हो’, रावलले भने ।

केन्द्रीय सदस्य तिम्सेनाले पार्टीहरूले नै गर्दै आएको अभ्यास समाजमा समस्याको कारक भएको बताइन् ।

‘समाजमा आज जे समस्या छ । यो समस्याको कारक भनेको हामीले गर्दै आएको अभ्यास हो’, उनले भनिन्, ‘जुन अभ्यासले जनताको मन जित्न सकेन । यसलाई कसरी हेर्ने ? आम जनता र पार्टीका कार्यकर्ताको समेत चासोको विषय भएकाले यस विषयमा बोलेको हो ।’

तिम्सेनाले राजनीतिक पार्टीहरू जवाफदेही र पारदर्शी नभएसम्म समाज परिवर्तन र बलियो नहुने धारणासमेत राखिन् ।

गत असोज २४ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कुनै दानवीरले कीर्तिपुरमा पार्टी कार्यालय भवन बनाउन जग्गा दिन लागेको भन्दै असोज २५ गते उक्त स्थानमा पार्टीको भवन बनाउने सन्देश सुनाएका थिए ।

सोही अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र व्यवसायी मीनबहादुरले दसैँको अष्टमीको दिन अर्थात् असोज २५ मा संयुक्त रूपमा कीर्तिपुरको मित्रनगरमा भवनको शिलान्यास गरेका थिए । मीनबहादुरले भवन निर्माण गर्न १० रोपनी १४ आना जग्गा दिएको एमालेको दाबी छ ।

तर उक्त जग्गा र दाताबारे एमालेका केही नेतासहित अन्य पार्टीका नेता कार्यकर्ताहरूले सार्वजनिक रूपमा प्रश्न उठाएपछि अध्यक्ष ओलीसहितका केही नेताले विपत्तिका बेला दान लिन पाउने अधिकार जो कसैलाई भएको र दान लिनु मानवीयताभित्रै पर्ने भन्दै पार्टीका नेताहरूलाई स्पष्टीकरण सोध्ने र अरुलाई प्रस्टीकरण दिँदै आएका छन् । आइतबार सचिवालय बैठक बसेर एमालेले दान लिने निर्णयबाट पछि नहट्ने निर्णय गरेको छ ।

सोमबार पार्टी महासचिव शंकर पोखरेलले दानको विषयमा आलोचना गर्ने अन्य पार्टीका नेता कार्यकर्ताहरूलाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् । उनले बरु आफ्नो पार्टी बनाउनतिर लाग्न त्यस्ता व्यक्तिलाई सुझाव दिए । 

एमालेका एक सचिवालय सदस्यका अनुसार आइतबारको सचिवालय बैठकमा समेत जग्गा दान र स्पष्टीकरण सोध्ने विषयमा नेताहरूबिच छलफल हुँदा अहिले नै स्पष्टीकरण नसोध्ने कि भनेर केही नेताले धारणा राखेका थिए । तर अध्यक्ष ओलीले ‘तीन नेतालाई स्पष्टीकरण सोधौँ र अहिले यति गरौँ’ भनेर बैठक टुङ्ग्याएका थिए ।

‘केही नेताले इस्यु उठाएका कारण विषय धेरै मुखरित भयो । त्यसैले स्पष्टीकरण नसोध्दा थप बढ्दै जान्छ भन्ने बुझेर अध्यक्षले स्पष्टीकरणमा जोड गर्नुभएको हो’, एक सचिवालय सदस्यले भने, ‘यसले पार्टीलाई कहाँ पुर्‍याउँछ भनेर अहिले नै भन्न सकिँदैन ।’

पूर्वएमाले नेतासमेत रहेका कम्युनिस्ट नेता राधाकृष्ण मैनाली जग्गा दान लिने निर्णयबारे केही नेताले सार्वजनिक गरेको धारणापछि उनीहरूलाई स्पष्टीकरण सोधेर एमालेले  तानाशाही प्रवृत्ति देखिएको बताउँछन् ।

‘एमालेलाई कम्युनिस्ट पार्टी भन्नु बेकार छ । लोकतन्त्रमा फरक मत राख्न पाइन्छ । त्यो पनि नेतृत्वले गल्ती गर्‍यो भने यो गल्ती भयो भन्न पाइन्छ’, मैनालीले रातोपाटीसँग भने, ‘एमालेले जुन जग्गा दान लियो, त्यसमा नेता कार्यकर्ताले आपत्ति जनाउनु स्वाभाविक पनि हो ।’

सच्चा नेता कार्यकर्ताले आपत्तिमात्र होइन, विरोध गर्दै जुलुस नै निकाल्नुपर्ने मैनालीको धारणा छ । ‘किनभने एमालेले एक अर्ब सम्पत्ति दान पाउनुपर्ने कारण के हो ? दान पाउनुपर्ने त गरिबगुरुवा वा सानो पार्टीलाई दिनुपर्ने हो । देशको सबैभन्दा ठुलो पार्टी भनेर एमालेले आफूलाई भन्ने गरेको छ । त्यसमाथि धनी पार्टीलाई एक अर्ब दान दिनुको औचित्य नै देखिँदैन’, मैनालीले भने ।

धेरैले यसलाई ‘लेनदेन’ भनिरहेको प्रसङ्ग निकाल्दै मैनालीले एमालेकै कार्यकर्ताले पनि सपाट दान हो भनेर पत्याउन नसकेको दाबी गरे । ‘ती तीन जनाले बाहिर बोले तर नबोलेर नरुचाउने ठुलो सङ्ख्या एमालेमा छ,’ उनले भने ।

त्यति धेरै सम्पत्ति दान लिनेबारे एमाले सचिवालय र स्थायी कमिटीमा छलफल नै नहुनु थप रहस्यमय रहेको मैनालीको बुझाइ छ ।

‘पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीलाई थाहा नभइ त्यत्रो सम्पत्ति दान लिनु आफैँमा रहस्यमय छ । अर्कोतिर दानको औचित्य पनि पार्टीले गर्न सकेको छैन’, मैनालीले प्रश्न गर्दै भने, ‘किन पायो त एमालेले त्यति धेरै सम्पत्ति ? भित्री लेनदेन थिएन भने यत्रो दान किन र कसरी आयो भनेर प्रश्न त स्वाभाविक रूपमा उठ्छ ।’

बरु एमाले नेतृत्वले प्रश्न गर्ने नेता कार्यकर्ताहरूलाई चित्त बुझाउन सक्नुपर्नेमा स्पष्टीकरण सोधेर विषयलाई थप जटिल बनाएको उनले बताए । ‘स्पष्टीकरण सोधेपछि अब दुवैतर्फ अप्ठ्यारो हुने देखिन्छ । स्पष्टीकरण सोधिएकाहरूले मैले देखेको कुरा भनेँ, यो ठिक होइन भनेर अडान राखे भने पनि पार्टीमा झन् आपत हुन्छ । होइन, बोल्न गल्ती गरेछौँ भन्दा पार्टीभित्रको बास्तविकता यो थियो भन्ने आरोप लागिरहने भयो’, मैनालीले भने, ‘ठिक भने पनि बेठिक भने पनि पार्टी प्रचारका निम्ति बेठिक नै हुन्छ, यसरी सार्वजनिक रूपमा प्रस्टीकरण सोध्नु राम्रो काम होइन ।’

मैनालीले एमाले प्रचार विभागले मीनबहादुर गुरुङ पहिला अखिलको कार्यकर्ता थिए भनेर भने पनि यति सालमा यो कमिटीमा थिए भन्न नसकेको भन्दै स्पष्टीकरण सोधिसकेपछि कारबाही गर्नुपर्ने र त्यसले पार्टीमा झन् बद्नाम हुने बताए ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा एमालेभित्रको स्पष्टीकरण प्रकरण अन्तरपार्टी लोकतन्त्र, दलभित्रको अभिव्यक्ति स्वतन्त्रता, सार्वभौम पार्टी सदस्यको सिद्धान्त र लोकतन्त्रमा निर्भयको अधिकारको सवाल भएको बताउँछन् ।

‘एमालेले भीम रावल, विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्यो । निश्चित छ, अब निष्कासन वा किनारीकरण गर्छ’, खतिवडाले भने, ‘यो घटनालाई देखाएर अरुलाई तर्साउँछ । भयको विस्तार गर्छ ।’

उनले यस विषयमा कुनै पार्टीभित्रको आन्तरिक विषय भनेर मौन बस्न पनि सकिने तर सार्वभौम पार्टी सदस्यको सिद्धान्त र लोकतन्त्रमा निर्भयको अधिकारको सवाल समेत भएकाले एक सर्वव्यापी विषय भएको बताए ।

‘तसर्थ ओली स्टालिनवादको एमालेभन्दा बाहिरबाट पनि निन्दा हुनुपर्छ । म त खुलेरै घोर निन्दा र भर्त्सना गर्न चाहन्छु । गैरलोकतान्त्रिक चरित्र जुनसुकै दलमा देखियोस्, त्यो लोकतन्त्रका लागि चिन्ताको विषय हो’, खतिवडाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप