सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
संसद्

संघीय संसद्ले भारतसँग माग्यो ‘लग्जरियस’ कारसहित ७५ वटा मोटरसाइकल

सोमबार, ०५ कात्तिक २०८१, ०६ : १०
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । संघीय संसद् सचिवालयले सभामुख लगायत संसद्का पदाधिकारी र कर्मचारीका लागि भारतसँग सुविधा सम्पन्न सवारी साधन मागेको छ । संघीय संसद् सचिवालय स्रोतका अनुसार भारतीय दूतावाससँग सुविधा सम्पन्न करिब ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागिएको हो ।

मागिएका कारहरू इलेक्ट्रिक प्रविधिका साथै सुविधा सम्पन्न हुने जनाइएको छ । संसद्का सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, विभिन्न संसदीय समितिका सभापति, दलका प्रमुख सचेतक, महासचिव लगायतका पदाधिकारीका लागि ती कार प्रयोग गर्ने सचिवालयको योजना छ ।

सचिवालयले भारतसँग ७५ वटा मोटरसाइकल मागेको छ । भारतले सो सङ्ख्यामा मोटरसाइकल दिएको खण्डमा सचिवालयका कर्मचारीलाई उपलब्ध गराउने योजना रहेको एक कर्मचारीले बताए । सचिवालयका ती कर्मचारीले भने, ‘भारतले यति मोटरसाइकल दियो भने सचिवालयमा रहेका अधिकृत तहका कर्मचारीलाई यातायात सुविधा दिन सकिन्छ । संसद् सेवाका कर्मचारीलाई उत्प्रेरित गर्न कुनै सुविधा छैन । एउटा मोटरसाइकल मात्र भयो भने पनि काम गर्न हौसला हुन्छ भन्ने अपेक्षा हो ।’

भारतीय दूतावास मार्फत सवारी साधन उपलब्ध हुने निश्चितजस्तै भएको तर सिधै संसद् सचिवालयलाई नदिई अर्थ मन्त्रालयको बाटो हुँदै दिन खोजेको स्रोतको भनाइ छ । त्यसका लागि अर्थ मन्त्रालयसँग सहमति खोजिएको छ ।

तर यता संघीय संसद्का प्रवक्ता एकराम गिरीले भारतबाट सवारी साधन पाउनेबारे केही समन्वय भए पनि निश्चित नभएको बताए । उनले भने, ‘सो विषयमा केही समन्वय भइरहेको छ, अपेक्षा गर्न सकिन्छ ।’

भारतले सो परिमाणको सहयोग गरेमा संसद्का पदाधिकारी र कर्मचारीका लागि सवारी साधनको दुःख नहुने सचिवालयको अपेक्षा छ । कानुन अनुसार संघीय संसद्मा सहसचिव तहसम्मका कर्मचारीलाई सवारी साधन र चालकको सुविधा छ । यस्तै उपसचिवलाई सवारी साधन दिने व्यवस्था नभए पनि पुराना गाडी मर्मत गरेर आफैँले चलाउने गरी केही वरिष्ठ उपसचिवलाई पनि सवारी साधन दिइएको छ ।

  • स्कर्पियोभन्दा थप सुविधाको गाडी खोजी

संघीय संसद्मा सभामुख, राष्ट्रिय सभा अध्यक्षलाई प्राडो गाडीको व्यवस्था गरिएको छ । अन्य दलका प्रमुख सचेतक, समितिका सभापतिहरूलाई स्कर्पियो गाडीको व्यवस्था छ ।

गाउँपालिकाको अध्यक्षले पनि स्कर्पियो चढ्ने, भाडामा गाडीको रूपमा पनि सडकमा स्कर्पियो चल्ने गरेका कारण त्योभन्दा फरक व्यवस्था हुनुपर्ने भन्दै केही पदाधिकारीले गुनासोसमेत गर्ने गरेको सचिवालयका एक कर्मचारीले बताए ।

राज्यमन्त्री सरहको सुविधा लिएका प्रमुख सचेतक तथा समितिका सभापतिहरूलाई स्कर्पियोभन्दा अलि ‘लग्जरियस’ खालको सवारी साधनको खोजीमा सचिवालय रहेको उनले बताए । 

यस्तै संसदीय समितिमा रहेका सबै कर्मचारीलाई व्यक्तिगत रूपमा सवारी सुविधा दिन नसकेका कारण भारतसँग मोटरसाइकलको अपेक्षा गरिएको सचिवालयका कर्मचारीको भनाइ छ । अधिकृत स्तरभन्दा तलको पदमा रहेका कर्मचारीलाई एउटा मोटरसाइकल मात्र सुविधा दिन सके काम गर्न उनीहरूको मनोबल बढ्ने भएकाले भारतसँग अपेक्षा गरेको ती कर्मचारीले बताए ।

  • पुरुष कर्मचारीलाई स्कुटर सुविधा दिएपछि महिला कर्मचारीको विरोध

संघीय संसद् सचिवालयले सवारी सुविधा वितरणमा विभेद गरेको भन्दै महिला कर्मचारी असन्तुष्ट देखिएका छन् । पुरुष कर्मचारीलाई मोटरसाइकल पनि, स्कुटर पनि दिएको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।

संघीय संसद् सचिवालयका केही महिला कर्मचारीले समितिका सचिव रोजनाथ पाण्डेलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए ।

सचिवालयले हालै ५४ लाख रुपैयाँमा १० वटा मोटरसाइकल र १२ वटा स्कुटर खरिद गरी कर्मचारीहरूलाई वितरण गरेको थियो । त्यसमध्ये महिला कर्मचारीले ८ वटा स्कुटर पाएका थिए । ४ स्कुटरसहित १० मोटरसाइकल पुरुष कर्मचारीलाई वितरण गरिएको थियो ।

सचिवालयले कर्मचारीको सुविधाका लागि नयाँ मोटरसाइकल र स्कुटर खरिद गरेपछि मोटरसाइकलको लाइसेन्स भएका ५६ जना पुरुष कर्मचारीले मोटरसाइकल र स्कुटरको लाइसेन्स भएका महिला र पुरुष गरी २६ जना कर्मचारीले स्कुटर माग गरेका थिए । केही पुरुष कर्मचारीले स्कुटर पाएकोमा महिला कर्मचारीले विरोध गरेका हुन । 

गुनासो गर्न आएका महिला कर्मचारीलाई सचिवालयका सचिव रोजनाथ पाण्डेले मापदण्ड अनुसार नै वितरण गरेको भन्दै फर्काइदिएका थिए ।

सचिवालयले विभिन्न मापदण्ड बनाएर मोटरसाइकल र स्कुटर वितरण गरेको पाण्डेले बताए । काम नगर्ने, ठग्ने, धेरै सजाय पाएका लगायतका कर्मचारीले सवारी सुविधा नपाएको उनको भनाइ छ ।

सचिव पाण्डेले भने, ‘काम नगर्ने, ठग्ने, धेरै सजाय पाएकाहरू लगायत धेरै कुरालाई इन्डिकेटर बनाएर हामीले मोटरसाइकल, स्कुटर बाँडेको हो । त्यसमा कुनै समस्या छैन । वरिष्ठताका आधारमा बाँडिएको छ । गुनासो त जहाँ पनि हुन्छ नि, गुनासो कहाँ हुँदैन र ?’

पुरुषले मोटरसाइकल मात्र चढ्ने, स्कुटी महिलाका लागि मात्र हो भनेर कतै नलेखिएको उनको भनाइ छ ।

  • ८ वटा नयाँ गाडीका लागि बोलपत्र आह्वान

यस्तै संघीय संसद् सचिवालयले ८ वटा नयाँ गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । हालै ३ करोड ३६ लाख लागतमा ८ वटा गाडी खरिद गर्ने भनेर बोलपत्र आह्वान गरिएको हो । सो परिमाणको गाडी खरिदबाट केही पदाधिकारीलाई अहिले चढिरहेको गाडी फेर्न सहयोग गर्ने सचिवालयका कर्मचारीको भनाइ छ ।

नयाँ खरिद गरिएका गाडी आवश्यकता अनुसार सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरूलाई दिने संघीय संसद् सचिवालयको तयारी छ ।

संघीय संसद्ले यसअघि चीनले सहयोग गरेको ८ वटा विद्युतीय कार लिएको थियो । चीनले दिएका गाडीमा ‘सहयोगस्वरुप प्राप्त’ जनिने गरी स्टिकर टाँसिएकोमा अहिले उक्त स्टिकर निकालेर संसद्का पदाधिकारीहरूले प्रयोग गरिरहेका छन् । संघीय संसद् सचिवालयसँग हाल चार वटा बस, ९० वटा कार तथा जिप र १३५ हाराहारी मोटरसाइकल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप