सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा

सोमबार, ०५ कात्तिक २०८१, ११ : १३
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा स्कटल्यान्डका चर्चित अलराउन्डर ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

सुदूरपश्चिम रोयल्सले २५ वर्षीय अलराउन्डर म्याकमुलेनलाई टोलीमा आबद्ध गरेको हो । एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो विदेशी खेलाडी भित्राएको हो । सुदूरपश्चिम रोयल्सले म्याकमुलेनको आगमनले टोली थप बलियो भएको बताएको छ ।

म्याकमुलेनले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट थुप्रै एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले देशका लागि २२ एकदिवसीय अन्तर्राष्ट्रियको २० पालीमा कुल सात सय २१ रन बनाएका छन् ।

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सतक र दुई अर्धसतक पनि बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ३६ रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३० वटा विकेट पनि लिएका छन् ।

यसैगरी, म्याकमुलेनले १६ टी–२० अन्तर्राष्ट्रियको १५ पालीमा कुल चार सय ९७ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले ६ वटा अर्धसतक पनि बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने ९६ रन हो । उनले यो ढाँचाको क्रिकेटमा दुई विकेट पनि लिएका छन् ।

ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । दीपेन्द्र राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । हालै सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा सुदूरपश्चिम रोयल्सले एक खेलाडी आरिफ शेखलाई अधिकतम १५ लाख रुपैयाँमा खरिद गरेको थियो ।

यसैगरी, सुदूरपश्चिम रोयल्सले अविनाष बोहरालाई १२ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्राएको थियो । सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीका लागि भने १० लाख रुपैयाँ खर्चिएको थियो । ईशान पाण्डेलाई सुदूरपश्चिम रोयल्सले नौ लाख ५० हजार रुपैयाँमा किनेको थियो ।

यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सले अर्जुन कुमाललाई सात लाख ५० हजार तथा खड्कबहादुर बोहरा र नरेश बुढाऐरलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । सुदूरपश्चिम रोयल्सले भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा किनेको थियो । सुदूरपश्चिम रोयल्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप