सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिगमा नामको स्वामित्व विवाद

आमिर अख्तरको चेतावनीपछि राखेपले क्यानसँग माग्यो आवश्यक कागजात

सोमबार, ०५ कात्तिक २०८१, ११ : ०७
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । पूर्वक्रिकेटर आमिर अख्तरले फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आफ्नो नाममा दर्ता रहेकाले आफ्नो सहमति नलिइ यो नामबाट प्रतियोगिता सञ्चालन नगर्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएपछि नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि यसप्रति चासो व्यक्त गरेको छ ।

क्यानले निकट भविष्यमा फ्रेन्चाइज प्रतियोगिता एनपीएल आयोजना गर्ने तयारी अगाडि बढाएको छ । प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुने भनिएको छ । यसका लागि क्लबका मालिकहरूको चयनदेखि खेलाडीको अक्सन (खरिद–बिक्री प्रक्रिया) समेत सम्पन्न भइसकेको छ ।

तर, पूर्वक्रिकेटर आमिर अख्तरको पछिल्लो दाबीपछि प्रतियोगिता नै विवादमा परेको छ । आमिर अख्तरले एनपीएलको नाममा आफूले प्रतियोगिता सञ्चालन गर्दै आएको र यसको दर्ता पनि आफ्नै नाममा रहेको दाबी गरेका छन् ।

उनले केही समयअघि आफ्नो सहमति नलिइ एनपीएलको नाममा प्रतियोगिता सञ्चालन नगर्न आग्रह गर्दै क्यानलाई पत्र पठाएका थिए । त्यो पत्रको बोधार्थ उनले युवा तथा खेलकुद मन्त्रालय, राखेप, कम्पनी रजिष्ट्रारको कार्यालय र आगामी एनपीएलमा सहभागी हुने भनिएका आठवटै क्लबलाई पनि पठाएका थिए ।

आमिर अख्तरको उक्त दाबीपछि राखेपले कार्तिक १ गते क्यानलाई पत्र पठाउँदै एनपीएल आयोजनाको तयारी र त्यससँग सम्बन्धित कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । राखेपले एनपीएल सञ्चालनका क्रममा भएका निर्णयहरूको प्रतिलिपि क्यानसँग माग गरेको हो ।

यसैगरी, राखेपले एनपीएलको मालिक (कम्पनी) को दर्ता, करचुक्ता प्रमाणपत्र, नवीकरण र कम्पनीको उद्देश्यको प्रतिलिपि पनि क्यानसँग माग गरेको छ । राखेपले नेपाल क्रिकेट संघ र फ्रेन्चाइज मालिक (कम्पनी) बिच भएको सम्झौताको प्रतिलिपि पनि क्यानसँग मागेको छ ।

यसका अतिरिक्त, राखेपले एनपीएलमा सहभागी हुने खेलाडी र प्रशिक्षकको विवरण तथा लिग सञ्चालन सम्बन्धी संघबाट कुनै निर्देशिका तयार पारेको भए वा नेपाल क्रिकेट संघको विधानमा लिग सञ्चालन सम्बन्धी कुनै व्यवस्था भए त्यसको जानकारीसमेत माग गरेको छ ।

यसैगरी, राखेपले विदेशी खेलाडी एवं प्रशिक्षकको हकमा फोटोसहितको बायोडाटा, नेपाल क्रिकेट संघले खेलाडी, प्रशिक्षक वा खेल संस्थासँग गरेको सम्झौताको प्रतिलिपि, श्रम स्वीकृतिको विवरण तथा विदेशी खेलाडी एवं प्रशिक्षकहरूको पासपोर्ट (राहदानी) को प्रतिलिपि पनि क्यानसँग माग गरेको छ ।

क्यानलाई पठाइएको पत्रमा राखेपअन्तर्गतको लिग व्यवस्थापन कार्यदलका संयोजक सानुराज केसीले हस्ताक्षर गरेका छन् । राखेपले क्यानसँग एनपीएलको दर्तादेखि लिएर सम्पूर्ण विवरण माग गरेपछि यो विवादले नयाँ मोड लिएको छ ।

आमिर अख्तरले क्यानलाई पठाएको पत्रमा आफ्नो सहमति नलिइ एनपीएलको नाममा प्रतियोगिता आयोजना गरे आफू कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि दिएका छन् । उनले आफ्नो स्वामित्वमा दर्ता रहेको नामबाट अरु कसैले प्रतियोगिता आयोजना गर्नु कानुन विपरीतको काम भएको दाबी गरेका छन् ।

अख्तरले क्यानसँग सहमति भएमा आफू नेपाल प्रिमियर लिगको स्वामित्व क्यानलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन् । 

‘म आमिर अख्तर नेपालको पूर्वक्रिकेटर तथा एनपीएल र ईपीएलको सञ्चालक समेत हुँ । क्यानकै सहमतिमा मैले विगतमा एनपीएलको पहिलो संस्करण सञ्चालन गरेको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल प्रिमियर लिग प्रालिको एकल सेयर धनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी पनि दर्ता गराएको छु,’ उनले पत्रमा भनेका छन्, ‘मेरो सहमति नलिइ कसैले यो नाममा प्रतियोगिता सञ्चालन गरे म प्रचलित कानुन अनुसार न्याय माग्न न्यायिक निकाय समक्ष जान बाध्य हुनेछु ।’

आगामी आईपीएलमा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा क्लबको सहभागिता रहने तय भइसकेको छ । प्रतियोगितामा सहभागी क्लबहरूले आफ्नो तयारी पनि अगाडि बढाइसकेका छन् । क्लबका मालिकहरूले तयारीका क्रममा ठुलो धनराशी खर्च गरिसकेका छन् । क्लबहरूले आफ्नो टोलीमा धमाधम विदेशी खेलाडी र प्रशिक्षक पनि आबद्ध गरिरहेका छन् ।

विराटनगर किङ्स एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा छ । एमएडी ड्रिम्स स्पोर्टस प्रालिले एक करोड ५१ लाख रुपैयाँमा विराटनगर किङ्सको स्वामित्व खरिद गरेको थियो । विराटनगर किङ्सको मार्की खेलाडी सन्दीप लामिछाने हुन् । चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् ।

यसैगरी, जनकपुर बोल्ट्स ‘ड्रिम स्पोर्टस प्रालि’को स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । कर्णाली याक्स ‘हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालि’को स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् ।

काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् ।

यसैगरी, लुम्बिनी लायन्स ‘फरच्युना हेल्थ केयर प्रालि’को स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालिले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् ।

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् ।

यसैगरी, ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप