सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

ओली साम्राज्य अन्त्यको सुरुवात

सोमबार, ०५ कात्तिक २०८१, १२ : ३१
सोमबार, ०५ कात्तिक २०८१

देशको वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व एवं उनको जीवनका वक्ररेखा प्रस्तुत गरिरहँदा उनको संघर्षपूर्ण राजनीतिक जीवनको सबैभन्दा अगाडि ‘झापा आन्दोलन’ आउँछ । 

झापा आन्दोलनका नायकका रूपमा ओलीको चर्चा राजनीतिक वृत्तमा सधैँजसो भइरहने बहसमध्येको एक हो । यथार्थमा केपी शर्मा ओली राजनीतिमा लागेको तीन–चार वर्षमै जेल परे । उनी जेलबाट रिहा भएको तीन–चार वर्षमै देशको पञ्चायती व्यवस्था ढल्यो । ओलीले त्यसको ब्याज खान पाएनन् । त्यसैले बहुदलीय व्यवस्था आउनु पूर्वसम्म राजनीतिमा ओलीको खासै अग्रणी भूमिका थिएन भन्दा हुन्छ, तर वाकपटुतामा माहिर ओलीले कतै न कतै पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याउन जेल गए भनेर जनता झुक्याइहाल्छन् । आजसम्म उनले त्यसको निरन्तरता दिइरहेकै छन् ।

झापा आन्दोलन कमिटीका प्रमुखका रूपमा ओलीको चर्चा पनि निकै रमाइलो छ । ०२९ सालमा टीबी रोग लागेपछि झापा संगठन कमिटीको सचिवबाट राधाकृष्ण मैनालीले बिदा लिए । मैनालीका ठाउँमा कसलाई राख्ने भन्ने छलफल चल्यो । ‘यी केपी ओली खालि गुनासो मात्रै गर्छन्, यिनैलाई बनाइदिऊँ’ भन्ने भएपछि ओलीलाई उक्त कमिटीको सचिव बनाइयो । आज देशको चौथोपटक प्रधानमन्त्री भइसक्दा पनि पाँचौँपटक प्रधानमन्त्री बन्नका लागि गुनासो गर्दै छन् । उनको गुनासो सुनिदो रहेछ, तर जनताको गुनासोको के हिसाब ?

कमिटी प्रमुख बनेको चार महिनासम्म ओलीले एउटा पनि बैठक नबोलाएपछि  उनलाई हटाएर सीपी मैनालीलाई सचिव बनाइयो । ओली ०२९ साल कात्तिकदेखि फागुनसम्म सचिव पदमा रहे, जुन समय राजनीतिक व्यक्तिका लागि हनिमुनको समय नभई राजनीतिक अनुभव र सिक्ने समय थियो । त्यो समय सिन्को नभाँची खेरा फाले । त्यो देखेर पार्टी पंक्तिका कमरेडले आज पनि ओलीले झापा आन्दोलनमा सशस्त्र क्रान्तिको साटो शान्तिपूर्ण जनसंघर्षको लाइन लिएको हुन सक्ने तर्कलाई पनि ‘भय’सँग गाँसेर विश्लेषण गर्ने गर्छन् ।

राजनीतिकर्मीहरूको जीवन खुला किताब हो भनिन्छ, तर हाम्रो देशमा राजनीतिकर्मीको जीवन रातो कपडाले बाँधेर खोपीमा राखेको पुस्तकजस्तै भएको छ । केपी ओली खोपीमा राखेको पुस्तकजस्तै हुन्, उनलाई छुन हुँदैन, उनलाई पढ्न हुँदैन । हुन्छ त केवल पूजा मात्र गर्न हुन्छ । 

झापा आन्दोलनको सचिवबाट हटेपछि केपी ओली पार्टीमा लगभग सम्पर्कविहीन जस्तै बने । त्यसबेला पञ्चायती दमन पनि चर्कै थियो भनिन्छ । पञ्चायती दमनपछि झापा आन्दोलनका उग्र लाइनका पक्षधरका सबै झापाबाट भागेर भारतको कानपुर पुगेका थिए । केपी ओली पनि पार्टीको सम्पर्कमा नगई विराटनगर पुगेर कानपुर पुगे । केही समय भारतको शरणमा बसेपछि फेरि नेपाल आए । 

भारतबाट नेपाल फर्केपछि ओलीलाई भारतको खास मान्छेको रूपमा हेरिन्थ्यो । त्यसैले आज पनि ओलीको ‘खोक्रो राष्ट्रवाद’को गुलियो चास्नीमा महाकाली सन्धिको सुगर रोगले नेपाली जनतालाई गालिरहेकै छ । महाकाली सन्धिको विगतलाई हेर्दा ओली कुनै पनि बेला भारतको इसारामा नाच्न सक्ने नेता हुन् भन्दा फरक नपर्ला ।

  • अपारदर्शी ओली

राजनीतिकर्मीहरूको जीवन खुला किताब हो भनिन्छ, तर हाम्रो देशमा राजनीतिकर्मीको जीवन रातो कपडाले बाँधेर खोपीमा राखेको पुस्तकजस्तै भएको छ । केपी ओली खोपीमा राखेको पुस्तकजस्तै हुन्, उनलाई छुन हुँदैन, उनलाई पढ्न हुँदैन । हुन्छ त केवल पूजा मात्र गर्न हुन्छ । 

केपी ओली एमालेभित्र राजनीतिक, भौतिक र आर्थिक रूपमा अपारदर्शी नेता हुन् । विशेष गरी डनहरूको संरक्षण गरेको आरोप उनीमाथि लाग्ने गरेकै छन् । एकातिर सर्वहारा वर्गको कुरा गर्ने र सामान्य परिवारको बताउने उनको दैनिक जीवनको खर्च, झापाको दमक र भक्तपुरको बालकोटमा दुईवटा घरहरूको स्रोत अपारदर्शी नै छ । उनकै नेतृत्वमा रहेका पार्टीका अन्य नेता–कार्यकर्ताको सरकारी जग्गा अपचलनमा संलग्नता, विमान खरिद प्रकरणमा घोटाला, हाकाहाकी करोडौँ रुपैयाँ हान्देको हो भन्ने अभिव्यक्ति दिनेजस्ता कुराको जवाफदेही पहिले पार्टी अध्यक्ष बन्नुपर्दैन ? 

देशको प्रधानमन्त्री पदमा पदासीन व्यक्तिले आफैँले मुद्दा चलाएको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएको अर्बौंको सम्पत्ति पार्टीका लागि लिन कसरी मिल्छ ? नेपालको कानुनले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा स्रोत खुलाउन लगाएर मात्र लिनुपर्ने व्यवस्था गरेको छ । नेपालको कानुनअनुसार आर्थिक सहायता प्राप्त गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा लिने गरी दलले सहयोग प्राप्त गर्नुहुँदैन भनेको छ । सरकारले नै करछली प्रकरणमा ताकेता गरिरहेकोे व्यापारीसँग यसरी देशको प्रधानमन्त्रीको साँठगाँठ देखिनु भनेको स्वार्थ बाझिने करछलीमा हेरफेरको कुरा होइन भनेर जनताले प्रधानमन्त्री केपी ओलीमाथि विश्वास गर्न सक्तैनन् ।

ओलीले अब मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउँछु भने भने जनताले यो बुझून्, ओली साम्राज्यभित्रको भ्रष्टाचार र अपारदर्शिताको अन्त्य नगरेसम्म न विकास सम्भव छ, न त समृद्धि । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप