सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

अमेरिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालको ‘क्लिन स्विप’

सोमबार, ०५ कात्तिक २०८१, ०९ : ००
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्विप’ गरेको छ । नेपाली टोलीले सोमबार सम्पन्न शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा पनि अमेरिकालाई आठ विकेटले पराजित गर्‍यो ।

टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अमेरिकाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.४ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

463930667_978235367666177_2594661846543065593_n

यसअघि खेलिएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो । शृङ्खलाको दोस्रो खेलमा नेपाली टोलीले अमेरिकालाई ‘सुपर ओभर’ मा हराएको थियो । नेपाल र अमेरिकाबिचको दोस्रो खेल निकै रोमाञ्चक थियो । निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको थियो ।

सोमबार सम्पन्न तेस्रो खेलमा नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले ५० रन बनाए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ३९ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।

asif

२३ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो छैटौँ अर्धशतक हो । नेपाली टोलीका लागि कुशल भुर्तेलले अविजित ४० रनको योगदान गरे । उनले ३२ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि अविजित ४४ रनको योगदान गरे । उनले केवल ३० बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । त्यसअघि ओपनर ब्याट्सम्यान अनिल साह १३ रन बनाउँदै आउट भएका थिए ।

अनिल आउट हुँदा नेपालको स्कोर ३३ रन थियो । त्यसपछि आसिफ शेख र कुशल भर्तेलले टोलीको स्कोरलाई ८३ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए । नेपाली टोलीले अतिरिक्त रूपमा पनि १० रन पायो । घरेलु टोली अमेरिकाका बलर जुनोय ड्रायसडेल र जसदीप सिंहले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकालाई मध्यम स्कोरमा समेट्न नेपाली टोलीका बलर सोमपाल कामीले तीन विकेट लिएका थिए । उनले चार ओभरमा २७ रन खर्चिएका थिए । रिजन ढकाल र ललित राजवंशीले पनि एक–एक विकेट हात पारे ।

अमेरिकाका लागि ओपनर ब्याट्सम्यान साइतेजा मुक्कमलले ६८ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ५१ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काएका थिए । अमेरिकाका लागि मिलिन्द कुमारले पनि अविजित ४३ रन बनाए ।

मिलिन्दले ३५ बलको सामना गरी चार चौका प्रहार गरेका थिए । हरमित सिंहले पनि अविजित १० रन बनाएका थिए । अनुभवी खेलाडी एरोन जोन्स भने १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । आन्द्रेस गौस पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।

खेलमा आसिफ शेख प्लेअर अफ द म्याच घोषित भए भने सोमपाल कामी प्लेयर अफ द सिरिज घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप