सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेले पोखरा एभेन्जर्समा

सोमबार, ०५ कात्तिक २०८१, ०९ : ३७
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्यान्ड्सका चर्चित अलराउन्डर बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखरा एभेन्जर्सले २४ वर्षीय बास डी लिडेलाई आफ्नो टोलीमा आबद्ध गरेको हो । एनपीएलका लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्राएको हो । पोखरा एभेन्जर्सले यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।

पोखरा एभेन्जर्समा नेपाल राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् । बास डी लिडेले नेदरल्यान्ड्सका लागि थुप्रै एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

उनले ४३ एकदिवसीय अन्तर्राष्ट्रियको ४१ पालीमा कुल नौ सय ७६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र तीन अर्धशतक पनि बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय २३ रन हो । यो ढाँचाको क्रिकेटमा उनले ४३ विकेट पनि लिएका छन् ।

यसैगरी, उनले ३८ टी–२० अन्तर्राष्ट्रियको ३५ पालीमा कुल ६ सय ९७ रन बनाएका छन् । उनले यो ढाँचाको क्रिकेटमा चारवटा अर्धशतक प्रहार गरेका छन् । यो ढाँचामा उनको उच्च स्कोर भने अविजित ९१ रन हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ३३ विकेट पनि लिएका छन् ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बास डी लिडेलाई अनुबन्ध गरेपछि टोली थप बलियो हुने विश्वास गरेका छन् । पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले चर्चित विदेशी खेलाडीहरूलाई समेट्दै टोली बलियो बनाउने योजनामा आफूहरू रहेको बताए ।

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो ।

केही समयअघि सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा पोखरा एभेन्जर्सले एक खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ खर्चिएको थियो । पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सागर ढकाल हुन् ।

यसैगरी, पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । पोखरा एभेन्जर्सले चारजना खेलाडीका लागि १०–१० लाख रुपैयाँ र दुईजना खेलाडीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो ।

पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा किनेको खेलाडी किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथ हुन् । पोखरा एभेन्जर्सले पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी तृतराज दास र सुनाम गौतम हुन् । पोखरा एभेन्जर्सले दिनेश खरेल र अमृत गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । पोखरा एभेन्जर्सले अक्सनमा कुल ८० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । एनपीएपल आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप